सामुदायिक वनमा उद्यम र पर्यापर्यटनका समस्या समाधान गर्ने कोशीका मुख्यमन्त्री कार्कीको प्रतिवद्दता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सामुदायिक वनमा पर्यापर्यटन सञ्चालनमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्दता जनाउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पदाधिकारीहसँग मुख्यमन्त्रीको कार्यालय विराटनगरमा भएको भेटमा मुख्यमन्त्री कार्कीले पर्यापर्यटनको विकासले मुलुकमा पर्यटक भित्र्याउन सहयोग पुग्ने र पर्यटक बढेमा त्यसले मुलुककै अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभएको हो ।

उहाँले पर्यापर्टयन सञ्चालनका लागि सामुदायिक वन उपभोक्ता समूहहरुले कुनै समस्या भोग्नुपरेको भए वन तथा वातावरणमन्त्रीसँग आफूले छलफल गरेर समस्या समाधान गर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले मुलुकको सम्वृद्दिका लागि उद्यम र पर्यापर्यटन प्रमुख भएको बताउँदै त्यसका लागि सहयोग र समन्वयन गर्न कोशी प्रदेश सरकार तयार रहेको पनि बताउनुभयो । उहाँले दशै र तिहारको बीचमा सामुदायिक वन उपभोक्ता महासंघसँग मिलेर यसबारे छलफल गर्ने भन्दै सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभयो ।

मुख्यमन्त्री कार्कीले सामुदायिक वनमा उद्यम सञ्चालनका लागि देखिएका अवरोधहरु हटाउन पनि आफूले पहल गर्ने बताउँदै मन्त्रीसँग बसेर समस्या समाधान गर्ने प्रतिवद्दता जनाउनुभयो ।

त्यस अवसरमा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा पर्यापर्यटन र उद्यम सञ्चालनमा देखिएका कानुनी र व्यवहारिक अड्चनबारे जानकारी गराउनुभएको थियो । उहाँले सामुदायिक वनलाई सवल र उपभोक्तालाई सक्षम बनाउन सके सामुदायिक वनहरु सम्वृद्दि नेपालका सहयोगी बन्न सक्ने बताउनुयो ।

वनको विकास र समुदायको हितका लागि अहिले देखिएका कमीकमजोरी सच्याउन सरकारले सामुदायिक वनका उपभोक्तालाई अधिकार सम्पन्न बनाउनुपर्ने महासंघको प्रतिनिधिमण्डलको भनाइ थियो ।

वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले सामुदायिक वनमा पर्यापर्यटनको सहज वातावरण बनाउन सके मुलुककै आर्थिक सम्वृद्दिमा टेवा पुग्ने भन्दै प्रदेश सरकारले समन्वय गर्नुपर्ने बताउनुभयो ।

महासचिव पार्वता गौतमले सामुदायिक वनमा पर्यटकीय गतिविधिसहित पर्यटक आकर्षित गर्ने वातावरण सरकारले मिलाउनुपर्नेमा जोडदिनुभयो ।

सचिव डिल्ली गिरीले सामुदायिक वनमा उद्यम विकासले लाखौं उपभोक्तालाई उद्यमी बनाउन सकिने र त्यसले मुलुककै सम्वृद्दिमा सहयोग पुग्ने बताउनुभएको थियो ।

यस्तै फेकोफन कोशी प्रदेशका अध्यक्ष तुलसी संग्रौलाले कोशीमा पर्यापर्टन र उद्यम विकासका योजनालाई सघाउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : 5 सेप्टेम्बर 2025, शुक्रवार
प्रतिक्रिया दिनुहोस