महिलाहरुका लगि नेतृत्व विकास तालिम

काठमाण्डौ – सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)ले जलवायु परिवर्तन र नेतृत्व विकास तालिम काठमाण्डौमा सम्पन्न गरेको छ । काठमाण्डौमा आयोजना गरिएको २ दिने कार्यक्रममा देशका विभिन्न जिल्लाका फेकोफन राष्ट्रिय कार्यसमितिका महिला सदस्यको सहभागिता रहेको थियो ।

कार्यक्रमको पहिलो दिनमा गएको शनिबार सामुदायिक वन कसरी विस्तार गरियो, जलवायु परिवर्तनको सामना गर्न सामुदायिक वनको भुमिका, सामुदायिक वनबाट कसरी के आर्थिक गतिविधि गर्ने अथवा अर्थिक उपार्जनको स्रोत सामुदायिक वनलाई कसरी बनाउने र महिला नेतृत्वका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा फेकोफनकी अध्यक्ष भारती पाठकले महासंघको अवस्थाको बारेमा बताएकी थिइन् । उनले महासंघ स्थापित गर्न गर्नुपरेका संघर्ष र महिला नेतृत्वका बारेमा चर्चा गरेकी थिइन् । यस्तै, कार्यक्रममा केन्द्रीय महासंघका सचिव ठाकुर भण्डारीले वनका नियम, कानुन, ऐनका बारेमा चर्चा गरेका थिए ।

यस्तै कार्यक्रमको दोस्रो दिनमा नेतृत्व विकास कसरी गर्ने भन्ने विषयमा कार्यक्रम केन्द्रीत भएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर तथा सामुदायिक वनका अभियन्ता घनश्याम पाण्डेले महिला नेतृत्वको विकास र असल नेता कसरी बन्ने भन्नेबारेमा चर्चा गरेका थिए । कार्यक्रममा असल नेता कसरी बन्ने भन्नेबारेमा सहभागीबीच छलफल पनि गरिएको थियो ।

यसैगरी कार्यक्रममा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका प्रवक्ता तथा सह–सचिव डा. सिन्धु ढुंगानाले पनि महिला नेतृत्व र सामुदायिक वनमा महिलाले गरेको नेतृत्वको प्रशंसा गर्नुका साथै अझ महिला नेतृत्व कसरी वृद्धि गर्ने भन्ने बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : 27 जनवरी 2020, सोमवार
प्रतिक्रिया दिनुहोस