चितवन (कोराक), मङ्सिर ४ । एउटी सामान्य चेपाङ समुदायकी महिला । त्यसमाथि लेखपढ नगरेकी । तर वन संरक्षण र समुदायको अधिकारका लागि कस्तो हुटहु्टी भने घरका कुखुरा र बाख्रा समेत बेचेर गाडी भाडा जुटाउन पछि नपर्ने । यो कथा हो, संघर्षशील महिला वनमाया चेपाङको ।
कुरा वि.सं.२०५४ सालको हो । त्यो समय उहाँको लागि कम चुनौतीपूर्ण थिएन । समाजको त कुरै छाडौँ, परिवारले पनि सुरुमा उहाँको क्रियाशीलता रुचाएको थिएन् । राप्ती नगरपालिका वडा नम्वर १० कोराककी ५१ वर्षीय वनमाया चेपाङलाई ती दिनहरुको याद अहिले पनि झलझली आउँछ ।
जतिबेला कोराकमा सामुदायिक वन गठन गर्ने कुरा चलिरहेको थियो । २०५० सालदेखि सामाजिक काममा सहभागी बन्दै आउनुभएकी उहाँले चोरीनिकासीबाट नासिँदै गएको वनलाई सामुदायिक वनका रुपमा संरक्षण गर्नुपर्छ भनेर निरन्तर अभियान चलाउनुभयो ।
त्यहाँका जनताको एकरुपता आइसकेपछि सत्यदेवी सामुदायिक वनका रुपमा हस्तान्तरण गर्न उहाँ लगायतले दुई वर्षसम्म संघर्ष गर्नुपरेको थियो । आफ्नो नीजि खर्चमा जिल्ला वन कार्यालय धाउने गरेको चित्र उहाँको मानसपटमा ताजै छ । “कहिले भाडा जुटाउन कुखुराको भाले बेचेर त कहिले बाख्रा बेचेर रकम जुटाउने गरिन्थ्यो,” ती दिनहरु सम्झँदै उहाँ भन्नुहुन्छ, “ जातीय आधारमा विभेद त थियो नै, त्यसमाथि महिला भएकै कारण यसले के गर्न सक्छे र ? भन्ने मानसिकताले हामीलाई दबाउन खोजिन्थ्यो ।”
तर उहाँको सक्रियता घटेन । बरु झन बढ्यो । २०५६ सालमा उक्त सामुदायिक वन समुदायलाई हस्तान्तरण गरिसकेपछि बनेको ११ सदस्यीय समितिमा उहाँले कोषाध्यक्ष भएर आफ्नो भूमिका निर्वाह गर्नुभयो । सुरुवातमा वनको क्षेत्र निर्धारणका विषयमा जानकार नभएका त्यहाँका स्थानीयले गाउँको सीमाका आधारमा वनको क्षेत्र निर्धारण गरेको थियो ।
सामुदायिक वन बनाएपछि विशेष गरी वन संरक्षण र काठ तस्करी रोक्न महत्वपूर्ण योगदान पुग्यो । आदिवासीको प्रमुख बाहुल्यता रहेको उक्त क्षेत्रमा महिलाको तर्फबाट उहाँ नेतृत्वमा आइसकेपछि अन्य महिला पनि वन संरक्षणमा एकजुट हुन थालेका थिए ।
वनका काठदाउरा चोरी तस्करी नियन्त्रण गर्न उक्त समय पुरुष र महिलाको छुट्टा–छुट्टै समूह बनाएर हप्ताको एकपटक गस्ती जाने नियम बनाइएको थियो । सो समयको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “महिलाको पालो भएको दिन वनको अनुगमन नगरी हल्ला मात्र गरेर आउँछन् भनेर गाउँका पुरुषहरुले हामीलाई होच्याउने गर्थे, तर हामीहरु भने क्रियाशील रुपमा दुई तीनजना महिलाको पुनः छुट्टा छुट्टै समूह बनाएर गस्ती गथ्र्याैं ।”
गस्तीका क्रममा तस्करसँग जम्काभेट हुँदा एकदिन उहाँमाथि आक्रमण समेत भएको थियो । आक्रमणबाट उहाँको दाहिने हात र दाहिने खुट्टामा गहिरो चोट लागेको लागेको थियो । तर उहाँ झन डटेर अघि बढ्नुभयो । आफुमाथिको आक्रमणपछि वन संरक्षणमा थप उर्जा मिलेको उहाँ बताउनुहुन्छ । गस्तीका क्रममा धेरै तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा समेत ल्याइएको थियो ।
त्यसपछि भएको वनको अर्काे साधारणसभाले उहाँलाई उपाध्यक्ष बनायो । उपाध्यक्ष भइसकेपछि उहाँलाई सामुदायिक वन जिल्ला महासंघमा जाने बाटो खुल्यो । जिल्लाको नेतृत्वमा जाने क्रममा उहाँले थुपै्र चुनौतीको समेत सामना गर्नुभएको थियो । जिल्लामा जाने प्रस्ताव राख्दा महिला भएकै कारण नेतृत्व गर्न नसक्ने भन्दै उहाँको प्रस्ताव अस्विकार गरिएको थियो । तर जिल्लामा गएर काम गर्न सक्छु भन्ने उहाँको आँट थियो ।
जिल्लामा गइसकेपछि पनि उहाँलाई कोषाध्यक्ष बनाउनुपर्ने प्रस्ताव राख्नुभयो । तर उहाँको पढाइ नभएका कारण त्यो पदमा उहाँको योग्यता नपुन्ने ठहर अन्य महिला दाबेदारले नै विरोध जनाए । अनि उहाँले महिला भएर महिलाकै विरोध गर्न नहुने भनाई राखेपछि कोषाध्यक्षमा नियुक्त गरिएको थियो । जिल्लाको कोषाध्यक्षमा उहाँले तीन वर्ष बिताउनुभयो ।
जिल्लामा पनि नेतृत्वका क्रममा जातीयता आधारमा उहाँलाई धेरै नै विभेद गरियो । जिल्लाको महत्वपूर्ण बैठकमा समेत उहाँलाई बोलाइँदैनथ्यो । जति नै विभेद भए पनि आफू सधैं काममा तत्पर भएर लागेको उहाँको भनाई छ ।
निरन्तरको सक्रियताले २०६३ सालमा आइपुग्दा उहाँलाई केन्द्रसम्म पुग्ने बाटो खुल्यो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको अधिवेशनले जिल्लाका प्रतिनिधि पनि पठाउन अनुरोध गरेको र कसलाई प्रतिनिधि पढाउने भन्ने विषयमा जिल्लामा बैठक समेत भइसकेको अवस्थामा उहाँलाई भने बैठकमा पनि बोलाइएन । पछि बाहिरबाटै थाहा पाएपछि उहाँले जिल्लामा फोन गरेर “के तपाईंले चेपाङ महिला भनेर हेप्नुभएको हो ?” भनेर आक्रोश व्यक्त गर्दै जिल्लाको कार्यशैलीको विरोध मात्रै गर्नुभएन, जसरी पनि आफूलाई केन्द्रीय अधिवेशनमा पठाउनुपर्ने माग राख्नुभयो ।
त्यसपछि उहाँलाई केन्द्रीय समितिको अधिवेशनका लागि सिफारिस गरिएको रहेछ । काठमाडौँमा भएको अधिवेशनले उहाँलाई केन्द्रीय सदस्यका रुपमा मनोनित गर्याे । हालसम्म पनि उहाँ महासंघको केन्द्रीय सदस्य हुनुहुन्छ ।
यहाँसम्मको संघर्षका क्रममा उहाँले सामाजिक मात्र नभई पारिवारिक रुपमा पनि थुप्रै समस्या झेलिसक्नुभएको छ । दुई छोरा र एक छोरी सानै भएकाले सामाजिक कामको लागि एकातिर समस्या त थियो नै अर्काेतिर उहाँको बुवाले श्रीमानलाई महिला घरभन्दा बाहिर गए भने बिग्रन्छन् भनेर भड्काएपछि मानसिक मात्र नभई शारीरिक यातना समेत भोग्नुपरेको नमिठो अनुभव छ वनमायासँग । त्यस्तै विभिन्न बैठकमा गएर आइसकेपछि श्रीमानले उहाँले बनाएको खाना समेत नखाने, बनाएको गुन्द्री जलाइदिने, गरेको काम समेत बिगारिदिने गर्नुहुन्थ्यो । तर उहाँको क्रियाशीलताले समाजमा इज्जत बढ्दै गएपछि श्रीमानले पनि बुझ्दै जानुभयो । अहिले त उहाँ आफंैले वनमायालाइ क्रियाशील हुन आग्रह गर्नुहुन्छ ।
चेपाङ बालबालिकाले पढ्न नपाएको समयमा वनको क्रियाशीलतासँगै मेलापात गरेर तीन सन्तानलाई पढाउनुभएको थियो । उहाँले छोराछोरीलाई पढाउन थालेसँगै त्यहाँका अन्य व्यक्तिले पनि पढाउन सुरु गरेका थिए ।
वनको संरक्षणमा लाग्ने क्रममा नै उहाँले प्रौढशिक्षा पढ्नुभएको थियो । त्यही पढाइले नै आज उहाँ नेपाली भाषा सामान्य लेखपढ गर्नसक्ने हुनुहुन्छ । त्यही पढाइले जिल्ला वन कार्यालयमा जागिरको अवसर समेत पाउनुभएको थियो । लिखित र अन्तर्वार्तामा समेत पहिलो नम्बरमा नाम निकाल्न सफल उहाँलाई छोराछोरी छोडेर जागिर खान श्रीमानले पठाउनुभएको थिएन । सो घटनाले उहाँ फेरि समस्यामा पर्नुभयो । फलस्वरुपः तीनदिनसम्म उहाँ बेहोस नै हुनुभयो ।
बनमाया थप्नुहुन्छ, “सायद त्यतिबेला जागिर खान पाएको भए म प्रशासनिक रुपमा पनि धेरै माथि पुगिसक्ने थिएँ ।” जे जस्तो भए पनि आफूले गरेको सामाजिक कामबाट आफू निकै सन्तुष्ट रहेको बताउनुहुन्छ । आज वनमायाकै नामबाट उहाँको परिवार मात्र नभई सिँगो कोराकलाई नै चिनाएको छ ।
पहिले घरगृहस्थीमा मात्र सीमित उहाँको समय सामाजिक काममा नै बित्ने गरेको छ । आजभोली उहाँको परिवारले आर्थिक उपार्जनका लागि व्यवसायिक तरकारी खेती र बाख्रापालनलाई जोड दिएको छ । पहिले गिठ्ठाभ्याकुर खाएर जीवन निर्वाह गर्ने बनमायाको परिवारले अहिले आफैँले धान, कोदो, मकै लगायतको उत्पादन गर्ने गरेको छ ।
वनका कार्यक्रम लगायत अन्य कार्यक्रममा समेत प्रमुख अतिथिका रुपमा आफ्ना अनुभव र संघर्षका कथा राख्ने अवसर उहाँले पाउनुभएको छ । उहाँ आफूले आफूलाई वनको संरक्षक भनेर चिनाउन रुचाउनुहुन्छ । सामुदायिक वन अभियानले संघर्षशील वनमायालाई आत्मविश्वासी र आत्मनिर्भर समेत बनाएको छ ।