वन संरक्षणदेखि वन अभियन्तासम्म

वेदप्रसाद पन्थ, बुटवल । जब भगवान् रामचन्द्रले हनुमानजीको सहायताले लङ्का विजय गर्नुभयो त्यसै अवस्थामा हनुमानले भगवान्लाई भने— ‘‘हे भगवन् ! यो लङ्का वातावरणीय र सुन्दरताको हिसाबले पनि अत्यन्त महनीय रहेछ, अतः हजुरले यही बसेर राजकाज चलाउने व्यवस्था गर्नुप¥यो, अयोध्यामा हजुरका भाई भरतले नै राजकाज चलाउनुहुन्छ’’ हनुमानजीका यस्ता कुरा सुनेपछि भगवानले भन्नुहुन्छ — अपि स्वर्णमयी लङ्का लक्ष्मणेनाऽपि रोचते । जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ।। – अर्थात् यो सुवर्णमय लङ्का जति महनीय भएपनि मेरा भाइ लक्ष्मणलाई पनि यहाँ बस्ने मन छैन भने मेरो त कुरै नगर किनभने जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि धेरै गरीष्ट हुन्छन् ।

त्यसैले अब छिटै यहाँ विभीषणको राज्याभिषेक गर्ने व्यवस्था गरेर हामी अयोध्यातर्फ लाग्नुपर्छ, । मानिसको कर्तव्य भनेको जन्मदिने आमा र जन्मभूमिको सेवा गरी आफनो कर्तव्य पालन गर्नु हो, सम्पत्ति र राज्यको लोभमा फस्नुहँुदैन । यो कथा मैले सानै उमेरमा वेद पढ्न शुरू गर्दा एकजना गुरुबाट सुनेको थिएँ ।

यस कथाको छाप मेरो दिमागमा निकै राम्रोसँग परेको थियो । आज पनि यस कथाको प्रभाव उत्तिकै छ र मैले आज जे काम गरिरहेको छु आफ्नो क्षमताअनुसार आफ्नो मातृ भाषा र भूमिलाई सम्झेर नै गरिरहेको छु ।

मैले पुर्वोक्त देशभक्तिपूर्ण कथालार्इृ आत्मसात गरेर नै मेरो जीवनको अधिकांश समय व्यतित गर्दै आएको छु र आज पनि यसले मलाई प्रेरणा प्रदान गरिरहेको छ । मानिसले शारीरिक वा मनासिकरूपले क्रियाशील नभैकन एक दिन पनि विताउनु हुँदैन । धर्मशास्त्रमा उल्लेखभए अनुसार मानिस विना काम खाने र सुत्ने ग¥यो भनेदेखि उसले आफ्नो आयु क्रमशः घटाउँदै लगेको हुन्छ ।

अतः हामीहरूले आफ्नो कर्तव्यलाई ख्याल गर्दै शरीरलाई सधै क्रियाशील वनाइराख्न पतञ्जली योगको नियमित अभ्यास गर्ने गर्नुपर्छ र मात्र हाम्रो जीवनको अर्थ पूर्ण हुन्छ । पतञ्जली योगले हामीलाई निरोगी र दीर्घजीवि बन्ने अवसर प्रदान गर्नुको साथै कर्म क्षेत्रमा पनि विशेष क्षमता प्रदान गर्दछ ।

म उन्निसौं शताव्दीमा नेपालको पिछएिको जिल्ला र गाँउमा जन्मेको मानिस हुनाले वनारसमा गएर थोरै छात्रवृत्तिको भरमा रही विभिन्न कठिनाइलाई पार गर्दै संस्कृत साहित्य र केही अंग्रेजी समेत अध्ययन गरेपछि २०२२ साल देखि नै आफ्नो जन्मस्थल दिगाम भन्ने गाँउमै निमावि स्थापना गरी म आफै प्र.अ.भै सञ्चालन गर्न शुरू गरेको थिएँ यद्यपि त्यो भन्दा पहिले मेरो विद्यार्थी कालमा २०१७ सालमै त्यस स्कूलको प्रावि स्तर स्थापना गर्दा पनि प्रथम भूमिका मेरै रहेको थियो । पछि त्यस्को स्तर वृद्धि गर्न पनि मेरो नै भूमिकाले काम गरेको हो । कुनै पनि संस्था स्थापना गर्न मनले संकल्प गरेमा कठिनाई हुँदैन ।

त्यसलाई सुचारु गर्न धेरै त्याग र तपस्याको खाँचो पर्दछ त्यसैले स्कूलको स्तरवृद्धि र गाँउको सर्वाङ्गिण विकासको लागि मैले स्वयंसेवकको रूपमा आफ्नो सम्पूर्ण समय लगाउने विचार गरि २०२२ सालदेखि नै सामाजिक काममा हात बढाउँदै जाने क्रममा वातावरण संरक्षणको लागि गाउँमा पहिले मासिक प्रति कुरिया पचास पैसा र तीन वर्षपछि मासिक प्रति कुरिया रू एक का दरले रकम उठाएर त्यही रकमबाट सबै जङ्गलको रेख देख गर्न गाउँमा चिताईदार भनेर चिनिने एकजना वनपाले राखेर वनको संरक्षण गर्ने कामको प्रारम्भ गराउनेमा विशेष भुमिका निर्वाह गरेको थिएँ । त्यसैले हाम्रो गाउँमा रहेका जङ्गलहरू हराभरा र घनीभूत थिए ।

पछि तत्कालीन सरकारको तर्फबाट पञ्चायती वन र पञ्चायत संरक्षित वनको अवधारणा आएपछि सोही अनुसार वन व्यवस्थापन गर्दै अन्य सामाजिक काममा अलि व्यस्त हुन थालेर अध्यापन सम्वन्धि काम छोडी गाउँको सँपूर्ण वागडोर आफ्नै हातमा लिएर गाँउकै काममा भीड्न थालेको हूँ । २०२२ साल देखि नै तत्कालीन पञ्चायतका प्रधान पञ्चहरूले उनीहरू कम शिक्षित भएकोले मेरै सल्लाह र सुझावमै काम गर्ने गरेका थिए ।

२०३८ सालको पञ्चायति निर्बाचनमा म प्रधानपञ्च भएपछि गाउँमा खानेपानीको व्यवस्था गर्ने क्रममा एकजना स्वीस इञ्जिनीयर ‘हेनी’ गाँउको खानेपानीको सर्वेक्षण गर्ने शिलशिलामा दिगाममा आएका थिए । (यो खानेपानी योजना मेरै पहलमा संघर्ष गरेर स्वीस प्रोजेक्ट अन्तर्गत स्वीकृत गराई सञ्चालन गरिएको थियो) । हाम्रा खाने पानीका मूलहरू देखि माथी खाली चौर र भिर मात्र थियो र त्यहाँ एकमात्र आप को रूख थियो ।

यस्तो अवस्था देखेपछि हेनीले मलाई वोलाई तपाई जस्तो टाठो मानिसले यो यौटा आँपको रूख पनि नकाटेर किन राख्नुभएको छ ? भनेर व्यङ्ग््य प्रस्न गरे । यो प्रस्नले मलाई अवाक् बनायो । तत्काल मैले कुनै प्रतिक्रिया जनाइन । तर यस घटनापछि मैले मन मनै तत्कालीन गाँउपञ्चायत अन्तर्गतका सम्पूर्ण खाली जमीनहरूमा वृक्ष रोपण गरेर हरियाली वनाई छाड्ने संकल्प भनि गरेको थिएँ ।

हेनीका वचनले मलाई निकै छोएको थियो भने स्वास्थ्य र सरसफाइको सवालमा पनि उनले एउटै कुराले सजग वनाएका थिए । हाम्रो गाँउमा २०४० सालसम्म कुनै पनि घर्मा चर्पी निर्माण भएको थिएन । हामीले हेनीलाई लिएर गाँउका टोल टोलमा निर्माण गरिने धाराहरूको सर्वे गरी सकेर साँझ पख तत्कालीन दिगाम गाउँपञ्चायत ९ नं वार्डको घलाम कालिकास्थानको चौरमा विश्राम गरी वसेका थियौं । यही समयमा हेनीले दिउस टोल टोलमा हिड्दा दुर्गन्धले पीडित भएका कारण हामी सबैलाई संगै बसालेर तपाइँहरूले घरमा विरालो पाल्नुभएको छ छैन ? भनेर प्रस्न गरे । उनले यस्तो प्रस्न गरेको सुनेर हामीरू धेरै जना अलमलमा परेका थियौं ।

उन्को यस्तो प्र्रस्न सुनेपछि काममा अत्यन्त कर्मठ तर छिटो वोल्ने आदत भएका भू.पू.प्र.पं. नारायणप्रसाद.पोखरेलले हामीले घर घरमा विराला पाल्छौं सर ! मेरो घर्मा त आजकल विराली ले बच्चा जन्माएर हुर्की पनि सकेका छन् । हजुरलाई चाहिएमा टक्र्याउन सक्छु भनेर एकै सासमा भने । यस्को प्रत्युत्तरमा उनले भन,े विरालो जनाबर हो तापनि आफ्नो दिसा लुकाउँछ, तपाँइहरूले देख्नुभएको छ कि ? छैन ।

यो कुरा सुनेपछि पोखरेल संगै हामी पनि लाजले भुतुक्क भएका थियौं । त्यसपछि त्यसदिन रात परिसकेको हुनाले हामीहरू सवै आ—आफ्नो घरतिर लाग्यौं । तर अर्को दिनदेखि नै हामीले वैठक्र गरेर घर घरमा चर्पी निर्माण गर्ने अभियान शुरू गरेका थियौं । यसै कारणले गुल्मी जिल्लाका ७९ गाविस मध्येमा सब भन्दा पहिले दिगामलाई खुला दिसा मुक्त गाविस वनाउन सफल भएका थियौं ।

गाँउमा खानेपानीको काम, स्कूल विल्डिंग निर्माणको काम र कच्च्ािवाटाहरू सुगम वनाउने काम शुरू गरेपछि मैले वृक्षरोपण कार्यक्रम सञ्चालनको लागि जिल्ला वन कार्यालयमा गै निवेदन दिएर गाँउमै नर्सरी कार्यक्रम सञ्चालन गरेको थिएँ । यसपछि प्रत्येक बर्ष नर्सरीवाट उत्पादित विरुवा लगाउन थालेपछि हाम्रो गाविस मात्र नभई छिमेकी गाविसमा पनि हाम्रै नर्सरीवाट उत्पादित विरुवा वितरण गरेर हरियाली वनाउने काम शुरू भएको थियो ।

यसरी नर्सरी निर्माण र वृक्षरोपण कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गरेको हुनाले २०४२ सालमा जिल्ला वन कार्यालय गुल्मीले, आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत गराइने वन अध्ययन भ्रमण कार्यक्रममा मलाई सहभागी हुने अवसर प्रदान गरेर लुम्बिनी, गण्डकी र वाग्मती अञ्चलका अधिकांश जिल्लामा रहेका राष्ट्रिय वन र वृक्षरोपण क्षेत्र समेतको अध्ययन भ्रमण गर्ने अवसर दिलाएको थियो । यस भ्रमणमा म नै टोली प्रमुख भएकोले वन तथा भू संरक्षण मन्त्रालय काठमाडौंमा आएर हाम्रो भ्रमणको उद्देश्य र उपलव्धी वारेमा अन्तर्वार्ता दिने अवसर पनि प्राप्त गरेको थिएँ ।

यसपछि मैले वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा अरू जागरुक भएर काम गर्न शुरू गरेकोले नै तत्कालीन जिविस गुल्मीले मलाई वन र वातावरण विभागको संयोजक वनायो । त्यसपछि जिल्लाकै वन र वातावरणमा चासो दिएर काम गर्दा—गर्दै जिल्लामा सक्रिय भई सामाुदायिक वन उपभोक्ता समूहहरू गठन र समूहलाई हस्तान्तरण गर्ने काममा पनि तदारुकताका साथ लागी परेको थिएँ भने मैले गुल्मीलाई सावउमको केन्द्रीय संगठनमा आबद्ध गराउने विचारले काठमाडौं जाने सोच बनाईरहेको पनि थिएँ ।

यसै क्रममा एक दिन पाल्पा छहरा निबासी मेरा बहिनी ज्वाई मीनप्रसाद न्यौपानेसँग भेट हुँदा पाल्पा जिल्ला, सा.व.उ.महाँसंघ केन्द्रमा आबद्ध भैसकेको र वहाँ पनि पाल्पा जिल्ला कार्यसमितिमा अध्यक्ष भएर काम गरिरहेको जानकारी पाएपछि उहाँसँग मैले गुल्मी जिल्लालाई पनि महासंघमा आबद्ध गराउने कुरा गरेको थिएँ । त्यही भएर केन्द्रीय संस्थापक अध्यक्ष हरिप्रसाद न्यौपाने पाल्पा आएको अवसरमा वहाँहरू दुई जनाको वीचमा गुल्मीमा पनि महासंघको संगठन विस्तार गर्ने कुरा भएका रहेछन् ।

म यस समयमा पनि गा.वि.स.को अध्यक्ष भएकोले तंघास जिल्लासभामा सहभागी भएको थिए यही समयमा तम्घास दूरसञ्चार कार्यालयमा मेरो नाममा फोन आएको सूचना पाएर उक्त कार्यालयमा गएर फोन उठाएको थिएं । (कारण त्यस समयसम्म गुल्मीमा मोवाइल फोनको सुविधा थिएन) । यो फोन कल अध्यक्ष न्यौपानेले पाल्पाबाट काठमाडौं फिर्ता भएपछि गर्नुभएको रहेछ । मसँग कुरा हुँदा गुल्मीमा पनि संगठन विस्तार गर्ने कुरा गर्नुभयो । म काठमाडौंमै गएर महासंघमा आबद्ध हुन तयार भएको मानिसलाई उतैवाट जानकारी फोन आँउदा निकै खुशी लागेको थिएँ ।

हरि न्यौपाने र मेरो फोन संपर्कमा भएको निर्णयअनुसार २०५६ साल फाल्गुण १७ गते गुल्मीको तत्कालीन क्षेत्र नं.२ दिगाम गा.वि.स.को वार्ड नं.२ श्रृङ्गा देउरालीमा एउटा भेला आयोजना गर्ने निर्णय भएअनुसार मैले गुल्मी जिल्लाका सामुदायिक वन उपभोक्ता समूहहरूलाई सूचना गरेको थिएँ र ठाकुर भण्डारीलाई पनि वोलाएर सँंगै उक्त भेलामा गएका थियौं । हरि न्यौपाने पनि १६ गते नै दिगाम गाउँमै आएर बस्नुभएको थियो । उहाँकै प्रमुख आतिथ्यतामा प्रथम भेला गरी एउटा सानो तदर्थ समिति गठन गरियो ।

त्यस समितिको अध्यक्षमा म वेदप्रसाद पन्थ र सचिवमा ठाकुर भण्डारी चयन भएका थियांै। त्यसदिन ११ वटा समूहका प्रतिनिधि मात्र जुटेका थिए । यसपछि लगत्तै २०५६ चैत्र १७ गते विरबास माविमा गुल्मी जिल्लाको वृहद् भेला सम्पन्न गरेर तदर्थ समितिलाई विस्तार गर्ने र तम्घास सदरमुकाममा कार्यालय स्थापना गर्ने निर्णय भएको थियो । यसपछि तंघासमा कार्यालय स्थापना गर्ने र उपभोक्ता समूहहरूलाई महाँसंघमा आबद्ध गराउने काम गरेपछि २०५७ साल श्रावण मा सामुदायिक वन र महाँसंघ सम्बन्धमा जानकारी मूलक तालिम केन्द्रीय महाँसंघकै सौजन्य र चुपबहादु्र थापाको प्रशिक्षणमा सञ्चालन गरेपछि संगठन अरू क्रियाशील भएर समूहहरूलाई आबद्ध गराउने कामले तीब्रता पाएको थियो ।

यसपछि २०५७ सालको पौष ७ र ८ मा महासंघ केन्द्रका अध्यक्ष र महासचिव क्रमसः हरिप्रसाद न्यौपाने र भीमप्रसाद श्रेष्ठको आतिथ्यतामा भव्य भेला गरी प्रथम जिल्ला संमेलन सुसम्पन्न भएको थियो । त्यस सम्मेलनवाट अध्यक्षमा म वेदप्रसाद पन्थ र सचिवमा ठाकुर भण्डारी सहित २१ जनाको ‘‘सामुदायिक वन उपभोक्ता महाँसंघ जिल्ला कार्यसमिति गुल्मी’’ निर्माण भएको थियो । यस समितिमा महाँसंघको विधान अनुसार ५० प्रतिशत महिलाहरू चयन हुनुभएको थियो ।

गुल्मीको कार्यक्रम सकेर अतिथिहरूको कार्यक्रम, अर्घाखाँची जिल्लामा गएर त्यहाँको पनि प्रथम जिल्ला संमेलन गराई काठमाडौ फर्कने भन्ने कुरा भएकोले म पनि उहाँहरूसँगै अर्घाखाँची जिल्लाको कार्यक्रममा सहभागी भई काठमाडौं गएर गुल्मीलाई महाँसंघ केन्द्रमा विधिवत आबद्ध गराई फर्केको थिएँ ।

गुल्मी जिल्ला महाँसंघले महाँसंघको विधानको परिधि भित्र रहेर अत्यन्त सक्रिय भई काम गर्न शुरू गरेको हुनाले जिल्ला महासंघ गुल्मीलाई अरू सचेत र सक्रिय गराउने उद्देश्य राखेर महाँसंघ केन्द्रकै सौजन्यमा अर्को एउटा एकहप्ते तालिम २०५७ सालमै सम्पन्न गरियो । त्यसपछि २०५८ सालमा महासंघ केन्द्रले सञ्चालन गर्ने ४५ दिने सहजकर्ता तालिममा महासंघ गुल्मीका सचिव ठाकुर भण्डारीलाई सहभागी गराउने अवसर प्राप्त भएपछि हाम्रो हौसला बढेर अरू जिल्लाभन्दा पछि आबद्ध भएको भए तापनि जल्दो—वल्दो र अग्रणी जिल्ला महासंघको रूपमा परिचित गराउन सफल भएका थियौं ।

यस क्रममा हामीले गुल्मी जिल्ला महासंको तर्फवाट सा.व.उ.म.कै इतिहासमा पहिलोपटक जिल्ला—स्तरीय पत्रकार संमेलन गरी सिङ्गो सावउम नेपाललाई मिडियामा ल्याउने कामको थालनी पनि गरेका थियौं भने गुल्मी विल्लामै ४५ दिने सहजकर्ता तालिम पनि सम्पन्न गरिसकेका थियौं ।

यसैगरी केन्द्रिय महासंघले सञ्चालन गर्ने गरेका राष्ट्रिय परिषद बैठक र राष्ट्रिय सम्मेलनहरूमा विधानले व्यवस्था गरे अनुसारको संख्यामा सक्रिय सहभागि हुन थाल्यौं । फलस्वरूप दोस्रो राष्ट्रिय संमेलन पछि म वेदप्रसाद पन्थ पश्चिमाञ्चल क्षेत्रिय समन्वय समितिमा सदस्यको रूपमा चयन भई क्षेत्रियस्तरमा कामहरू पनि गर्ने अबसर प्राप्त गरेको थिएँ ।

यस शिलशिलामा वाग्लुङ जिल्ला निवासी तत्कालीन पश्चिमाञ्चल क्षेत्रिय समन्वय समितिका सदस्य सचिव रामबहादुर केसी र मेरो सक्रियतामा हामीले पश्चिमाञ्चल क्षेत्रमा पनि विभिन्न ठाँउमा क्षेत्रीयस्तरका तालिमहरू संगै गैडाकोटमा मेरै प्रस्तावअनुसार पश्चिमाञ्चलस्तरीय दुई दिने पत्रकार सम्मेलन गरी सावउम नेपालका सम्पूर्ण गतिविधि र यसको महत्त्वको विषयमा जानकारी गराएपछि सा.व.उ.म.का केन्द्र सहित देशै भरका महासंघका कामहरू मिडियामा आउन थालेका थिए र महासंघ राष्ट्रव्यापी रूपमा स्थापित र परिचित भएको हो ।

जिल्ला महासंघ गुल्मीले केही कामहरू आफ्नै पहल र सोंचमा पनि गर्ने गरेका कारण केन्द्रवाट विविध प्रकारका तालिमे कार्यक्रमहरू सञ्चालन गर्नुको साथै गुल्मी र अर्घाखाँची जिल्लाका दुई दुई गा.वि.स गरी ४ गाविस. मध्ये अर्घाखाँची जिल्लाका मरेङ र अर्घातोष गा.वि.स.का ६ स्थान र गुल्मी जिल्लाका अर्खले र नयागाउँका ६ स्थान गरी १२ स्थानमा दुई बर्षे महिला साक्षरता कक्षा सञ्चालनको लागि महिला सहजकर्तालाई महिला साक्षरता, नेतृत्व विकास, आय आर्जन र प्रजनन स्वास्थ्य सम्बन्धि तालिम दिई मासिक भत्ता उपलब्ध गराई सहजीकरण गर्न नियुक्ति दिएर कार्य सञ्चालन गराउन शुरू गरिएको थियो ।

दुवै जिल्लाको त्यस कार्यक्रमलाई सुसञ्चालन गर्ने जिम्मेवारी पनि म आफैले प्राप्त गरेको थिएँ । कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सहजकर्ताहरूलाई पुनर्ताजगी तालिम पनि दिने गरिएको थियो । यो कार्यक्रमले गुल्मी र अर्घाखाँची जिल्लामा महासंघको अत्यन्त सकारात्मक प्रभाव परेको थियो भने महासंघ गुल्मीको पनि शिर ठाडो भएको थियो ।

यतिञ्जेलसम्म करिब ६ बर्ष विति सकेका थिए र जिल्लाका सचिव ठाकुर भण्डारी केन्द्रीय प्रशिक्षक वनिसक्नुभएको थियो । मलाई थाहा छ एकहातले ताली बज्दैन–आफू केन्दी्रय प्रशिक्षक भएर काम गर्न शुरू गरे तापनि जिल्ला महासंघलाई सबल गराउने काममा उहाँको योगदानले मेरो सक्रीय चिन्तनमा निकै उर्जा भरेको थियो । त्यसैले पनि गुल्मी जिल्ला महासंघले महासंघ केन्द्र मार्फत् सञ्चालन गर्ने गरेका अधिकांश कार्यक्रमहरू केन्द्रीय सहयोगमै सञ्चालन गर्ने महत्त्वपूर्ण अवसर प्राप्त गरेको थियो ।

मैले २०६० सालदेखि वुटवलतर्फ बस्न शुरू गरेको हुनाले २०६२ सालमा भएको महासंघ गुल्मीको दोस्रो संमेलनवाट जिल्लाको सम्पूर्ण जिम्मेवारी ठाकुर भण्डारीलाई दिएर मैले विदा लिएको हूँ । ठाकुर भण्डारी तेस्रो राष्ट्रिय संमेलनदेखि केन्द्रीय महासंघ को सदस्यमा चयन हुँदै आज पनि सचिवको रूपमा सक्रिय भै काम गरिरहनु भएको छ ।

तत्कालीन सावउम नेपाल जिल्ला शाखा गुल्मीको मेरो कार्यकालमा केन्द्रीय महासंघको तर्फवाट गुल्मी जिल्लामा आई जिल्ला महासंघका गतिविधिको अध्ययन गरेर महासंघ गुल्मीलाई सधै आर्थिक, भौक्तिक र बौद्धिक सहयोग पु¥याउनु हुने र गल्मीको कार्यभारपछि पनि महासंघ प्रतिको मेरो लगाव र सदासयताको मुल्यांकन गर्दै सावउम समेतले सञ्चालन गरेको जनयात्रा २०६४ मा मलाई पनि सहभागी हुने अवसर दिलाउनु भएकोमा सावउम नेपालका हस्तिहरू सर्बश्री हरिप्रसाद न्यौपाने, भीमबहादुर श्रेष्ठ, घनश्याम पाण्डेय, अप्सरा चापागाई र गणेश कार्की लगायत महासंघका केन्द्रीय पदाधिकारीहरूको सदासयताप्र्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछु ।

अन्तमा नेपाल सरकार वन तथा भूसंरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बबर महल काठमाडौंवाट २१ औं वन्यजन्तु सप्ताह २०७३ को पावन अवसरमा प्रदान गरिने कदरपत्र को निम्ति मेरो वन, वातावरण र वन्यजन्तु संरक्षण प्रतिको निस्वार्थ योगदानलाई मूल्याङ्कन गरी सिफारिस गर्ने सावउम नेपाल सम्पूर्ण सावउमका के्रन््रदीय पदाधिकारीहरू र सम्मान पूर्वक कदर पत्र प्रदान गर्ने नेपाल सरकारप्रति पनि हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु ।

यसैगरी २०७८ साल श्रावण २५ मा सा.व.उ.महासंघको सिफारिसमा नेपाल सरकारको तर्फबाट ‘‘सामुदायिक वन अभियन्ता’’ नामक सम्मान पत्र प्रदान गरिएकोमा नेपाल सरकारलाई र सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठक लगायतका सबै पदाधिकारीहरू समेतप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछु । साथै मेरो जीवन रहँदासम्म वन र वातावरण संरक्षणमा संलग्नता रहिरहने विश्वास दिलाउन पनि चाहन्छु ।

( लेखक सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ गुल्मीका संस्थापक अध्यक्ष हुनुहुन्छ)

प्रकाशित मिति : 2 सेप्टेम्बर 2021, बिहिवार
प्रतिक्रिया दिनुहोस