ʻसामाजिक र सांस्कृतिक पक्षमा सामुदायिक वनले पुर्याएको योगदान अमूल्यʼ

काठमाडौं । वनको दीगो व्यवस्थापन गरी मुलुकको वन क्षेत्र बढाउन र मुलुकको आर्थिक सम्वृद्दिमा सहयोग पुर्याएको सामुदायिक वनले सामाजिक र सांस्कृति पक्षमा पनि अतुलनीय योगदान गरेको छ ।
सामुदायिक वनको कृषि वन सहज कार्यक्रमद्वारा काठमाडौंमा आयोजित अन्तर्कृयामा फेकोफनका पदाधिकारी तथा सहभागी सामुदायिक वन उपभोक्ता समूहहरुका प्रतिनिधिले सामाजिक र सांस्कृतिक पक्षमा गरिएका कामहरु तथा समस्या र चुनौतीबारे छलफल भएको छ ।
कार्यक्रममा फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनले समाज र समुदायको विकासमा गरेको लगानीले प्रतिफल पनि सकारात्मक नै दिइरहेको बताउनुभयो ।


नेपालको सामुदायिक वन विश्वकै लागि नमूना हुनुको कारण पनि वन व्यवस्थापनसँगै सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेको योगदान भएको बताउँदै उहाँले समुदायको विकासले देश विकासमा टेवा पुगेको उल्लेख गर्नुभयो ।
तर उद्यम विकास र पर्यापर्यटनदेखि अन्य सामाजिक काममा समुदायलाई सरकारले सघाउनुको साटो झन् समस्या थप्ने गर्दा उपभोक्ताले चुनौती सामना गर्नुपरेको उहाँको भनाइ छ ।

फेकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले सामुदायिक वन उपभोक्तालाई सहज हुने गरी काम गर्न सरकारले सघाउनुपर्नेमा जोडदिनुभयो । उहाँले सबैजसो समूहहरुले सामाजिक र सांस्कृतिक विकासमा गरेको योगदानको सही मूल्यांकन हुन नसकेको बताउनुभयो । समूहहरुका लागि एउटै ऐन भए पुग्ने भन्दै उहाँले नियमावली र मार्गदर्शनका नाममा समुदायलाई समस्यामा पार्न नहुने उल्लेख गर्नुभयो । सामुदायिक वनको सबैकुरा विधान हो भन्ने मान्नुपर्ने वरिष्ठ उपाध्यक्ष शाहीको भनाइ छ ।


फेकोफनकी महासचिव पार्वता गौतमले सामाजिक र सांस्कृतिक पक्षमा सामुदायिक वनले लगानी गर्दा महिलाहरुले धेरै प्रतिफल पाएको बताउनुभयो । उहाँले महिला नेतृत्व र हिंसाविरुद्का अभियान जस्ता काममा फेकोफनले गरेका सचेतनाका गतिविधि उदाहरणीय भएको पनि बताउनुभयो ।
त्यसअवसरमा फेकोफनका कानुनी सल्लाहकार दिलराज खनालले सामुदायिक वनले सामाजिक र सांस्कृतिसहितका क्षेत्रमा के कसरी खर्च गर्न मिल्छ भन्नेबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
फेकोफनका वागमती प्रदेश अध्यक्ष विनोद सापकोटाले दीगो वन व्यवस्थापनमा समुदायले योगदान गरेसँगै सामाजिक र सांस्कृति पक्षमा पनि सहयोग गरेको बताउनुभयो ।

त्यस अवसरमा सहभागीहरुले विपन्नलाई घर निर्माण, स्थानीय विद्यालयलाई सहयोगदेखि समुदायको पर्वपरम्पार र बडघर प्रथाजस्ता अन्य सांस्कृति परम्परा संरक्षणमा सामुदायिक वनले सहयोगलाई निरन्तरता दिएको लगायतका विषयहरु राख्नुभएको थियो ।

प्रकाशित मिति : 1 डिसेम्बर 2025, सोमवार
प्रतिक्रिया दिनुहोस