बाढीले विस्थापित र चुलो बाल्न समस्या परेका रसुवा र नुवाकोटका उपभोक्तालाई फेकोफनको ग्यास सहयोग

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीपछि विस्थापित भएका र चुलो बाल्न समेत समस्यामा परेका रसुवा र नुवाकोटका स्थानीय उपभोक्तालाई ग्यास सहयोग गरेको छ ।
फेकोफनले बाढीले निम्त्याएको विपत्तिपछि विस्थापित भएका र सडक सम्पर्क विच्छेद भएपछि अत्यावश्यक सामान पुग्न नसक्दा चुलो बाल्न पनि कठिनाइ भोगेका नुवाकोटको बेलकोट गढी र रसुवाको उत्तरगया गाउँपालिकाकाका अति समस्यामा परेका उपभोक्ताका लागि एक सय थान ग्यास सिलिण्डर उपलब्ध गराएको हो ।


अरु राहत पुगे पनि ग्यास नपाउँदा चुलो बाल्न समस्या भएको खबर पाएको र गाउँपालिकाका जनप्रतिनिधिले पनि ग्यास सहयोग मागेपछि बेलकोट गढीमा ५० र उत्तरगयामा ५० सिलिण्डर ग्यास लगिएको महासंघकी महासचिव पार्वता गौतमले जानकारी दिनुभयो ।
त्यसक्षेत्रमा अहिले पनि सडकको सहज पहुँच नहुँदा दैनिक उपभोग्य वस्तुहरु लैजान समस्या छ । फेकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाही, महासचिव गौतम, वागमती प्रदेश अध्यक्ष विनोद सापकोटा र फेकोफन लेखा नियन्त्रक राम पौडेल लगायतको टोली ग्यास लिएर रसुवा र नुवाकोट पुगको थियो । ग्यासका हाहाकार भएको समयमा विराटनगरबाट मगाएर बाढी प्रभावित क्षेत्रमा लगिएको हो ।


निकै ठूलो विपद् र स्थानीयमाथि परेको समस्याका बेला ग्यास ल्याइदिएको भन्दै त्यस अवसरमा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले फेकोफनलाई धन्यवाद दिनुभयो । उहाँले खाद्यान्न येनकेन पुगे पनि चुलो बाल्न ग्यास नहुँदा परेको समस्या बुझेर फेकोफनले सघाएको भन्दै आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा गरिएको बताउनुभयो ।


फेकोफनले यसअघि बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा नगद पाँच लाख प्र्रदान गरेको थियो । रसुवाबाढी आउँदा प्रभावित क्षेत्रमा फसेका फेकोफन वागमती प्रदेश उपाध्यक्ष लिला न्यौपानेलाई उद्धार गर्न महासंघले समन्वय र दबाब पनि दिएको थियो ।
बाढी प्रभावित क्षेत्रका उपभोक्ताका समस्याबारे आगामी दिनमा पनि महासंघले स्थलगत सहकार्य र सहयोगलाई निरन्तरता दिने फेकोफनले जनाएको छ ।

प्रकाशित मिति : 18 सेप्टेम्बर 2026, शुक्रबार
प्रतिक्रिया दिनुहोस