काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव पार्वता गौतमले महिलाहरु आर्थिक रुपमा सबल हुनुपर्ने भन्दै लैङ्गिक हिंसा अन्त्यका लागि शसक्तिकरण र सचेतना आवश्यक भएको बताउनुभएको छ ।
तेह्रथुमको आठराईमा सामुदायिक वनका पदाधिकारीहरूसँग भएको अन्तर्कृया कार्यक्रममा महासचिव गौतमले महिला नेतृत्व र समावेशी अधिकारका लागि फेकोफनले गरेका काम मुलुककै लागि उदाहरणीय भएको बताउनुभयो ।
आजको युगमा पनि लैंङ्गिक हिंसा हुनु निकै दुखको विषय भएको भन्दै उहाँले महिला तथा बालबालिका माथि हुने अमानविय हिंसाको श्रोत विद्यमान संस्कृति र सम्पत्ति भएको उल्लेख गर्नुभयो ।
सामुदायिक वनका पदाधिकारी र सदस्यहरुले सबैखाले हिंसासहित महिला हिंसा अन्त्यका लागि विशेष काम गर्नुपर्नेमा महासचिव गौतमले जोडदिनुभयो ।
स्वामित्वको आधारमा सामुदायिक सम्पत्ति, व्यक्तिगत सम्पत्ति र सरकारको अधिनमा रहेको सम्पत्तिहरुमा महिलाको समान अधिकार र पहुँच तथा सामुदायिक सम्पत्तिहरु जल, जंगल, जमिनमा महिलाको पहुँच स्थापना हुन सके लैङ्गिक विभेद र हिंसा कम गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाउने गरिन्छ । नेपालले पनि महिला हिंसा विरुद्धको अभियानलाई राष्ट्रिय दिवस सरह नै मानेर जनचेतनामुलक गतिविधिहरुसहित मनाउने गरेको छ । २०५२ सालमा स्थापना भएको सामुदायिक वन उपभोक्ता महासंघले यो वर्ष पनि विभिन्न कार्यक्रम र विशेष गतिविधिसहित यो अभियान मनाउँदै आएको छ ।




