काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघले विपन्न र गरिब समुदायको जिविकोपार्जनमा सघाउँदै जैविकविविधता संरक्षणमा गरेको सहयोगले मधेश प्रदेशको सिरहामा नमुना कामहरु भएका छन् ।
सिरहा लाहान नगरपालिकाभित्र रहेका बाबाजीखोला, कोइरालाखोला, राजदेवी, पकडियागढ र तेत्राही सामुदायिक वनका उपभोक्ताहरुको जिविकोपार्जनका लागि व्यवसायिक उद्यमशीलता र संरक्षणका योजनाहरु कार्यान्वयमा आएसँगै उपभोक्ताहरुको आर्थिक अवस्थामा उल्लेख्य सुधार भएको छ ।
फेकोफन तथा केयर नेपाल र राष्ट्रिय कृषक समूह महासंघको साझेदारीमा संरक्षण परियोजना कार्यान्वयन भएकोले त्यस क्षेत्रमा ३२ वटा कृषक समूहसमेत गठन गरेर ४ सय गरिब तथा सिमान्त घरधुरी छनोट गरी जिविकोपार्जन सुधारका कामहरु भैरहेका छन् ।
संरक्षण परियोजनाको समीक्षा बैठकमा सिरहामा सञ्चालन भएका योजनाहरु र तिनको प्रगति तथा परिणामबारे समीक्षा र आगामी दिनमा गर्नुपर्ने कामको पनि भएको छ ।
समीक्षा बैठकका अवसरमा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले चुरे क्षेत्रको संरक्षण र पानीका श्रोत संरक्षणका लागि ५० करोड लिटर पानी सञ्चित हुने पाँचवटा बहुउद्देश्यीय पानी पोखरी निर्माण गरिएको जानकारी दिनुभयो ।
ती पोखरीहरु निर्माणको मुख्य उद्देश्य भूमिगत पानीको श्रोत संरक्षण गर्नु र स्थानीयलाई माछा पालनमार्फत आयआर्जनमा सघाउनु भएको पनि अध्यक्ष भण्डारीले बताउनभयो । उहाँले समुदाय र उपभोक्ताको अधिकार तथा आर्थिक अवस्था सुधारसँगै परियोजनाहरुको दीगोपनमा पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो । स्थानीय तहसँग समन्वय गरेर काम गर्दा उपभोक्ताले थप लाभ पाउनसक्ने उहाँको भनाइ छ ।
फेकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले त्यस क्षेत्रका सामुदायिक वनका उपभोक्ताको जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले ४ सय घर परिवारलाई ३५ हजारका दरले आर्थिक सहयोग गरेर विभिन्न आयआर्जनका गतिविधिहरु पनि सञ्चालन गरिएको बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष शाहीले युवालाई सामुदायिक वन संरक्षण र उद्यमशीलतामा जोड्नुपर्ने बताउँदै आगामी योजनाहरुमा युवा सहभागिता बढाइने जानकारी दिनुभयो ।
फेकोफनकी कार्यकारी निर्देशक डा सिता अर्यालले विपन्न र भूमिहीन मुसहर समुदायलाई सामुदायिक वनको जग्गामा खेती गर्न सहयोग गरिएको र महिलाहरुलाई सीपमुलक तालिम दिइएकोले उनीहरु आत्मनिर्भर बन्दै गएको बताउनुभयो ।
त्यसअवसरमा राष्ट्रिय कृषक समूहका कार्यकारी निर्देशक केदार कोइरालाले समुदायलाई आत्मनिर्भर बनाउँदै त्यसको प्रतिफल र दिगोपनमा पनि ध्यान दिनुपर्नेमा जोडदिनुभयो ।
केयर नेपालका जगदिश भट्टले प्राकृतिक श्रोतको दिगो व्यवस्थापन तथा परिचालन मार्फत स्थानीय समुदायको जिविकोपार्जनमा सहयोग पुर्याउन मिलेर काम भैरहेको जानकारी दिनुभयो ।
फेकोपनका लेखा प्रमुख राम पौडेलले समुदायमा भएको लगानी व्यवस्थित बनाउँदै त्यसको प्रतिफलले सामुदायिक वनका स्थानीय उपभोक्ता र विपन्न समुदायको आर्थिक सुधारमा टेवा पुग्दै जानु सकारात्मक भएको बताउनुभयो ।
फेकोफनका टेकेन्द्र शाही तथा कृषक समूहका तर्फबाट शोभा पासवानले स्थानीय स्तरमा गरिएका काम र अहिलेसम्मको अवस्थाबारे प्रस्तुती गर्नुभएको थियो ।
त्यस अवसरमा स्थानीय उपभोक्ताका लागि अदुवा तथा बेसार खेती, तरकारी खेती, दुना टपरी उद्योग, बाँसका सामग्री बनाउने गरी हस्तकला तालिम, सिलाइ कटाइ तालिम, चुरा बनाउने तालिम, व्यवसायिक माछापालन र व्यवसायमुलक पसलहरु सञ्चालनमा सहयोग गरिएको र त्यसको परिणाम पनि राम्रो देखिएको बताउनुभयो । पोखरी तथा जलासयमा ६२ हजार माछाका भुरा छाडिएको पनि जानकारी दिइयो ।
साना उद्यमहरू जस्तै चुरा बनाउने, दुनाटपरी बनाउने, तरकारी तथा दूध बेच्ने, पसल व्यवसाय गर्ने, सिलाइकटाइ गर्ने आदि मार्फत ४ सय परिवारलाई जिविकोपार्जनमा सघाउँदा उनीहरुको आम्दानीमा टेवा पुगेको छ ।
यसैगरी १३७ किसानहरुले जलवायुजन्य जोखिम न्यूनीकरण गरि संरक्षण खेतीका रुपमा बेसार र अदुवा लगाउँदै आएका छन् । किसानहरूले ५ प्लास्टिक टनेल स्थापना गरेकाले वर्षभरि बाली उब्जाउन सकिने अवस्था छ ।
कृषक समूहहरूमा उत्थानशील घरबगैचा स्थापना गर्न ८०० आँप, ४०० लिची, ४०० कागती र ४०० अम्बाको विरुवासहितको सहयोग गरिएको छ । यसैगरी, ५ वटा वन समूहहरूसंग वृक्षरोपण तथा कृषिवन प्रणाली अन्तर्गत , जैविक बार, झाडी सफाई र माछापालन आदिको लागि २२ सय घाँसे प्रजाती र १४ सय ५० फलफूलका विरुवाहरू, ६५० सजावटी रूखहरू र १५ सय ५० जडिबुटीजन्य विरुवाहरू हुर्केका छन् ।
सबै गतिविधिहरूमा ८० प्रतिशतभन्दा बढी महिला सहभागिता रहेको र महिला नेतृत्वका कृषक समूहहरू गठनसँगै निर्णय प्रक्रियामा महिला तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
बैठकमा समुदायमा गरिएको लगानी र जीविकोपार्जन तथा संरक्षणका कार्यक्रमहरुलाई अझ प्रभावकारी बनाउन स्थानीय तहसँग पनि सहकार्य गर्दै अघि बढ्नेबारेमा समेत छलफल भएको थियो ।


