
कालिकोट जिल्लामा एउटा यस्तो सामुदायिक वन छ, जसले गाउँलेहरुलाई काम खोज्दै भारत वा खाडी मुलुक जान दिँदैन् । झट्ट सुन्दा यो कुरा अनौठो लाग्छ । तर सत्य के हो भने त्यो गाउँका कोही पनि अहिलेसम्म दुईचार पैसा कमाउने र घरखर्च चलाउने बाध्यताले विदेशिनु परेको छैन् ।
आखिर के छ गाउँमा त्यस्तो ? प्रश्न भुईंमा खस्न नपाउँदै तारा गिरीले प्रतिप्रश्न गर्दै भन्नुभयो–सामुदायिक वनले सिप सिकाएको छ, थोरैधेरै आर्थिक सहयोग गरेको छ भनेपछि किन जानु प¥यो भारत ?, रोजगारी गाउँमै छ ।’ आफ्ना उपभोक्तालाई गाउँमै स्वरोजगार हुन सघाएको, कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नम्वर ११ मा रहेको बरातु सामुदायिक वन उपभोक्ता समुहले हो ।
बरातुका कोहीपनि व्यक्ति अहिलेसम्म कामका लागि विदेशिएका छैनन् । २०५३ सालमा सामुदायिक वन बनेको यहाँका ६० घरधुरी समुहमा आवद्ध छन् । उनीहरु सबैले गाउँमै काम गर्छन् । सबै कृषिमै रमाएका छन् । द्धद्ध बरातुका बासिन्दाको मुख्य पेशा तरकारी तथा फलफूल हो ।
सुन्तला, उँखु लगायतका फलफूल र तरकारी खेतीमा रमाएका उपभोक्तालाई सामुदायिक वनले स्वरोजगार बन्न तालिम मात्रै दिएको छैन्, उनीहरुलाई सहुलियतपूर्ण आर्थिक सहयोग पनि गरेको छ । आवश्यक तालिम र सस्तोमा ऋण पाएपछि गाउँका सबैले आफ्नै कमाईले घरपरिवार चलाएका छन्, बरु छोराछोरीलाई काठमाडौं, सुर्खेत, नेपालगंजसम्म पठाएर प्राविधिक र स्तरीय शिक्षा दिएका छन् ।
त्यसैले त बरातु सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष तारा गिरीले निर्धक्कले भन्नुभएको हो, एकजना पनि भारत गएका छैनन्, गाउँमै काम गरेर रमाएका छन् भनेर । गिरी, भारती र रोकायाहरुको बस्ती यो गाउँको जनसंख्या करिब २ सय छ । अध्यक्ष गिरीले भन्नुभयो– सबैलाई गाउँमा काम पुगेको छ । धेरै कमाई नभएपनि खान लाउन र सामान्य शिक्षा स्वास्थ्यमा पैसाको दुख छैन् ।’ सामुदायिक वनले यहाँ नमुनाकै रुपमा काम गरेको छ ।
समुहले संरक्षणमा पनि उत्तिकै ध्यान दिएकोले वनको स्तर एकदमै राम्रो छ । खासगरी सल्लाको वन भएकोले यहाँ खोटो निकाल्ने काम हुन्थ्यो । तर २ बर्षयता वनलाई असर परेको भन्दै रोकिएको छ । कतैकतै अत्यधिक मात्रामा खोटो निकाल्दा वन विनास हुन थालेपछि सरकारले पनि कडाई गरेको छ ।
तर बरातुको सामुदायिक वन एकदमै राम्रो छ । ढलापढा रुखहरु बेचेर हुने आम्दानी समुहले वन संरक्षण र उपभोक्ताको आयआर्जनका काममै खर्च गर्छ । वृक्षरोपण तथा नर्सरी व्यवस्थापनमा समुहले विशेष ध्यान दिएको छ । त्यसैले वनको हैसियत पनि एकदमै राम्रो छ ।
अध्यक्ष गिरीका अनुसार वन कार्ययोजना अनुसार मात्रै त्यहाँबाट वनपैदावारको उपयोग गरिन्छ । त्यो भन्दाबढी संरक्षणमै उपभोक्ताहरुले चासो देखाउँछन् । घट्टेखोलाको बर्खे भेलले पहिरोको जोखिम बढाएपछि समुहले बाढीपहिरो रोक्न थप वृक्षरोपण समेत गरेको छ । सामुदायिक वनले गाउँको विकास र उपभोक्ताहरुको आयआर्जनमा सघाएकोमा सबै दंग छन् । त्यति मात्रै हैन, वन उपभोक्ता समुहकै पहलमा द्धछ महिलाहरुको कृषि समुह समेत गठन गरिएको छ ।
महिलाहरु तरकारी खेतीमा सक्रिय हुँदा उनीहरुको आयआर्जन त बढेको छ नै, आत्मविश्वास र आत्मनिर्भरता समेत धेरै बलियो भएको छ । जिल्ला सदरमुकाम मान्मा बजार करिब एक घण्टामा पुगिने र सडकको सहज पहुँच भएकोले पनि बरातुमा उत्पादित तरकारी र फलफूलले राम्रै मुल्य पाउँछ ।
‘महिला कृषि समुहले तरकारी खेती गर्छ, त्यसको आम्दानी महिलाहरुकै हुन्छ । अनि आफूलाई चाहिएका बेला निर्धक्कले खर्च गर्छन’् अध्यक्ष गिरीले अगाडि भन्नुभयो– सामुदायिक वनले तालिम दिएपछि सबै आत्मनिर्भर भए । पहिला सय, पचास पनि पाईंदैनथ्यो, महिलाहरु हेपिन्थे ।
तर अहिले त्यस्तो छैन् । आम्दानीले आत्मविश्वास दरिलो बनाएको छ ।’ आत्मनिर्भरताले गाउँमा चेतनास्तर समेत बढाएको छ । कुरितीका रुपमा व्याप्त छाउपडी प्रथा अन्त्य गर्न पनि सामुदायिक वनले सघाएको र आफूहरुले गाउँमा छाउगोठ भत्काउने अभियान चलाएपछि अहिले समस्या नभएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
उपभोक्ता समुहले महिलाहरुलाई सुत्करी ह े ुँदा पोषिलो खानेकुरा खान र स्वास्थ्य सेवामा पनि सघाउँछ, त्यसैले महिलाका दुख कम भएका छन् –उहाँले भन्नुभयो । हुनपनि छाउप्रथा जस्तो अमानविय र गलत परम्परा अन्त्य गरेर बरातुले अरुलाई पनि कुरिती अन्त्यका लागि सकारात्मक सन्देश दिएको छ ।
सामुदायिक वनको अगुवाई हुनु त झन राम्रो कुरा हो । यसले के पुष्टि हुन्छ भने, सामुदायिक वन उपभोक्ता समुहहरु वनका संरक्षण र उपयोगकर्ता मात्रै हैनन् । सामाजिक परिर्वतन र सचेतनाका संवाहक पनि हुन् ।
सामुदायिक वन उपभोक्ता समुहको काममा सक्रियता, वन संरक्षणमा अगुवाई र महिलालाई अघि बढाउन निरन्तर लागेकोले गाउँलेहरुले पनि गिरीलाई सबै काममा अघि सार्छन् । मैले त २०५२ सालमा सामुदायिक वन सम्वन्धी तालिम लिएर काम गर्न थालेकी हुँ नि–उहाँले भन्नुभयो– वन जोगाउने, भूक्षय हुन नदिन थप बिरुवा रोप्ने र गाउँको विकास गरेर कामका लागि कोही पनि बाहिर जान नपरोस् भन्ने अवस्था बनाउन म सधै सक्रिय हुनेछु । किनभने वन भए पो हाम्रो हित हुन्छ ।