नेपालको सन्दर्भमा दिगो विकास लक्ष्य र वन क्षेत्र

वन क्षेत्र मानव जीवन यापनका लागि चाहिने आधारभुत वस्तु जस्तै अन्न पानी तथा इन्धनको स्रोत हो । विश्व खाद्य संस्था (२०१५) का अनुसार विश्वका १.६ विलियन जनसंख्या जीविकोपार्जन रोजगारी तथा आयस्रोतको लागि वन क्षेत्रमा नै आश्रित रहेका छन् । करिब ८२० मिलियन उष्ण प्रदेशीय जनसंख्या वन क्षेत्रमा वा वनका वरीपरी बसोबास गर्दछन् । वन क्षेत्रको बहुआयामिक यनेगदानको कदर गर्दै वन क्षेत्रलाई दिगो विकास लक्ष्य प्राप्तिमा समावेशका लागि संयुक्त राष्ट्र संघीय वन मञ्च को पहलमा सन् २०१७ जनवरीमा तय गरिएको संयुक्त राष्ट्र संघीय वन क्षेत्रको रणनीतिक योजना लाई संयुक्त राष्ट्रसंघीय साधारण महासभाले सन् २०१७ मा अनुमोदन गरेको छ ।

विश्वका विभिन्न राष्ट्र जस्तै नेपालको वन क्षेत्र पनि स्थानीय समुदायको जीविकोपार्जन, रोजगारीको अवसर आम्दानीको स्रोत, देशको अर्थतन्त्र तथा राष्ट्रको समग्र विकासको अभिन्न क्षेत्रको रुपमा चिनिन्छ । नेपालको संविधानले सामाजिक आर्थिक तथा पारिस्थितिकीय सन्तुलनका लागि वनको संरक्षण अपरिहार्य भएको औँल्याएको छ । नेपालको १४ तथा १५ आवधिक योजनाले बहुआयामिक विकासका लागि वन क्षेत्रको संरक्षण तथा व्यवस्थापन र वन क्षेत्रको अभिवृद्धि गर्नुपर्ने जोड दिएको छ । यसर्थ नेपालले सन् २०१५ देखि २०२५ लाई ‘समृद्धिका लागि वन’ भन्ने नारा अघि सारेको छ । राष्ट्रिय वन नीति २०७५ वन क्षेत्र रणनीति २०१६–२०२५, राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०१४–२०२० र दिगो विकासका लागि प्रकृतिको संरक्षण तथा राष्ट्रिय रणनीति ढाँचा २०१५–२०३० ले नेपालको समृद्धि अभियानमा वन क्षेत्रको महत्व दर्शाएको छ । नेपालको कुल भूभागको ४४.७४ प्रतिशत क्षेत्रफल वन क्षेत्रले ओगटेको छ । वन क्षेत्र परिवर्तनको आँकडाले विगतका दशकको तुलनामा वन क्षेत्र वृद्धि भएको देखाउँछ ।

नेपालको साग्र वन क्षेत्र अभिवृद्धिमा सामुदायिक वन व्यवस्थापन पद्धतीको अग्रणी भूमिका रहेको छ । यस सन्दर्भमा नेपालमा विद्यमान वन व्यवस्थापन पद्धतिलाई दिगो विकास लक्ष्य हासिल गर्ने संयन्त्रको रुपमा विकास गरिनुपर्ने बहस बढ्दै गएको छ । नेपालमा सामुदायिक वन व्उवस्थापन गर्ने विभिनन स्थानीय समुदायले दिगो विकास लक्ष्य प्राप्तिका लागि आफूले गरिरहेका योगदानहरुको मूल्यांकन गर्न सुरु गरेका छन् ।

सामुदायिक वनका माध्यमबाट हुँदै आएका कार्यहरुको सामान्य मूल्यांकनका आधारमा सामुदायिक वन उपभोक्ता समूहले अधिकांश दिगो विकास लक्ष्यहरुको प्राप्तिका लागि उल्लेखनीय योगदान र भूमिका निर्वाह गर्दै आएको देखिन्छ । नेपालमा रहेका २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूहहरुले २२ लाख ३७ हजार ६७० हेक्टर सामुदयिक वन (कुल वन क्षेत्रको ३७ प्रतिशत वन) व्यवस्थापन गर्दा दिगो विकास लक्ष्य प्राप्तिमा उल्लेखनीय योगदान गरेका छन् । जसबाट लगभग २९ लाख ७ हजार ८८१ घरधुरीहरु लाभान्वित हुँदै आइरहेका छन् । त्यसैले दिगो विकासका सन्दर्भमा नेपालको सामुदायिक वन स्वदेशमा र विश्वभरी नै उदाहरणीय रहेको छ ।

दिगो विकास लक्ष्यहरुको प्राप्तिका लागि सामुदायिक वनले उल्लेखनीय योगदान गर्न सक्छ भन्ने कुरा सामुदायिक वनका माध्यमबाट घरधुरी र तहसम्म प्राप्त भएका उपलब्धिहरुले पुष्टि गर्दछ । सामुदायिक वनको विगत ४० वर्षको अनुभव र सामुदायिक वनले अहिले खेल्दै आएको भुमिकाको आधारमा दिगो विकासका बहुसंख्यक परिमाणात्मक लक्ष्यहरुको प्राप्तिमा सामुदायिक वनको उच्च योगदान रहँदै आएको छ । यस क्रममा सामुदायिक वनले दिगो विकास लक्ष्यको पुरकको रुपमा योगदान गर्नुका साथै अतिरिक्त योगदान पनि गर्दै आएको छ ।

प्रकाशित मिति : 22 डिसेम्बर 2019, आइतवार
प्रतिक्रिया दिनुहोस