वन श्रोतको अवस्था पहिचानलाई अझै यथार्थपरक बनाउन सामुदायिक वनहरुको तथ्यांक संकलन अभियान

काठमाडौं । सामुदायिक वनहरुको नयाँ कार्ययोजनामा समावेश गर्न सकिने वैज्ञानिक र यथार्थ विवरणलाई अझै गुणस्तरीय र उपभोक्ताको आवश्यकता तथा वन श्रोतको यकिन अवस्था पहिचानलाई अझ प्रमाणिक बनाउन उद्देश्यले सामुदायिक वनहरुको तथ्यांक संकलनलाई फेकोफनले अभियानकै रुपमा अघि बढाएको छ ।

त्यही कामका लागि “सामुदायिक वन डेटा पोर्टल तालिम” समेत सञ्चालन गरी फिल्डमा खटिने जनशक्तिलाई अझ दक्ष र विवरण संकलनलाई झन् प्रभावकारी बनाउने योजनाहरुबारे छलफल र अन्तर्कृया समेत भैरहेका छन् ।

सामुदायिक वनका श्रोत र तीसँग जोडिएका उपभोक्ताहरुको यथार्थ अवस्थासहितको यकिन तथ्यांक विवरण प्रस्तुत गर्ने लक्ष्यसहित डेटा पोर्टल तयार गरिरहँदा भक्तपुरमा दुई दिने डेटा पोर्टल तालिम आयोजना गरिएको छ ।

सामुदायिक वन उपभोक्ता उपभोक्ता महासंघ, ग्रीन फाउण्डेसन नेपाल र सिप्रेडको आयोजनामा सञ्चालित तालिममा सामुदायिक वन र डेटा पोर्टलको महत्त्वबारे प्रकाश पार्दै फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनका उपभोक्ताहरुको जनसांख्यिक विवरण, वनको मौज्दात काठ र गैर काष्ठजन्य साधनश्रोतको उपलब्धता र जैविक विविधताका श्रोतहरुको पहिचानमा डेटा संकलनको भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्षा बिर्खबहादुर शाहीले वन विकासका लागि सञ्चालित कार्यक्रम र ती कार्यक्रमले रोजगारी श्रृजनामा पारेको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव, वनमा आधारित उद्योगको संख्या, वन्यजन्तु र वनस्पतिको उपलब्धताका लगायतका विषयका तथ्याङ्क संकलन गरिएको बताउँदै तालिमले फिल्डका कार्यरत जनशक्तिलाई थप सहयोग पुग्ने बताउनुभयो ।

तालिम कार्यक्रमको सञ्चालन गर्दे फेकोफन महासचिव पार्वता गौतमले वन समूहसँग कसरी तथ्याङ्क संकलन र नक्साङ्कन भयो र सामुदायिक वन उपभोक्ता समुहहरुको डेटा पोर्टलमा के के समेटिएको छ भन्ने बारेमा तालिममा जानकारी लिने दिने गरिएको बताउनुभयो ।

फेकोफनका सचिव डिल्ली गिरीले डेटा संकलन गर्दा मानव–वन्यजन्तु द्वन्द्व, सुशासान, सहभागितामुलक नक्सा, स्थानीय कानून र प्रथाजन्य अभ्यासका बारेमा पनि जानकारी समेटिएको जानकारी दिनुभयो ।

यस्तै कोषाध्यक्ष शान्ता न्यौपानेले सामुदायिक वनको तथ्यांक संकलन गर्दा स्थानीय उपभोक्ताका आवश्यकतासँगै लैङ्गिक समानता र समाजिक समावेशीकरण, अधिकारबारेको अवस्थालाई पनि समेटिएको बताउनुभयो ।

फेकोफनका कार्यकारी निर्देशक तथा राष्ट्रिय परियोजना संयोजक डा. सीता अर्यालले कार्यक्रम र पोर्टलको परिचयबारे जानकारी गराउनु भयो।

यस्तै सिप्रेडका IPLC Coordinator मन्केश गुप्ताले परम्परागत ज्ञान र समुदायका सुझावले डेटालाई वस्तुनिष्ट बनाउन सघाउने बताउनुभयो ।

डेटा तथा अनुगमन प्रबन्धक सुजन खनालले सामुदायिक वनका तथ्यांक र त्यसको व्यवस्थापनबारे प्रशिक्षण दिनुभएको तालिम उद्घाटन समारोहमा फेकोफनका प्रशासक तथा आईटी संयोजक सन्देश चौधरीले Community Forest Data Portal Management सम्बन्धी सत्र सञ्चालन गर्नुभएको थियो ।

साउन २९ गतेदेखि ३० गतेसम्म सञ्चालित तालिममा FECOFUN र CIPRED कार्यक्षेत्रका १९ जिल्लाबाट क्लस्टर परियोजना संयोजकहरू सहभागी भएका छन् । तालिममा सहभागीहरूलाई सामुदायिक वन र डेटा पोर्टलको प्रभावकारी उपयोग, व्यवस्थापन र अद्यावधिक प्रक्रियाबारे प्राविधिक तथा व्यवहारिक ज्ञान प्रदानसमेत गरिएको छ।

 

प्रकाशित मिति : 15 अगस्ट 2025, शुक्रवार
प्रतिक्रिया दिनुहोस