काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ वागमती प्रदेश, जिल्ला महासंघ नुवाकोट तथा रसुवाको संयुक्त आयोजनामा वन, वातावरण तथा जलवायु परिवर्तन न्यूनिकरणमा बहुसरोकारवालहरुको भूमिकाबारे प्रदेश स्तरीय गोष्ठी तथा छलफल सम्पन्न भएको छ ।
लिखुमा वैशाख १० देखि १२ गतेसम्म चलेको कार्यक्रममा अनुभव आदानप्रदान तथा प्रदेश महासंघको बैठक पनि आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै वागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले सामुदायिक वनको विकास र आयआर्जनका योजना बनाउन प्रदेश सरकारले बजेट व्यवस्था गर्ने बताउनुभयो ।
सामुदायिक वनका विषयमा आफू सिकारु भएको र हरेक उपभोक्ताहरु विज्ञ भएको बताउँदै उहाँले जनता र समुदायको हितमा काम गरिने प्रतिवद्दता जनाउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघका वागमती प्रदेश अध्यक्ष विनोद सापकोटाले समुदाय र सामुदायिक वन विकासमा सरकारको पर्याप्त ध्यान नपुगेको बताउँदै तेहेरो कर हटाएर उपभोक्तालाई सहज काम गर्न दिनुपर्ने बताउनुभयो ।
यसैगरी प्रदेश सभा सदस्य इन्द्र गोतामे र प्रदेश सरकारका सचिव डाक्टर केदार बरालले समुदायको हितका लागि कानुनी सहजता प्रदान गर्न पहल गर्ने बताउनुभयो ।
त्यस अवसरमा फेकोफनका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपाने, जिसस प्रमुख अशोककुमार घिमिरे, गोसाइकुण्ड गाउँपालिका अध्यक्ष र उत्तरगया र गाउँपालिकाका अध्यक्षहरुले पनि सामुदायिक वन तथा उपभोक्ता समूहको अधिकारबारे बोल्नुभएको थियो ।
तीन दिने उक्त कार्यक्रममा वागमतीका १३ वटै जिल्लाका फेकोफनका अध्यक्ष तथा पदाधिकारी, तथा डिभिजन वन कार्यालय नुवाकोट र रसुवाका प्रमुखहरु लगायतको सहभागिता थियो ।


