काठमाडौं । सामुदायिक वन उपभोक्ता समूहहरुले सञ्चालन गरेका उद्योगहरुलाई प्रदेश र स्थानीय तहले सहयोग र समन्वय गर्नुपर्ने विषयमा दाङमा अन्तर्कृया सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशको दाङमा सञ्चालित गोवरडिहा काष्ठ तथा फर्निचर उद्योगले सञ्चालन गर्दै आएका कामहरुको अध्ययन र अवलोकनसँगै भएको अन्तर्कृयामा प्रदेशका वन सचिव, फेकोफनका संघीय अध्यक्ष लगायतले वन उद्यम र आगामी योजनाबारे आआफ्ना धारणा राख्नुभएको थियो ।
त्यस अवसरमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले सामुदायिक वन उपभोक्ताहरुले सञ्चालन गरेका उद्योगहरुलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले समुदायको रोजगारी र सम्वृद्दिका लागि सामुदायिक वन उपभोक्ताहरुले हरसम्भव प्रयास गर्दै आएको बताउँदै काठ उद्योग सञ्चालनमा देखिएका नीतिगत असहजता समाधानमा सरकारले गम्भीर पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसाल, उद्योग सञ्चालक समितिका अध्यक्ष नवराज शर्मा लगायतले काष्ठ उद्योग सञ्चालनका क्रममा समुदायले भोग्नुपरेका नीतिगत समस्या समाधान गरिदिन प्रदेश सरकारलाई आग्रह गर्नुभएको थियो।
गढवा र राप्ती गाउँपालिकाका सामुदायिक वन मिलेर २०७८ सालमा स्थापना भएको गोवरडिहा काष्ठ तथा फर्निचर उद्योग प्रा. लि. गढवा गाउँपालिका–१, बडहरामा छ । यो उद्योग स्थानीय १३ वटा सामुदायिक वन उपभोक्ता समूह मिलेर स्थापना गरिएको हो । वन पैदावार उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले सामुदायिक वन मिलेर यो उद्योग स्थापना गरिएको हो ।
यो उद्योगले उपभोक्तालाई सहुलियत दरमा चिरान काठ उपलब्ध गराउँदै आएको छ । तर, कानूनी अड्चन देखाउँदै डिभिजन वन कार्यालय र पालिकामा सूचीकृत हुन नसक्दा कम्पनीले चिरान बाहेकका अन्य कामकाज गर्न सकेको छैन । उद्योगमा कुलपानी, वनशक्ति, जनप्रिय, बाग्दुला, महदेवा, लखपति, दूर्गा, जनशक्ति, सूर्या, जनसेवा, लक्ष्मी, हरियाली, गोबरडिहा सामुदायिक वन उपभोक्ता समूहको लगानी रहेको छ ।



