परिवर्तन गाउँपालिकास्थित डाँडागाउँ रोल्पाकी निराआका घर्ती मगर सानैदेखि पढाइमा तेज थिइन । बुवा शिक्षक थिए तर विद्यालय स्तरको पढाइ पूरा गर्न सकिनन् । कारण थियो ः दश वर्षसम्म चलेको माओवादी सशस्त्र द्वन्द्वको प्रभाव ।
पढाइमा केन्द्रित हुने बेला सुरु भएकोे माओवादी द्वन्द्वले उनलाई पनि प्रभावित ग¥यो । माओवादी जनयुद्धको उद्गमस्थल रोल्पामा शैक्षिक वातावरण अस्तव्यस्त थियो । देशमा चलेको सशस्त्र द्वन्द्वले गर्दा धेरैलाई पढाइभन्दा घरको कामकाज र राजनीतिमा बढी चासो लाग्नु पनि स्वाभाविक थियो । निराआका पनि अपवाद बन्न सकिनन् । प्रहरी प्रशासनको दिनहुँको हैरानी र प्रताडना, माओवादीको सधैँको पिछा र दबाब, छरछिमेकका सबै राजनीतिमा लागेको देखेर उनलाई पनि चासो लाग्यो । केही उपाय नभेटेपछि उनी धेरैले जस्तै पढाइ छोडेर राजनीतिमा लागिन् ।
माओवादी सशस्त्र विद्रोहमा उनले सांस्कृतिक मोर्चामा काम गरिन् । पछि छापामार नै बनिन् । उनी प्रहरी चौकी र सेनाको ब्यारेक आक्रमणमा सहभागी भइन् । अछाम, कालिकोट, पाल्पा, गुल्मी लगायतका जिल्लामा भएका माओवादी आक्रमणका क्रममा अग्र मोर्चामा रहेर सेना विरुद्ध लडिन । त्यही युद्धका कारण पढाइ छुट्यो ।
नेपालस्थित संयुक्त राष्ट्र संघीय मिसन (अनमिन)ले प्रमाणीकरण गर्दा प्लाटुन कमाण्डरको हैसियत बनाएकी निराआका ६ महिना शिविरमा बसेपछि माओवादी सेनाको कम्पनी सहायक कमान्डर भएकी थिइन् ।
‘नयाँ सत्ता’का लागि लड्दा दश वर्ष बितेको उनलाई पत्तो भएन । विद्रोह आह्वान गरेको माओवादी हिंसात्मक द्वन्द्व छाडेर शान्तिपूर्ण राजनीतिको बाटो समात्यो । निराआका जस्ता झण्डै २० हजार अनमिनको प्रत्यक्ष निगरानीमा रहेका माओवादी सेना बन्द शिविरमा थन्किए । माओवादी नेता कार्यकर्ताहरू राजनीतिमा फर्किए । तर निराआका मगरलाई विद्यालय पर्कन ढिला भइसकेको थियो । सँगै पढेका साथीहरू पढाइ सकेर जागिर वा स्वरोजगारमा लागिसकेका थिए ।
केही वर्ष शिविरमा बसेपछि सरकार र विद्रोही माओवादीको सम्झौताअनुसार निराआकाले सुरुमा नेपाली सेनामा समायोजन हुने विकल्प रोजेकी थिइन् । विडम्बना शिविरमा बसिरहेको बेला उनले छोरी अल्फालाई जन्म दिइन् । उनको श्रीमान् घाइते थिए । माओवादी सेनामा लागेर म्याग्दी गएको बेला दायाँ हात भाँच्चिएको थियो । खुट्टा र छातीमा गोली लागेको थियो । घाइते अवस्थामा भएका श्रीमान् कृपालाल पुनलाई घरमा एक्लै छाडेर सेनामा जान उनको मनले मानेन । कृपालाल आफैँ छोरी स्याहारेर बस्न सक्ने अवस्थामा थिएनन् । अनि निराआकाले पनि अन्तिम समयमा परिवारका लागि स्वेच्छिक अवकास लिएर घर फर्किइन् ।
रोल्पामा जन्मिएको भए पनि माओवादी सेनामा लागेको बेला उनले विवाह छिमेकी जिल्ला पश्चिम रुकुमको घेत्माका सहकर्मीसँग विवाह गरेकी थिइन् । दुबैजनाले स्वेच्छिक अवकास लिएपछि पुख्र्यौली घर गए । घर छोडेर हिँडेकाले गाउँमा बसेर तुरुन्तै केही गर्न सक्ने अवस्था थिएन । उनीहरूका लागि गाउँ समाज पनि फेरिएको जस्तो महसुस हुन थालेको थियो । तर पनि राजनीतिक पृष्ठभूमिबाट आएकाले निराआका सजिलै समुदायमा घुलमिल हुन खोजिन् । स्थानीय सुगुरखाली सामुदायिक वन उपभोक्ता समूहको सदस्य भएर सामाजिक काममा सक्रियता देखाइन् । सामुदायिक वन समूहले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने क्रममा रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट लगायतका स्थानमा पुग्ने गर्थिन् । वन संरक्षण र वनमा आधारित उद्योग सञ्चालन गर्ने उद्योगबारे योजना बनाउन छलफलमा सहभागिता जनाइन् । यसले उनलाई सामुदायिक वनको बृहत् सञ्जालसँग जोड्यो ।
अनेक प्रयासका बाबजुद सैन्य पृष्ठभूमिबाट आएको हुनाले उनको परिवारलाई समाजमा घुलमिल हुन असहज भइरहेको थियो । गाउँ विकट थियो । आठबिसकोट माथि डाँडामा अवस्थित उनको घेत्मा गाउँमा गाडी पुगेको भए पनि उनको घरमा मुस्किलले मोटरसाइकल पुग्छ, त्यो पनि पानी नपरेको बेला । सबै विकल्पमा छलफल भएपछि उनको परिवारले जिल्ला सदरमुकाम मुसिकोटमा बसेर केही गर्ने अठोट गरे ।
सिकाइको भोक
निराआका सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध भएको छ महिना मात्रै भएको थियो । तर पनि उनीहरूको अवस्था देखेर सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वन जिल्ला महासंघ रुकुमसँग समन्वय गरेर ०७३ सालमा धागो प्रशोधन तालिममा सहभागी गरायो । ४५ दिनसम्म चलेको धागो प्रशोधन तालिमको अवसरपछि पूर्वमाओवादी छापामार निराआका धागो प्रशोधन गर्न सक्ने भइन् । धागो कात्ने सीप सिकेर मात्र सन्तुष्ट नभएकी निराआकाले फेरि एक महिने ऊनीको बर्को, झोला र अन्य कपडा बुन्ने तालिम लिइन् । मुसिकोट नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको एक महिने झोला र बर्को बुन्ने तालिममा सहभागी भएको थिइन् । त्यसबाहेक उनलाई हस्तकला र सिलाइबुनाइमा पनि रुचि भएकाले राडीपाखी बुन्ने तालिम पनि लिइन् । जिल्ला घरेलु कार्यालयले तीन महिनासम्म चलाएको राडी पाखी बुन्ने तालिम लिएपछि उनी राडीपाखी पनि बुन्न सक्ने भएकी छन् ।
‘सामुदायिक वनको सहयोगमा एउटा तालिम लिएपछि एकपछि अर्को तालिमका अवसर आए । तालिमले मेरो जिन्दगीको बाटो बदल्यो,’ मुसिकोट नगरपालिकाको सेरीगाउँमा तान बुनिरहेकी निराआकाले आत्मविश्वाससाथ भनिन्, ‘अब यही उद्योगलाई विस्तार गर्ने हो । अरु केही योजना छैन ।’
अहिले उनी ढाकाको सल, झोला, टोपीेदेखि तानमा राखेर राडीपाखी बुन्ने गरेकी छन् । यसबाहेक हस्तकलाको काम सिक्न चाहने महिलाहरूका लागि विभिन्न जिल्लामा पुगेर तालिम दिने, सिकाउने र सकेको सहयोग गर्ने काम गर्छिन् । तालिम दिएबापत पनि राम्रो आम्दानी हुन्छ । जिल्ला घरेलु कार्यालय र विभिन्न गैरसरकारी संस्थाहरूले उनलाई हस्तकला प्रशिक्षकका रूपमा काममा लगाउँछन् तालिम दिनुपरेको बेलामा । ‘मेरो उद्योगमा म आफैँ काम गर्ने हो । आफैँ मालिक बन्ने हो,’ उनले भनिन् ।
सामुदायिक वनको सहयोगमा धागो प्रशोधन गर्ने तालिम लिएपछि उनीमा यही व्यवसायमा केही गर्ने भोक जागेको थियो । त्यसो त उनी माओवादी सेनाबाट स्वेच्छिक अवकास लिएर घर फर्केलगत्तै जे काम पाए पनि गर्ने उद्देश्यसाथ सीटीइभीटीले सञ्चालन गरेको घर बनाउने सिकर्मी, डकर्मी तालिम पनि लिएकी थिइन् । तर त्यो तालिमले काम गरेन ।
घर बनाउने सिकर्मी र डकर्मीको काम गर्ने उनको चाहना भएको भए पनि समाजले स्वीकार गरेन । पुरुषले मात्र घर बनाउने काम गर्ने उनको ठाउँमा जब उनले सोही प्रकृतिको काम गर्न खोजिन्, समाजमा खिसीटिउरी गर्न थाले । उनलाई पनि असहज भयो अनि घर बनाउने कामलाई निरन्तरता दिन सकिनन् । बरु महिलाहरूले गरिहरहेको ढाका झोला, कपडा र राडीपाखी बुन्ने काम गर्न सकिने निष्कर्षका साथ सिक्न थालिन् ।
‘गारो लगाउने, काठको काम गर्न महिलालाई लाज भयो । समाजले स्वीकारेन,’ उनले भनिन्, ‘त्यो भन्दा अहिले गरिरहेको काम सजिलो होला भनेर म यता लागँे । सुरुमा नै ढाकाको कपडा, राडीपाखी बुन्ने काम गर्न असम्भव नहोला भन्ने मेरो बुझाइ थियो । काम गर्दै जाँदा सजिलो नै भयो । यसलाई निरन्तरता दिइरहेकी छु ।’
सात जना महिला मिलेर जनसेवा महिला सहकारी संस्था स्थापना गरेर अहिलेको उद्योग सञ्चालन गरेको छन । उद्योगका अन्य साझेदार परम्परागत काममा व्यस्त भए । कोही पाको उमेरका भएकाले काममा आउन सक्दैनन् । बैठक वा आवश्यक परेको बेला उद्योगमा आएर योजना कार्यान्वयनमा सघाउँछन् । व्यक्तिगत र निजी कम्पनी भन्दा संस्थागत रूपमा उद्योग चलाउदा करदेखि प्रशासनिक झन्झट कम हुने भएकाले उनीहरूले संस्थागत रूपमा उद्योग स्थापना गरेका हुन् । संस्थाको प्रशासनिक, कर फछ्र्यौट, उत्पादन भएका सामग्रीको बिक्री वितरण र अन्य सम्पूर्ण काम निराआका एक्लैले गरिरहेकी छन् । संस्था पनि उनकै नाममा दर्ता भएको छ ।
जीविकोपार्जनको आधार
बिहान केटाकेटीलाई विद्यालय पठाएदेखि उनी दिनरात उद्योगमा बसेर आफँै काम गर्छिन् । तीन जना अरु महिलाहरूलाई पनि रोजगारी दिएकी छन् । समूहमा १५ हजारबाट सुरु गरेको उद्योगबाट उत्पादित वस्तुबाट उनको परिवारको जीविका सजिलै चलेको छ । समाजमा महिलाले चाहेमा उद्योग सञ्चालन गरेर उदाहरणीय काम गर्न सक्छन् भन्ने उदाहरण पेस भएको छ ।
सुरुमा भेडाको उनबाट धागो प्रशोधन गरेकी उनले घरमै बसेर झोला बुन्ने काम गरेकी थिइन् । त्यहीबाट २५० रुपैयाँको दरले बिक्री गर्थिन् । घरमा बसेर काम गर्नुभन्दा उद्योगको रूपमा विकासे गर्ने र अन्य महिलाहरूलाई स्वरोजगार बनाउने उनको प्रयास सार्थक भएको छ ।
यही व्यवसायबाट उनले दुई जना बच्चाको पढाई खर्च जुटाएकी छन् । १४ वर्षीया अल्फा पुन र १२ वर्षीय एन्जल निजी विद्यालयमा पढिरहेका थिए । अरुले सामुदायिक विद्यालयमा पढे छात्रवृत्ति लगायतका अन्य सरकारी सुविधा पाउने भएकाले उनले छोरीलाई यस वर्षदेखि निजीबाट सामुदायिक विद्यालयमा भर्ना गरिदिएकी छन् । एक वर्ष विद्यालयको रिजल्ट हेरेर फेरि सरकारी वा निजीमै पढाउने निर्णय गर्ने उनले बताइन् ।
व्यवसायबाट उनले आफ्नो जीविका राम्ररी चलाएकी छन् । नौ वर्ष पहिले रुकुमपूर्वको सिस्ने गएको बेला यार्सागुम्बा र अन्य जडीबुटीको व्यापारको विषयमा स्थानीयसँग विवाद हुँदा उनका श्रीमान् कृपालाल पुनको झडपमा परेर ज्यान गयो । श्रीमान्को मृत्युपछि उनको आर्थिक अवस्था झनै नाजुक भएको थियो । तर उनले व्यवसाय गरेर घर खर्च र छोराछोरीको पढाइ जुटाउन सफल भएकी छन् ।
‘उहाँ व्यापार गर्न नयाँघाट गएको बेला मारेर फालिदिएछन् । १२ दिनपछि लास भेटियो । उहाँ नभएपछि त झन् धेरै समस्या भएको थियो । तर अहिले जसोतसो राम्रो हुँदै छ,’ कयाँै दुःख झेलेकी उनले उद्योग स्थापना भएपछि थोरै भए पनि आर्थिक अवस्था सुध्रिएकोमा सन्तोष व्यक्त गर्दै निराआकाले भनिन्, ‘अब यही उद्योगको कामले भरथेग गरिरहेको छ । अब जे सकिन्छ, यहीबाट गर्ने हो ।’
जुन समयमा जे सामग्रीको माग हुन्छ, त्यही बुन्छिन् । खर्च कटाएर भएको आम्दानीले उनको घरायसी र अन्य खर्चको जोहो गर्छिन् । राडीपाखी बुन्ने सीप सिकाउन प्रशिक्षक बनेर सल्यान, जाजारकोट, पूर्वी रुकुमका १५ भन्दा बढी ठाउँमा पुगेकी छन् । उनी जहाँ पुगेर सीप सिकाएकी छन्, त्यहाँका महिलाहरू उत्साहित भएका छन् । सीप सिकेर आत्मनिर्भर बन्ने प्रयासमा छन् । यसले पनि उनलाई आत्मसन्तुष्टि मिलेको छ, घरायसी काममा सीमित भएका महिलाहरूलाई काम गरेर दुई पैसा कमाउन सक्ने क्षमता बनाउन सकेकामा ।
उनबाट बनेको राडी, पाखी, झोला र अन्य कपडाको माग बढिरहेको छ । उत्पादन थोरै भएकाले उद्योगले बजारको माग धान्न सकिरहेको छैन । व्यापार प्रवद्र्धन पनि भएको छैन । ‘माग आएको ठाउँमा हामीले आफैँले बुनेर पठाइदिन्छौँ । सरकारी कार्यालयले पनि यहीँबाट उत्पादित सामाग्री प्रयोग गरिदिनु भएको छ । अन्यत्र पठाउन सकेका छैनौँ । यसको व्यापार विस्तार गर्न सके त भविष्य राम्रो छ,’ उनको भनाइ छ ।
रुकुममा उत्पादित सामग्री गुणस्तरीय भएकाले अमेरिका जाने एक जनाले पाँच सेट राडीपाखी लिएर गएको उनको भनाइ छ । राडीपाखी सल्यान, बाँकेदेखि सिंगापुरसम्म पनि पुगेको छ ।
निराआकासँग तालिम लिएका अरु चार जना महिलाहरूले पनि घरमै बसेर ढाका कपडा, राडीपाखी बुन्ने काम गरिरहेका छन् । उनीहरूको बीचमा केही कच्चा पदार्थको अभाव भयो भने एकले अर्कालाई दिएर सहयोग गर्छन् । उत्पादित सामग्री बिक्री वितरणका लागि पनि एकले अर्कासँग सहकार्य गर्दै आएका छन् ।
‘काम ग¥यो भने दिनको आठदेखि नौ सय त कहीँ जाँदैन । सबै खर्च कटाएर मासिक तीस हजार जति आम्दानी हुन्छ,’ निराआकाले आफ्नो व्यवसायको हिसाब–किताब सुनाइन् ।
राडीपाखी बुन्ने काम सजिलो भने छैन । अन्य पेसाको भन्दा धेरै समय दिएर मेहनत र लगनशीलताको आवश्यकता पर्छ । झन्झट मान्यो भने यो व्यवसाय हुन नसक्ने यस पेसामा लागेका महिलाहरूको अनुभव छ । ‘झन्झट मानेर यो काम के होला भन्यो भने त राडीपाखीको काम गर्न सकिँदैन,’ निराआका भन्छिन्, ‘मेहनत र धैर्यको धेरै जरुरत पर्छ ।’
निराआकाको हस्तकला उद्योगलाई सरकारी र गैरसरकारी संघ संस्थाले पनि सहयोग गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघमा जोडिएदेखि उनको सीपको विकास भयो । यसले उनलाई सरकारी सञ्जालमा जोड्यो जसले गर्दा उनले अफ्ठ्यारो समयमा पनि अगाडि बढ्न सहयोग मिलेको छ ।
सरकारको कृषि ज्ञान केन्द्रले ६ लाख ३२ हजार रूपैयाँ दिएर तान बुन्ने सामग्री खरिदमा सहयोग ग¥यो । तालिम लिँदा तान नभएर हातले झोला बुन्ने र धागो प्रशोधन मात्रै गर्ने गरेकोमा अहिले उनीसँग आफ्नै तान छ । ढुक्कसँग तानमा काम गर्न पाएकी छन् । यसबाहेक नगरपालिकाले पनि खोजेको तालिमको व्यवस्था गरिदियो । सुरुमा वन समूहले धागो किन्न सहयोग गरे ।
सबै क्षेत्रबाट प्राप्त भएको सहयोगका कारण निराआकाले लोप हुने अवस्थामा पुगेको तान बुनेर कपडा बनाउने परम्परागत ज्ञानमा आधारित सीपलाई निरन्तरता दिन सफल भएकी छन् । यसबाटै उनको जीविकोपार्जनको सुनिश्चित भएको छ ।
केही गरौँ भन्ने सोचका साथ सुरु भएको उनको योजनाले सार्थक रूप पाएको छ । घरमा सानो छँदा आमाले भाङ्ग्राको कपडा बुन्ने गरेको भए पनि आफूले राडीपाखी नै बुन्न सकेकामा उनलाई गर्व लागेको छ । उनको जन्मघरभन्दा कर्मघरमा महिलालाई हेयको दृष्टिले हेर्ने भएका कारण पनि आफूले केही गरेर देखाउने प्रेरणाले यस व्यवसायमा ल्याएको हो ।
‘रुकुमको ठाउँमा महिलालाई हेप्ने खालको छ । पछाडिको सोच छ । खाना पकाउँछ, बस्छ भन्ने छ । त्यही भएर पनि मैले केही गर्नुपर्छ भने सोच आएको हो,’ पारिलो घामा तान बुनिरहेकी निराआकाले भनिन्, ‘हराइसकेको राडीपाखी बुन्ने काम मैले गरिरहेकोमा गर्व पनि छ ।’
जिल्ला सदरमुकाममा बसेर उनले गरेको प्रगति देखेर उनलाई हेप्नेहरूको व्यवहार परिवर्तन भएको छ । उनको ठाउँमा महिलाहरू अहिले पनि घर व्यवहारमै सीमित छन् । व्यवसायमा आएका छैनन् । केही फरक गर्न खोज्नेहरूलाई हेयको नजरले हेरिन्छ । ‘पहिला त्यति पत्याउँदैनथे । अब गरेर देखायो भन्छन् । मलाई पनि गर्व लाग्छ । मैले गरेर भयो, कुरा मात्र गरेको भए त के पो हुन्थ्यो र उही हेपिने अवस्था त हुँदो हो ।’
भावी योजना
निराआका आगामी दिनमा साधनस्रोत र कामदार थपेर आफ्नो व्यवसायलाई विस्तार गर्न चाहन्छिन् । त्यसबाहेक आफू जस्तै अन्य महिलाहरूलाई पनि सीप सिकाएर आत्मनिर्भर बनाउने उनको धोको छ । त्यसका लागि प्रशिक्षकका रूपमा गाउँ–गाउँमा पुगेर बेरोजगार महिलालाई राडीपाखी, ढाका कपडा र अन्य कपडा बुन्ने सीप सिकाउन चाहना छ । यसले उनीहरूको आत्मविश्वास, आर्थिक अवस्था र सामाजिक हैसियतमा परिवर्तन आउने उनको बुझाइ छ ।
‘अहिले त मैले खासै केही गरेको छैन । यो सुरुवात मात्र हो । सबैको साथ समर्थन भए म जस्तो धेरै महिलाहरूका लागि सहयोग गर्न सकिन्छ,’ उनले आत्मविश्वासका साथ भनिन् ।
सबै महिलालाई सीप सिकेर केही गरौँ भन्ने चाहना भए पनि विभिन्न समस्या र बाध्यताले त्यसो हुन नसकेको उनको बुझाइ छ । ती महिलाहरूलाई उत्साहित गरेर उद्यममा जोड्न सरकारले नै पहल गरिदिनुपर्ने उनको जोड छ । ‘सबैभन्दा पहिले त व्यक्ति आफैँ जागरुक भएर गर्ने हो । तर सरकार सबैको अभिभावक भएकाले हेरिदिए हुन्थ्यो भन्ने आस हुन्छ, त्यो त सरकारले गर्नुप¥यो । अनि मात्र पो सरकार जनताको पनि हो भन्ने हुन्छ ।