विजयसाल जोगाइरहेकी बसन्ती

कञ्चनपुरको वाणीमा बसालिएको मुक्त कमैया बस्तीले स्थानीय सामुदायिक वन र त्यसमा पनि विशेषगरी लोपोन्मुख विजयसालको संरक्षण गरिरहेको छ । त्यसको अगुवाइ बसन्तीदेवी राना थारूले गरिरहेकी छिन्।

कैलालीको अत्तरिया चोकदेखि पूर्वपश्चिम राजमार्गमा करिब २० किलोमिटर पश्चिममा छ– सानो वाणी बजार । कृष्णपुर नगरपालिकाको वडा नं. २ मा पर्ने वाणी बजारको राजमार्गदेखि उत्तरमा छ– मुक्त कमैयाको बस्ती । राजमार्गदेखि दक्षिणमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापनाका क्रममा विस्थापित भएकाहरूलाई ल्याएर राखिएको छ ।

राजमार्ग उत्तरतिरको मुक्त कमैया बस्तीमा स–साना करिब साढे ५ सय घर छन्। तिनकै बीचमा बसन्तीदेवी राना थारूको सानो दुई कोठे घर छ । घरको एउटा कोठाको चारैवटा भित्ता लहरै राखिएका सम्मानपत्रले भरिएका छन् । ती सम्मानपत्र– एक कक्षा पनि औपचारिक शिक्षा लिन नपाएकी बसन्तीले वन संरक्षणका लागि पछिल्लो दुई दशकमा गरेका संघर्षका प्रमाण हुन्, विभिन्न सरोकारवाला संघसंस्थाले बसन्तीको संघर्षलाई पहिचान गरेर गरिदिएको अनुमोदन हो, यो ।

“मैले पाएको सम्मान त गणना नै गरेकी छैन । यहाँ टाँगिएका सम्मानपत्र त थोरै मात्र हुन् । घरमा बाढी पसेर धेरै वटा त बगाएरै लग्यो,” आफ्नो जीवनको करिब तीन दशक बँधुवा मजदुरका रूपमा (कमैया बनेर) अर्कैको घरमा बिताएकी बसन्तीले गर्वसाथ भन्छिन्”, इमानदारीसाथ काम गरेपछि एक न एक दिन सम्मान पाइँदो रहेछ । म मरेछु भने पनि मेरा बच्चाहरूले हाम्री आमाले यत्रो सम्मान पाइन् भनेर खुसी होलान् । त्यही सम्झेर म पनि त्यसै दंग पर्छु।”

बसन्तीले अहिले पाएका सफलताको पृष्ठभूमिमा लामो कथा छ । कथाको सुरु त उनको जन्मबाटै हुन्छ । बसन्ती २०२४ सालमा कैलालीको गाउँमा जन्मिइन् । त्यो बेला थारू समुदाय मात्र तराईको जंगललाई आवादी बनाउँदै मलेरियासँग जुधेर बसेका थिए। जंगलका पोथ्रा मासेर बाबाले बस्ती बसाएको ठाउँमा मानिसहरूबीच विवाद भएछ । विवादले उग्र रूप लिँदै जाँदा कुटपिटसमेत हुन पुग्यो । एकजना स्थानीयबासीको ज्यानै पो गयो । त्यसको बात बसन्तीका बालाई लाग्यो । उनी चार वर्षकी मात्र थिइन्, बा जेल गए, बसन्ती कमलरी बस्न जमिनदारको घरमा पठाइन्।

त्यसपछि उनी निरन्तर २९ वर्ष कमैया भइन् । सुरुमा कैलालीकै बंक भन्ने ठाउँका वीरबहादुर बमको घरमा १६ वर्षसम्म बसिन् । त्यसपछि उनको बिहे भयो । बिहेपछि चमु रानाको घरमा श्रीमान्–श्रीमति नै अर्को १३ वर्ष कमैया बसे । २०५८ सालमा सरकारले कमैया मुक्ति घोषणा गरेसँगै उनले आधुनिक नेपालमा परम्पराका रूपमा रहेको दासत्वबाट मुक्ति पाइन् ।

कमैया जीवनबाट मुक्ति मिलेपछि मात्रै हो– बसन्तीले वन जंगल संरक्षण र व्यवस्थापनमा आफूलाई समर्पित गरेको । उनी वाणीमा मुक्त कमैयाले सुरु गरेको विजयसाल होमस्टेको संस्थापक अध्यक्ष हुन् । सबै पदाधिकारी महिला मात्र रहेको जयलक्ष्मी महिला सामुदायिक वनको पनि ६ वर्षसम्म अध्यक्ष भइन् । त्यस्तै जनहित महाकाली सामुदायिक वनमा पनि पदाधिकारी भइन्।

होमस्टे
दुई छोरा, एक बुहारी र दुई नाति हुर्काइरहेकी बसन्ती अहिले श्रीमान्सँग छुट्टिएर आफ्ना बाले कमैया मुक्त भएपछि प्राप्त गरेको पाँच कठ्ठा जग्गामा बनाएको घरमा बसिरहेकी छिन् । एक्ली सन्तान बसन्तीले बा जेलबाट छुटेपछि अन्तिमसम्म हेरचाह गरिन् । मृत्यु भएपछि उनैले सबै मृत्यु संस्कार गरिन् । किरिया पनि आफैं गरिन् । त्यसपछि बाको नामको पाँच कठ्ठा जग्गामा घर बनाएर बसेकी छन् । त्यसैमा उनले होमस्टे चलाएकी छन् । कमैयाबाट मुक्त भएपछि २०५७ मा सुरुमा उनीहरू वाणीबाट अलकति पूर्वमा रहेको घोडाडँगा भन्ने स्थानमा बसे । २०५८ मा उनीहरूलाई त्यहाँबाट वाणीमा सारियो । वाणीमा मुक्त कमैयाका ५६९ वटा घर छन् । उक्त बस्तीका बसन्तीको अगुवाइमा विजयसाल होमस्टे सञ्चालनमा छ । जसमा जम्मा ६ घर आबद्ध छन् । त्यसमध्ये बसन्ती एक हुन् । ६ मध्ये उनले ढिला सुरु गरेकी हुन् । उनका छोरा बिरामी परेपछि अलिअलि भएको पैसा पनि उपचार गर्दैमा सकियो । त्यसको ऋण पनि लाग्यो । त्यसैले उनी अरू भन्दा ढिलो भइन्।

पहिले ट्रयाक्टर चलाएर गुजारा गर्ने जेठो छोरा पदमसिंह राना अहिले बेरोजगार छन् । कान्छो छोरा कृष्ण राना दैनिक ज्याला–मजदुरीको काम गर्छन् । होमस्टे सञ्चालक र सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष भएपछि उनका छोराले सिकर्मी तालिम पाएका थिए, यद्यपि अहिले त्यसलाई उपयोग गर्न सकेका छैनन् । बुहारीले व्यावसायिक तरकारी खेतीसम्बन्धी कृषि–तालिम लिएकी छन् । पर्याप्त जग्गा अभावमा उनले पनि तालिमबाट सिकेको सीपलाई व्यवहारमा ल्याउन सकेकी छैनन् । जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्ने आर्थिक क्षमता, आत्मविश्वास र त्यसको बजारकोसमेत अभाव छ ।

बसन्तीले बेलाबेला अहिलेको आत्मसम्मानपूर्ण जीवनसँग आफ्नै विगत तुलना गर्छिन् । करिब ३ दशकको कमैया जीवन सम्झँदै उनलाई कहाली लागे जस्तो हुन्छ । “त्यो बेला त हामीलाई सम्मान भन्ने कुरै थिएन । यताउति जान र पढ्नसमेत पाइएन । मेसिनजस्तै गरी रातदिन काममा जोतिनुपथ्र्याे”, उनी भन्छिन्, “हामीलाई कमैया राखेका व्यक्तिका छोराछोरी हाम्रै उमेरका थिए । उनीहरूले पढेको देख्दा खुब रहर लाग्थ्यो । पढ्ने धोको हुँदा पनि पाइएन । अहिले पनि जीवनमा पढाइको अभाव खड्किरहन्छ ।”

बसन्तीमा आफूले पढ्न नपाएको र हातमा कुनै सीप नभएको भन्ने कुराको हिनताबोध भने छैन । उमेर ढल्कँदै गए पनि निरन्तर सिक्न खोजिरहनुपर्छ भन्ने कुरालाई उनले जीवनको मन्त्र नै बनाएकी छन् । “नयाँ–नयाँ कुरा सिक्न खोज्ने र इमानदारीपूर्वक काम गर्नुपर्छ भन्ने महसुस हुन्छ । त्यसले जीवनमा उत्साह दिइरहन्छ,” उनी भन्छिन् । आफ्नो समुदायका नयाँ पुस्तालाई हातमा सीप दिनुपर्छ भन्ने उनलाई लाग्दछ । त्यसो भएमा मात्र आफ्ना छोराछोरी वा उनीहरूका उमेरका थारू बच्चाहरूले स्वाभिमानका साथ बाँच्न पाउनेछन् भन्ने उनले बुझेकी छन्। भन्छिन्, “त्यसो भए मात्र हाम्रा बच्चाहरूले हामीले जस्तो दुःख पाउँदैनन् । तर, मेरै बच्चाहरूले केही सिकेनन् । उनीहरूले नसिके पनि हाम्रो समुदायका अन्य बच्चा र युवाहरूले पढ्न पाउन् । हातमा सीप पाउन्, आत्मनिर्भर बनुन् भन्ने लाग्छ । यही होमस्टे पनि मेरा छोरा–बुहारीहरूले चलाए हुन्थ्यो भन्ने मेरो चाहना छ ।”

कमैया प्रथा आधुनिक नेपालमा थारू समुदायमाथि थोपरिएको ठूलो संरचनागत विभेद थियो । थारू समुदायले भोगेका शोषणका विभिन्न रूपमध्ये सम्भवतः सबैभन्दो ठूलो शोषणमा परेर आधाभन्दा बढी जीवन बिताएकी बसन्तीलाई आफू अहिले हिँडिरहेको वनजंगल संरक्षणको बाटो भविष्यमा थारू समुदायका मानिसको आत्मनिर्भरता र आत्मसम्मानसँग जोडिएको छ भन्ने अनुभूति भएको छ । “जंगल जोगाउनुपर्छ । त्यसैमा हाम्रो जीवन छ । सबै मानिसको जीवन वन जंगलमा निर्भर छ, त्यसमा पनि अझ थारू समुदायका मानिस विशेषरूपले जंगलसँग जोडिएका छौं । हाम्रो आत्मसम्मान उँचो हुने गरी आत्मनिर्भरको बाटो पनि वनजंगलमै छ,” उनी भन्छिन्।

जयलक्ष्मी महिला सामुदायिक वन
कैलालीको वाणी क्षेत्रमा वन मासिँदै थियो । त्यसै क्रममा २०६४ सालमा वाणीबाट करिब ६ किमी टाढा रहेको देखतभुली भन्ने स्थानमा बाढी र डुबानबाटै थुप्रै विस्थापित भए । त्यसैमध्येका ६९ परिवारलाई वाणीकै जंगलमा ल्याएर अस्थायी रूपमा राखिएको थियो । जिल्ला वन कार्यालयले कैयौं प्रयास गर्दा पनि उनीहरूलाई त्यहाँबाट हटाउन सकेन । त्यसपछि सामुदायिक वन बनाउने योजना ल्याइयो।

जयलक्ष्मी महिला सामुदायिक वन स्थापना गरी बसन्तीलाई त्यसको अध्यक्ष बनाइयो । वन कार्यालयकै सरोकारसहित सामुदायिक वन स्थापना गरी समुदायलाई हस्तान्तरण गर्न लागिएकाले उक्त वनको विधान र कार्ययोजना पनि जिल्ला वन कार्यालयको अनुदानमा बन्यो । २०६९ असार २९ मा दर्ता भएर समुदायमा हस्तान्तरण भयो । त्यसअघि नै दुई वर्षका लागि अध्यक्ष भइसकेकी बसन्तीले त्यसपछि चार वर्ष (२०७३ सालसम्म) उक्त सामुदायिक वनलाई नेतृत्व दिइन् । बसन्ती अध्यक्ष भएपछि त्यहाँ बस्न आएका तर अन्यत्र जग्गा–जमिन भएका बाढी प्रभावितलाई दुई वर्षमा उनीहरूकै स्थानमा फर्काइयो । जग्गा–जमिनको कुनै स्वामित्व नभएका चार परिवार अहिले पनि बाटो किनारामा जंगलमा स–साना छाप्रो बनाएर बसिरहेका छन्।

१९९ हेक्टरमा फैलिएको यो सामुदायिक वनको उपभोक्ता र संरक्षक सबै मुक्त कमैयाका २७९ परिवार हुन् । यो सामुदायिक वन उपभोक्ता समितिको कार्यसमिति पदाधिकारी र सदस्यहरू सबै महिला मात्र छन् । कर्मचारी पनि महिला मात्र छन्, एक जना कार्यालय सचिव (प्रवेश चौधरी) बाहेक । बसन्तीले ६ वर्ष नेतृत्व दिएर छाडेपछि उक्त वन अहिले रामकुमारी चौधरीले हाँकिरहेकी छिन् । पूर्वपश्चिम राजमार्गबाट उत्तरमा पर्ने यो वनसँगै समान्तर रूपमा दक्षिणमा पनि अर्को सामुदायिक वन छ– गडबिजला सामुदायिक वन।

जयलक्ष्मी महिला सामुदायिक वनमा आबद्ध भएका बाहेकका बाँकी मुक्त कमैया अर्को सामुदायिक वन (जनहित महाकाली सामुदायिक वन) का उपभोक्ता र संरक्षक छन् । वन समुदायमा हस्तान्तरण भएपछि चरिचरन बन्द भएको छ । मानवीय अतिक्रमणबाट पनि जोगिएको छ । सुरुमा ६८.६२ हेक्टर सामुदायिक वनको रूपमा दर्ता भएकामा त्यसको ६ वर्षपछि त्यसलाई बढाएर १९९ हेक्टर बनाइएको छ । सुरुमा समुदायले जिम्मेवारी प्राप्त गरेपछि जंगल सफाइ अभियान चलाइएको थियो । त्यसक्रममा दर्ता रहेको जंगलको क्षेत्रभन्दा बाहिर विजयसालका ससाना बोट भेटिए । ‘हामीले ती विजय सालका बिरुवा हुर्काउने र संरक्षण गर्ने योजना बनायौं,’ बसन्ती भन्छिन्।

बसन्तीले नेतृत्व गरेकै समयमा डब्लुडब्लुएफको हरियो वन परियोजनाले उक्त क्षेत्रमा सहकार्यको हात बढायो । मुक्त कमैया क्षेत्रमा जलवायु परिवर्तनसँग जुध्ने उद्देश्यले सुरु गरिएको उक्त परियोजनाले तटबन्ध निर्माणमा सहयोग ग¥यो । जसले अन्ततः वन जंगलको संरक्षणबाट समुदाय नै लाभान्वित हुँदो रहेछ भन्ने कुरा व्यावहारिक रूपमा स्थापित भयो । त्यही क्रममा चितवनको टाँडीमा दुई दिनको गोष्ठी भयो । उक्त सामुदायिक वनका छानिएका उपभोक्ताहरू उक्त गोष्ठीमा सहभागी भए । त्यही गोष्ठीमा गरिबीसँग जुध्न मुक्त कमैया बस्तीमा होमस्टे सञ्चालन गर्ने योजना बन्यो । ‘हामीले जंगल जोगायौं भने धेरै हिसाबले समुदायलाई सहयोग पुग्दोरहेछ भन्ने महसुस भएपछि अझ प्रतिबद्ध भएर यसमा लाग्यौं,’ बसन्ती भन्छिन् ।

जयलक्ष्मी महिला सामुदायिक वनका उपभोक्ताले विजयसालको बिरुवा हुर्काउन सुरु गरेका छन् भन्ने चर्चा संरक्षणको क्षेत्रमा लागेकाहरूबीच क्षणभरमै फैलियो। सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) कञ्चनपुर जिल्ला शाखाका तत्कालीन अध्यक्ष लक्ष्मी साउद विजय साललाई अझ व्यवस्थित गरी कसरी संरक्षण गर्न सकिन्छ भन्ने छलफल गर्न वाणी पुगे । त्यसपछि फेकोफनले नै विजय सालका चार हजार ५०० विरुवा उपलब्ध गरायो।

‘ती सबैलाई रोपेर संरक्षण गरिरहेका छौं । छाडा गोरु र चरिचरणले ती बिरुवा हुर्काउन अलिअलि समस्या भने पारिरहेको छ,’ बसन्ती भन्छिन्, ‘अहिले एक हेक्टर जति क्षेत्रलफलमा एक हजार वटा जति विजय सालका बिरुवा जोगाएका छौं।’ तीमध्ये २००–२५० जति बिरुवा सामुदायिक वन क्षेत्र भन्दा बाहिरको राष्ट्रिय वन क्षेत्रमा पर्छन्।

जनहित महाकाली सामुदायिक वनको करिब दुई हेक्टर क्षेत्रफलमा पनि विजय सालका बिरुवा हुर्किरहेका छन् । त्यहाँ ३० देखि ३५ वटासम्म माऊ रुख नै छन्। बसन्ती आफ्नै अग्रसरतामा सामुदायिक वन स्थापना गर्नुअघिसम्म उक्त वनको कार्यसमिति सदस्य थिइन् । अहिले उपभोक्ता मात्र छिन् । सामुदायिक वन स्थापनापछि समुदायका उपभोक्ता विभिन्न तरिकाले लाभान्वित भइरहेको उनी बताउँछिन् । ‘जयलक्ष्मी सामुदायिक वनबाट ठन्डीयाममा टाउकोभर बोक्न सक्ने जति दाउरा लिन पाइन्छ । पशुवस्तुका लागि स्याउला र डाले घाँस पनि उपभोक्ताले मनग्य पाइरहेका छन्,’ बसन्ती भन्छिन्।

विजय साल लोप भइरहेको थियो । उक्त क्षेत्रमा पाइन्छ भन्ने कसैले अनुमान गरेकै थिएन । तर, संरक्षण र सफाइको क्रममा भेटाएपछि भने वाणीका मुक्त कमैया समुदायले त्यसको संरक्षण गरिरहेका छन् । सामुदायिक वनले विजय साल हुर्काइरहेको छ भन्ने सूचना अहिले मुलुकभर फैलिसकेको छ । संरक्षणको क्षेत्रमा लागेका विभिन्न संघ–संस्थाका प्रतिनिधि र वनविज्ञानका विद्यार्थीहरू विजय साल संरक्षणबारे बुझ्न वाणी आइरहन्छन् । उनीहरूलाई नै लक्षित गरी होमस्टे सञ्चालन गरिएको हो । उक्त होमस्टेका पाहुना भन्नु नै उनीहरू हुन् । यसरी विजय सालको संरक्षण गरेका कारणले घुमाउरो बाटोबाट समग्र समुदाय नै लाभान्वित भइरहेको छ । मुक्त कमैया परिवारको जीविकामा सहयोग पुगिरहेको छ । ‘विजयसाल छिटो हुर्कंदो रहेछ । साल र विजयसाल दिदी–बहिनी हुन् भन्ने गरिन्छ । यो ठाउँ पहिले उजाड थियो । अहिले हरियाली देख्दा मन त्यसै खुस भइहाल्छ,’ बसन्ती भन्छिन्, ‘आफ्नो बच्चालाई भन्दा बढी माया जंगललाई गरेकी थिएँ । समुदायका सबैले त्यही माया गरेर यो सामुदायिक वन हुर्काउन सकेका हौं ।’

थारू समुदायले बनाउने मादल पनि विजय सालकै काठमा हो । विजय सालको डाले घाँस पनि प्रयोग गर्न मिल्छ । विजय सालको डाले घाँस खाएको पशु चौपायाले दूध धेरै दिने किसानहरू बताउँछन् । ‘हामीले इनारमा पनि विजय सालको काठ काटेर राख्ने गर्छौं । त्यसले पानीलाई स्वच्छ बनाउँछ÷मानिसको स्वास्थ्यलाई राम्रो गर्छ भन्ने विश्वास छ,’ बसन्ती भन्छिन्, ‘यसरी विजय सालको संरक्षणबाट धेरै किसिमले फाइदा पुगेको छ।’

बसन्तीले ६ वर्ष उक्त सामुदायिक वनको नेतृत्व गरेपछि समुदायका अन्य दिदी–बहिनीको पनि नेतृत्व क्षमता विकास होस्, उनीहरूले पनि अवसर पाऊन् भन्ने सदासयताले अहिले अध्यक्ष छाडेकी छन् । तर, उपभोक्ता समितिलाई अहिले पनि राय–सल्लाह भने दिइरहन्छिन् ।

बसन्ती दशकौंको श्रम शोषणबाट भर्खरै मुक्त भएको बेला थियो । कमैयाबाट मुक्त भएपछि एउटा खुल्ला आकाश त अगाडि थियो तर, चरम आर्थिक अभावले गर्दा सिंगो परिवार उक्त खुल्ला आकाशमा उड्नका लागि चाहिने पखेटा हाल्न संर्घषरत थियो । ‘त्यस्तो समयमा आर्थिक उपार्जनका कामतिर नलागेर किन जंगल संरक्षण गर्न लाग्नुभयो ?’ प्रश्न भुइँमा खस्न नपाउँदै बसन्ती जवाफ दिन्छिन्, ‘जंगल नभए मानिसको जीवन छैन । जीवनै नभए पैसाको के काम छ र ?’

प्रकाशित मिति : 13 अक्टोबर 2023, शुक्रवार
प्रतिक्रिया दिनुहोस