सामुदायिक वन दिवसमा उत्कृष्ट सामुदायिक वन र अगुवाहरू पुरस्कृत

काठमाडौँ । सामुदायिक वन दिवस २०८३ का अवसरमा वन संरक्षणमा योगदान पुर्‍याउने उपभोक्ता समूह तथा व्यक्तिलाई पुरस्कृत गरिएको थियो । गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारतर्फ मोरङको लेटाङ नगरपालिका-९ स्थित वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूह प्रथम भएको छ ।

काठमाडौँको कीर्तिपुर नगरपालिका-६ स्थित जल विनायक सामुदायिक वन उपभोक्ता समूह द्वितीय र कास्कीको पोखरा महानगरपालिका-२५ स्थित तीव्रेकोट सामुदायिक वन उपभोक्ता समूह तृतीय भएको छ ।

यस्तै चितवनको कालिका नगरपालिका-१ स्थित चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूह, कपिलवस्तुको वाणगङ्गा नगरपालिका-९ स्थित कोइली चौर साना किसान सामुदायिक वन उपभोक्ता समूह, तनहुँको म्याग्दे गाउँपालिका-२ स्थित उमाचोक सामुदायिक वन उपभोक्ता समूह र नवलपुरको गैँडाकोट नगरपालिका-६ र ७ स्थित नारायणी सामुदायिक वन उपभोक्ता समूहले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

गणेशमान सिंह सामुदायिक वन पुरस्कार मूल्यांकन समितिकी सदस्य डा. सिता अर्याललाई पनि सम्मान गरिएको थियो ।

गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कारतर्फ डिभिजन वन कार्यालय सिन्धुलीका रेन्जर राजकुमार मतारा प्रथम, ललितपुरका रेन्जर सुनिल आचार्य द्वितीय र उदयपुरका विनोद भुजेल तृतीय भएका छन् ।

यस विधामा डिभिजन वन कार्यालय मोरङका जमदार गणेशबहादुर बस्नेत, वन रक्षक जयप्रसाद खतिवडा र रेन्जर घनश्याम शाहले सान्त्वना पुरस्कार प्राप्त गरे । पुरस्कार प्राप्त गर्ने व्यक्ति तथा समूहलाई वन संरक्षण, दिगो वन व्यवस्थापन तथा वातावरण संरक्षणमा पुर्‍याएको योगदानका आधारमा सम्मान गरिएको छ ।

प्रकाशित मिति : 10 अगस्ट 2026, सोमबार
प्रतिक्रिया दिनुहोस