सामुहिक तरकारी खेतीले हौसिएका महिला

स्याङ्जा –

चिप्लेटी सामदायिक वनका महिला उपभोक्ताहरुको सशक्त गतिविधिले महिलामा जागरण आउन सक्यो भने कल्पाना नै नगरिएको परिवर्तन सम्भव हुने उदाहरण स्याङ्जा जिल्लामा बनेको छ । नेपालकै पुरानो राजमार्ग मानिने पोखरा –स्याङ्जा–पाल्पा–बुटवल खण्डको पोखराबाट स्याङ्जा सदरमुकाम पुतलीबजार पुग्नु ५–६ किलोमिटर वरैबाट बायाँ कच्चीबाटो आधा बढी नै हिँड्नुपर्छ ।

तर यहाँ डाँडाको बस्ती पुग्न लागेको सन्देश अन्यत्र जस्तो ठुस्स गनाएपछि पाइँदोरहेनछ । यो गाउँ पुगेको प्रमाण बारीका पाटा र घरघरकै छेउमा लहलह तरकारी टनेलामा लटरम्म पाकेका गोलभेँडा, काउली बन्दाकोभि र अय सागपालका आँखै शीतल बनाउने दृश्यले दिनेरहेछ । घरैपिच्छे गाइ वा भैँसीपालन र गोबरग्यास बालेर निस्किएकबो मलले लहलह तरकारीको राजलाई मात्र पुष्टि गर्दैन ती तरकारीका पात र हरियो घाँस स्याउलाको खान्कीले फस्टाएका पशुहरुको स्वरुपले आफैँ प्रस्ट्याउँदो रहेछ ।

बाटैबाटो निकै उक्लिएपछि बायाँपट्टि नै रहेछ महिलाहरुले बनाएको सामुदायिक भवन । भेला तथा बैठकहरु गर्न मिल्ने गरी बनाइएका भवनामा प्लाष्टिककका कुर्सिहरु चाङ लगाइएका थिए । एकैछिनमा भुरुरु जम्मा भउका विभिन्न उमेर समूहका अधिकांश जसो सुवेदी थर भएका महिलाहरुले भरियो । भवन वरीपरी जेजति देखिन्थ्यो, तरकारी लगाउँदै गरेका, टिपिसकिएका, टिप्नका लागि उपयुक्त भएका विभिन्न जातका तरकारी खेती । सभा भवन छेउको क्षेत्रको तरकारी खेती महिलाहरुले सामूहिक रुपमा गरेका रहेछन् ।

उपस्थित मध्ये सामुहिक खेतीकी अध्यक्ष जमुनादेवी सुवेदी (खासमा उनी जनजागरण सिकाइ तथा कार्यकेन्द्रकी अध्यक्ष हुन्) ले भन्न थालिन्, दीपेन्द्र सुवेदी उहाँ नै हो, हाम्रो चिप्लेटी सामुदायिक वनको अध्यक्ष र अहिले उपस्थित एकमात्र पुरुष ।

हाम्रो गाउँमा यो चिप्लेटी सामुदायिक वन हामीले संरक्षण गरिरहेका नै थियौँ । प्राय पदाधिकारीहरु पुरुष नै हुनुहुन्थ्यो । बैठक सैठक गर्नुहुन्थ्यो । समितिमा बसेका महिलाहरुलाई पनि माइन्युटमा बेला बेलामा सही त गराउनुहुन्थ्यो तर पुतलीबजार गइरहनुपर्ने, घरबाट निस्किनुपरिरहने भएकाले समितिमा बसेका महिलाहरुलाई पनि अप्ठेरो नै थियो । जे भए पनि घाँस, दाउरा, स्याउला–सोतर फेरि महिलाहरुलाई नै चाहिने भएकाले सामुदायिक वनको कटनी छटनी र वृक्षारोपणका बेला हामी महिलाहरुले नै ढाकिन्थ्यो वन । तै पनि यसको सञ्चालनमा महिलालाई उति सक्रिय हुन घर परिवार, पशुपालन र केटाकेटी अनि भात भान्छाले दिँदैनथ्यो । तर पनि जिन्दगी चलिरहेकै थियो । तर हामी महिला कहिलेकाहीँ यस्तरी जम्मा हुन र बोल्न थाल्यौँ भने जब यहाँ हरियो वन कार्यक्रम अन्तर्गत सामुदायिक वनले सिकाइ केन्द्र सञ्चालन ग¥यो । त्यसले त अचम्मै गर्‍याे । १६ हप्तासम्म हामी २८ जना महिालाहरुले तालिम पायौँ । तालिमले हामीलाई त पुरै उल्ट्याइ दियो । उनले ठट्यौली पारामा भनिन् २८ उल्टिर ८२ त बनेन तर हाम्रो शक्ति भने १०२८ को जति बनेको छ ।

उनीमात्र बोलि रहँदा र हो मा हो मिलाउने अरु महिला तपाइँहरुले गरेका काम कुरा बताउन सक्नुहुन्न भन्ने सवाल झर्न नपाउँदै तत्काले ए ठूली जमुना, सानी जमुना तिमी पनि भन न भनिहालिन प्रेमकुमारी सुवेदीले । हैन को हो सानी ठूली जमुना भनेको ? प्रेमकुमारीले हाँस्न भ्याइसकेकी थिइनन् उपस्थित अरु सबै पो गलल हाँसे । किन यसरी हाँसेको ? उनैले भनिन् यहाँ चार ओटी जमुना छन् । एउटीलाई जमुना भन्यो अर्कीले हजुर भन्छिन् अनि चिन्नका लागि हामीले सानी ठूली माइली र छोरी जमुना नामले बोलाउने गर्छौँ । ठूली जमुना ५६ वर्षकी, माइली ४६ वर्षकी, सानी ३४ वर्षकी र छोरी जमुना २२ वर्षकी रहिछन् । हरियो वनको सिकाइ तालिमदेखि चार वटै जमुनालाई सबैले चिन्छन् ।

समुदायको आधारभुत आवश्यकता तथा अधिकार हननका सवालहरु पहिचान गरी बञ्चितीकरणमा परेका वर्गको अगुवाइमा तिनकै सशक्तिकरण र रुपान्तरणका लागि समुदायस्तमा स्थापना गरिने सिकाइ तथा कार्य केन्द्र नै सिकाइ केन्द्र हुन् । साताको एक दिन १६ हप्तासम्म सामुदायिक अभ्यास तथा संवादको थालनी विकास र विस्तार गरिन्छ । औपचारिक तथा अनौपचारिक स्थलमा विपन्न तथा सिमान्तीकरणमा परेका समुदायको आवश्यकता पहिचान गरी त्यो प्राप्तिका लागि समुदाय र सम्बन्धित निकायमा उनीहरु आधिकारिक संवाद गर्न सक्ने गरी पाठ्य सामग्री र तालिम सञ्चालन गरिन्छ । तालिममा सामाजिक विभेदीकरण विरुद्ध जागरुक बनाउँदै जैविक विविधता संरक्षण, दीगो भूपरिधि व्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन, लैंगिक समानता, सामाजिक समावेशीकरण तथा आन्तरिक सुशासनमा स्थानीय समुदायमा आयमूलक तथा रोजगारी अभिवृद्धि गर्ने सीप योजना बनाउँदै त्यसलाई कार्यान्वयन गर्न सक्ने बनाइन्छ ।

यही तालिमपछि फेदीखोलामा सामुदायिक तरकारी खेती सुरु गरिएको हो । छोरी जमुना पौडेलले भनिन् ‘०६९ चैत ८ गतेदेखि हाम्रो सिकाइकेन्द्रमा तालिम सुरु भयो । तालिमसँगसँगै हामीले आधा रोपनी जग्गामा सबैले सामुहिक खुर्सानी खेती सुरु ग¥यौँ । उसो त कुखुरापालन बाख्रा र निजी तरकारी खेतीमा पनि हरियो वनले दिएको ८० हजार घुम्ती कोषमा चिप्लेटी सामुदायिक वनले २० हजार थपिदियो र एक लाखको कोष बन्यो । कोषको पैसा हरियो वनको नियम अनुसार वितरण गरेपछि ऋण फिर्ता नगरेसम्म समूहको खातामा सुको नरहने भयो भन्ने सवाल समूहमा निस्कियो । वन समूहले पनि यसबाहेक अरु रुपैयाँ दिएर समूहको कोष बढाउन नसक्ने बतायो । त्यसो भए के गर्ने ? सिकाइ केन्द्रमा रहेकी हामीमध्ये एक महिलाले भनिन् हामी पनि मासिक जति सक्छौँ जम्मा गर्ने गरौँ न । उनले मासिक जम्मा गरेर लाखौँ रकम संकलन भएको आफ्नो माइतीगाउँको उदाहरण दिइन् । त्यसो भए हामी पनि त्यसै गरौँ न त ! मासिक बचत भनेर हामीले पनि त्यही दिनदेखि मासिक एक सय रुपैयाँ सिकाइ केन्द्रका सदस्यहरुले जम्मा गर्न थाल्यौँ ।

हरियो वन कार्यक्रमले दिएको बीउ पूँजी वितरण कसरी गर्ने भनेर हामीले चिप्लेटी सामुदायिक वनका १६३ घरधुरीको भेला डाकेर सदस्यहरुको बर्गिकरण ग¥यौँ । यस्तो सम्पन्नताको वर्गीकरण सबैलाई डाकेर क देखि घ वर्गसम्ममा सबैलाई वर्गीकरण ग¥यौँ । जसअनुसार कमा सबैभन्दा कम, खमा अलि बढी, गमा त्यसभन्दा बढी र घमा सबैभन्दा बढी अर्थात् सबैभन्दा कम धनी त्यसपछि बढीबढी हुँदै अीन्तममा सबैधभन्दा बढी विपन्न रहेको पत्ता लाग्यो । हामीले यही नै ठम्यायौँ, समूह भेलामा ।

त्यसपछि निम्न वर्गका छानेर २ वर्षलाई १० जनालाई निव्र्याजी ऋण दिएका छौँ र त्यसको अवधि आउँदो जेठमा २ वर्ष पुग्छ । त्यसपछि अरु विपन्नले यस्तै ऋण पाउँछन् । पहिलो ऋण पाउनमा बुद्धिमाया विकलाई कुखुरा पालन, हरिकला सुवेदीलाई भैँसी, गीता विक–देवी परियारलाई गिरिराज कुखुरा पालन, पदमकुमारी सुवेदी। कमला सुवेदी, भूमा सुवेदी, तारा जिटी, सन्तबहादुर मेजर र लक्ष्मी सुवेदीलाई बाख्रापालन निम्ति दश दश हजार रुपैयाँ लगानी गरेका छौँ ।

माथिका ऋण लिने बाहेक समूहका अरु सबै सदस्य मिलेर सामुहिक खेती गर्न तालिम अवधिमा नै आधा रोपनी जमिन खनजोत गर्यौँ । खुर्सानीको बीउ राख्यौँ र अन्तमा खुर्सानी रोप्यौँ । हामीले १७ सय जातको खुर्सानीको बीउ पुतली बजारको एग्रोभेटमा गएर ल्यायौँ । गज्जबसँग फल्यो खुर्सानी । खुर्सानी उत्पादन गरिसकेपछि केराउ लगायौँ, त्यही जमिनमा । त्यसपछि अदुवा रोप्यौँ । खुब फल्यो अदुवा पनि । त्यसपछि हामी हौसियौँ बढी क्षेत्रफलमा तरकारी खेती गर्न ।

प्रकाशित मिति : 6 जनवरी 2020, सोमवार
प्रतिक्रिया दिनुहोस