काठमाडौँ/ सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (FECOFUN) को ३१ औं स्थापना दिवस देशभर विभिन्न चेतनामूलक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाइँदै छ।
“वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकारः समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार” भन्ने नाराका साथ ३१ औं महासंघ स्थापना दिवस मनाउन लागिएको महासंघका अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल फेकोफनको स्थापना २०५२ साल जेठ १८ गते भएको हो । त्यसैले प्रत्येक वर्ष जेठ १८ गते फेकोफन स्थापना दिवस मनाउने गरिन्छ । केन्द्रीय कार्यालय काठमाडौँसहित सातवटै प्रदेश तथा ७७ वटै जिल्ला महासंघ र स्थानीय उपभोक्ता समूहहरूले यो दिवस मनाउँदै छन् ।
सामुदायिक वनको मर्म र भावना अनुसार वन व्यवस्थापन कार्यक्रम स्थानीय उपभोक्ताहरूको सक्रिय सहभागितामा प्रभावकारी भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको सामुदायिक वन एक सिकाई केन्द्रको रूपमा स्थापित भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल देशभर रहेका सामुदायिक वन उपभोक्ता समूहहरुको प्रतिनिधिमूलक छाता संगठन हो । हाल देशभर २३,०८९ सामुदायिक वन हस्तान्तरण भएका छन् जसमा ३५,२०,०९६ घरधुरीले २५,१७,७६५.५५ हेक्टर वनको व्यवस्थापन गर्दै आएका छन् ।
नेपालको सामुदायिक वन अभियानलाई विश्वमै एक नमुना र सफल कार्यक्रमको रूपमा स्थापित गर्न फेकोफनले नेतृत्वदायी भूमिका निर्वाह गरेको वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले बताउनुभयो।
यसैगरी स्थानीय समुदायको वनमाथिको अधिकार सुरक्षित गर्न, महिला, विपन्न तथा आदिवासी जनजातिको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न र वन नीति निर्माणमा उपभोक्ताको आवाज बुलन्द गर्न महासंघ सधैँ प्रतिबद्ध रहेको महासचिव पार्वता गौतमले बताउनुभयो ।
दिवसको अवसरमा देशका विभिन्न भागमा व्यापक रूपमा वृक्षरोपण तथा अन्तर्कृया र छलफलहरु आयोजना गरिएको महासंघका सचिव डिल्ली गिरीले जानकारी दिनुभयो । वन डढेलो नियन्त्रण, जैविक विविधता संरक्षण र पर्यावरण जोगाउन जनचेतनामूलक र्याली, अन्तरक्रिया र विचार गोष्ठीहरू समेत गरिने उहाँको भनाइ छ।
फेकोफन नेपालकै सबैभन्दा ठूलो नागरिक संगठन हो। यसले वन उपभोक्ता समूहहरूलाई एउटै छातामुनि आबद्ध गरी प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र स्थानीय जीविकोपार्जन सुधारका लागि निरन्तर वकालत गर्दै आइरहेको छ। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएसँगै सामुदायिक वन उपभोक्ता समूहरु समृद्धिका दिशातर्फ नमूनाको रूपमा लागिरहेका पनि महासंघले जनाएको छ ।
प्रकाशित मिति : 31 मे 2026, आइतवार


