जैविक विविधता संरक्षण र आयआर्जनमा ध्यान

२०६५ सालमा उपभोक्ता समुहलाई हस्तान्तरण भएको तनहुँको वन्दीपुर–४ स्थित जुमडाँडा झप्री सामुदायिक वन जिल्लाकै उत्कृष्ठ र नमुना वनका रुपमा विकास भएको छ । ६४.६४ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनमा १०३ घरधुरी उपभोक्ता आवद्ध छन् ।

उनीहरु सबैले आलोपालो मिलाएर वनको रेखदेख र हेरचाह तथा अनुगमनको कार्य समेत गर्दै आएकाले वन हराभरा भएको छ । जैविक विविधता संरक्षणमा यो समुहले गरेको काम अब्बल बनेको छ । समुहको जिम्मामा आउनुअघि वन रातो डाँडा बनेको थियो । जथाभावी फडानीले रुखहरु सकिँदै गएका थिए ।

तर जब उपभोक्ताले संरक्षणको जिम्मा लिए, त्यसपछि वनको स्तर सुधारिँदै गयो र अहिलेको अवस्थामा आएको छ । त्यसका लागि उपभोक्ताहरुले बिरुवा जोगाउने, वृक्षरोपण गर्ने, वन डढेलो नियन्त्रण गर्ने, अग्निरेखा निर्माण लगायतका कैयौं घछ कामहरु गरेको समुहका अध्यक्ष दिलबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

आयआर्जनका काममा विशेष प्राथमिकता दिएर काम गरेको समुहले स्थानीय श्रोतसाधनको उपयोग र महिलाहरुको आम्दानीमा पहुँच बढाउने उद्धेश्यले दुना टपरी उद्योग सञ्चालन गरेको छ । त्यसबाट खेरजाने सालका पातहरुको उपयोग गरेर केही मात्रामा भएपनि आय भएको छ । हाल उद्योग सञ्चालनको जिम्मा उपभोक्तालाई दिइएको छ ।

यस्तै घुम्तीकोषबाट दुई दर्जनभन्दा बढी घरधुरीले लाभ लिएर विभिन्न व्यवसाय गरेका छन् । बंगुर, मौरी, कुखुरा र बाख्रापालनका अलावा तरकारी खेतीमा पनि कोषको रकमबाट उपभोक्तालाई सहयोग गरिएको छ ।

विपन्नताको स्तरीकरण गरेर गरिबी न्यूनीकरणमा सघाउने उद्धेश्यले परिचालित घुम्तीकोषबाट सहयोग पाउँदा उपभोक्तालाई सानै लगानीमा काम गर्ने आत्मविश्वास बढेको छ । सामुदायिक वन र हरियो वन कार्यक्रमले उपभोक्तालाई व्यवसायिक बंगुरपालनमा सघाएपछि लाहुरे जीवनबाट उद्यमी बन्दै गर्नुभएका तिलकबहादुर मगर लगायत धेरैले यो पेशा अपनाएका छन् ।

उहाँको अनुभव छ– सामुदायिक वन हामीजस्ता निम्नमध्यम वर्ग, गरिव र विपन्नलाई सघाउँदै उद्यमी बनाउन प्रेरक हुँदो रहेछ । मैले विदेशबाट फर्केर काम थालेपछि यो कुरा थाहा पाएको हुँ । विदेशमा अर्काको काममा पसिना चुहाउनुभन्दा त यो काम कति हो कति राम्रो ।’ सामुदायिक वनले संरक्षणमा पनि उपभोक्तालाई सक्रिय बनाएको छ ।

उनीहरुलाई वन फडानी, चोरी तस्करी गर्छ कि भन्ने चिन्ता हुने भएकोले संरक्षणमा धेरै राम्रो बल पुगेको समुहकी पूर्व अध्यक्ष लक्ष्मी रानाले बताउनुभयो । समुहले चोरी तस्करी नियन्त्रण उपसमिति नै बनाएको छ । अनुगमन समिति समेत छ । योजना अनुसार काम भए नभएको अनुगमन हुने भएकोले सामुदायिक वनको काम पनि राम्रो भएको छ ।

पहिला–पहिला मानिसहरु आफूलाई चाहिँदा जतिबेला पनि वन काट्न पाउनुपर्छ भन्थे । त्यसैले वन फडानी भएका थिया े े । तर सामुदायिक वनका रुपमा हस्तान्तरण र संरक्षण भएपछि वनको अवस्था धेरै सुधार भएको घट छ । रुखहरु ठूलाठूला भएका छन् । हराभरा वन देखेर उपभोक्ताहरु धेरै खुसी छन् ।

सामुदायिक वन भनेको घाँसदाउराका लागि मात्रै होला, स्याउला पातका लागि होला भन्ने ठान्नेहरुलाई विस्तारै बुझाउँदै लगिएकोले सामुदायिक वन, फेकोफन त स्थानीय जनताका हितैषी रहेछन् । गरिबी निवारणको अभियान रहेछ ।

आयआर्जन गर्न सिकाउने, चेतना सिकाउने र महिलालाई त झन अघि बढ्न धेरै तरिकाले सघाउने रहेछ भन्ने धेरैले बुझेका छन् अचेल गाउँमा ।’ उपभोक्ता समुहले जैविक विविधता संरक्षणका लागि वनमा पानीको मुल जोगाउने र पोखरी बनाउने काम गरेको छ । बर्षातका बेला आउने पानी संकलनका लागि २ वटा सुख्खा पोखरी समेत निर्माण गरिएको छ ।

यसैगरी महिला सशक्तिकरण गर्दै नेतृत्व विकास गर्ने उद्धेश्यले नेतृत्व विकास, लैङ्गिक हिंसा अन्त्य सम्वन्धी तालिम गदै आएको छ । तालिमले आफ्ना अधिकार खोज्न तथा आफूलाई लागेका कुरा निर्धक्कले राख्न उपभोक्तालाई सघाएको छ ।

जलवायु परिवर्तनका असरबारे सचेतना जगाउन होस् वा वनको दीगो विकास र जंगल भनेको रुखबिरुवा, घाँसपात मात्रै हैन, अधिकार र सम्वृद्धिको पक्षधर पनि हो भन्ने चेतना सामुदायिक वनले उपभोक्तालाई दिएको छ । वनमा वृक्षरोपण गरिएका तेजपातले आम्दानी दिन थालेको छ ।

एकघर एक बिरुवा अभियान चलाईएकोले घरघरमा वा बारीका ढिक, कान्लामा बिरुवा हुर्केका छन् । तेजपात आम्दानीको श्रोत बन्दै गएको छ । बन्दीपुर पर्यटकीय आकर्षणको गन्तव्य स्थल पनि हो । त्यसैले जुमडाँडा झप्री सामुदायिक वनले पर्यापर्यटनको सम्भावनालाई ध्यानमा राखेर योजनाहरु बनाउँदै छ ।

वनमा पर्यटक आकर्षित गर्न पिकनिक स्थल बनाउने, होमस्टे चलाएर आयआर्जन बढाउने र रोजगारीका अवसर सिर्जना गरेर गाउँको विकासमा समेत टेवा पु¥याउने लक्ष्यसहित काम भैरहेको समुहकी पूर्व अध्यक्ष रानाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 30 अगस्ट 2021, सोमवार
प्रतिक्रिया दिनुहोस