फेकोफनको आन्दोलनमा विभिन्न संघ संस्थाको ऐक्यवद्धता, बन्दकोठामा बन्ने गलत कानुन उपभोक्ताले नमान्ने अध्यक्ष पाठकको घोषणा

काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष भारती पाठकले देशभरका एक करोड उपभोक्ता आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । सामुदायिक वन र उपभोक्ता अधिकारका लागि आन्दोलन जारी राख्ने बताउँदै अध्यक्ष पाठकले बिहिबारदेखि देशभर आन्दोलन कायमै रहने चेतावनी दिनुभयो ।

मंगलबार भएको आन्दोलनमा धरपकड प्रति आपत्ति जनाउँदै उहाँले सरकारले उपभोक्ताका अधिकार खोस्ने निति बन्द नगरेसम्म आन्दोलन जारी रहने बताउनुभयो । अध्यक्ष पाठकले बन्द कोठामा बसेर सरकारले बनाएका निती उपभोक्ताले नमान्ने घोषणा गर्नुभयो ।

सरकारसँग माग गरेको बिषयमा आफूहरुले लचकता अपनाए पनि सरकारले उपभोक्ताका अधिकार रक्षाका लागि समस्या समाधानका लागि पहल नगरेको पाठकले बताउनुभयो ।
सरकारले लिखित रूपमा कमजोरी सच्याउँदै कानुन फिर्ता नलिए सम्म आन्दोलन नरोकिने बताउँदै अध्यक्ष पाठकले २८ गते सम्म सबै जिल्लामा प्रशासन कार्यालय घेराउ गरिने बताउनुभयो । कोभिड मापदण्ड अनुसार २५ जना मात्रै आन्दोलनमा सहभागी भएको उहाँको भनाइ थियो ।

पत्रकार सम्मेलनमा पारिवारिक नीजि वन नेपालका अध्यक्ष जोगराज गिरीले वन अधिकारका पक्षमा भएको आन्दोलनमा गरिएको हस्तक्षेपप्रति आपत्ति जनाउनुभयो।
गैसस महासंघका प्रतिनिधिले फेकोफनको आन्दोलनमा सक्रिय समर्थन गर्ने बताउनुभयो ।

सामुदायिक विद्युत उपभोक्ता महासंघ का अध्यक्ष नारायण ज्ञवालीले समुदाय बलियो हुंदा राज्यको टाउको दुखेको भन्दै वन उपभोक्ताको अधिकार रक्षाका लागि भएको आन्दोलनमा हस्तक्षेप हनु आपत्तिजनक रहेको बताउनुभयो । उहाँले सरकारले माफी माग्नुपर्ने पनि बताउनुभयो।

कार्यक्रममा फेकोफनका महासचिव बीर्खबहादुर शाही, सचिव ठाकुर भण्डारी लगायतका वक्ताहरुले मानव अधिकार रक्षाका लागी मानवअधिकार आयोगको पनि ध्यानाकर्षण गराएका थिए । हिजो प्रहरी नियन्त्रणमा मुक्त भएपछि फेकोफनले आज पत्रकार सम्मेलन गरेर धारणा राखेको हो ।

प्रकाशित मिति : 2 फेब्रुअरी 2022, बुधवार
प्रतिक्रिया दिनुहोस