पर्यटकीय वन, गाई र मौरी पालनबाट धन

चितवन जिल्लाको कालिका नगरपालिका वडा नम्वर २ साविक पदमपुर गाविसका पाँचवटा वडा समेटेको थाङखोला सामुदायिक वनले पशुपालन मार्फत उपभोक्तालाई आर्थिक रुपले सम्वृद्ध बनाउने र वन क्षेत्रलाई पर्यटकीय आकर्षणको गन्तव्य बनाउने अभियान तिव्र पारेको छ । १९९ हेक्टर क्षेत्रफलमा फैलिएको थाङखोला सामुदायिक वनमा १९४० घरधुरीका उपभोक्ताहरु आवद्ध छन् ।

उपभोक्ता समुहले वन संरक्षणसँगै पर्यटन विकास र पशुपालन मार्फत गाउँकै आयआर्जन र सम्वृद्धिमा योगदान गरेको छ । गाईपालन– खासगरी गाईपालनका लागि पदमपुर चर्चित भैसकेको छ । थाङखोला सामुदायिक वनले उपभोक्ताको आयआर्जन बढाउन भनेर शुरु गरेको गाईपालनले अहिले व्यवसायिक रुप नै लिएको छ । फेकोफन, हरियो वन लगायत विभिन्न संघसंस्थाले पनि सघाएपछि समुहको घुम्ती कोषमा ३८ लाख रुपैंया जम्मा भएको छ ।

त्यो रकम विना ब्याज उपभोक्तालाई उनीहरुको चाहाना र गरिबीको स्तर हेरेर गाईपालन, छण् मौरीपालन तथा अन्य पेशा व्यवसायमा लगानी गरिएको छ । समुहले उपभोक्तालाई बढीमा दुईवटा गाई किन्न १ लाख ४० हजार रुपैंयासम्म निव्र्याजे रकम ३ बर्षमा फिर्ता गर्ने गरि दिन्छ ।

यसले उपभोक्तालाई धेरै लाभ पुगेको र धान्नै गाह्रो हुने गरि माग भैरहेको समुहका अध्यक्ष कृष्ण भट्टले जानकारी दिनुभयो । सामुदायिक वनको सहयोगले करिब एक सय ५० घर उपभोक्ताले गाईपालन गरेर राम्रो कमाई गर्दै आएका छन् । समुहकै सहयोगमा २ वटा गाई किनेर पाल्न थालेकी केशरी देवकोटाले ७ वटा गाई पु¥याउनुभएको छ ।

यस्तै नरबहादुर श्रेष्ठले पनि व्यवसायिक रुपमै गाई पाल्दै आउनुभएको छ । हिजोआज गाउँमा फर्म नै दर्ता गरेर गाईपालनलाई व्यवसायकै रुपमा अघि बढाइएको छ । पदमपुर र जुटपानीका किसानले दुध बेचेर दैनिक रुपमा आम्दानी गर्छन् । उनीहरु डेरी उद्योगमा समेत आवद्ध छन् । सामुदायिक वनले गाईको बिमामा समेत सघाएको छ ।

यस्तै उन्नत घाँसखेतीमा सघाएर पशुपालनलाई थप प्रोत्साहन गरिएको छ । मौरीपालन– सामुदायिक वनले गरिब र विपन्न उपभोक्तालाई मौरी पालनमा पनि सघाउँदै आएको छ । पछिल्लो दुई बर्षमा मात्रै समुहले ४५ घरधुरी उपभोक्तालाई मौरीको घार दिएर सघाएको छ ।

गाउँकै मौरीसमुहसँग सहकार्य गरेर सामुदायिक वनले सघाएपछि केही उपभोक्ताले मौरी पालनलाई व्यवसायकै रुपमा अघि बढाएका छन् । एक घरलाई दुईवटा घार किन्नका लागि १४ हजार रुपैंया फिर्ता नलिने गरि अनुदान दिँदै आएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

गाई र मौरी पालनले उपभोक्ताहरुको आयआर्जन मात्रै बढेको छैन्, गरिबी न्यूनीकरणमा समेत योगदान पुगेको छ । पर्यापर्यटन– नेपालकै प्रसिद्ध पर्यटकीय गन्तव्य चितवनको सौराहाको नजिक भएकोले पनि छिमेकी सामुदायिक वनसँग सहकार्य गर्दै पर्यापर्यटनमा उपभोक्ता समुहले जोडदिएको छ ।

नगरपालिका र प्रदेश सरकारसँग मिलेर डीपीआर नै तयार गरिएको छ भने सात तले भ्यूटावर बनाईएको छ । यहाँबाट पूर्वी चितवनका धेरै भूभाग र वनजंगल तथा बाघ र छज्ञ गैडा समेत देख्न सकिन्छ । यसैगरी सामुदायिक वनमा प्रसस्तै सिस्नो पाईने भएकोले र पर्यटकहरु तान्ने योजनासहित होमस्टे सञ्चालनको तयारी भैरहेको छ ।

त्यहाँ ढिडो र सिस्नोको तरकारी खुवाउने लक्ष्य छ । यस्तै बाल उद्यान, वनभोज स्थल सञ्चालनमै छन् । वनभोजका लागि आन्तरिक पर्यटकहरु प्रसस्तै आउँछन् । आगामी दिनमा पर्यटक आकर्षणबाटै आम्दानी गरेर नमुनाका रुपमा थप काम गर्ने लक्ष्य समुहले राखेको छ ।

फलफूल र जडीबुटी– उपभोक्ताको आम्दानी बढाउनकै लागि सामुदायिक वनको करिब ५ बिगाहामा तारजालीले घेरबार गरेर एभोकार्डो, कागती, आँप लगायतका फलफूल रोपेर हुर्काइएको छ भने घरधुरीलाई फलफूल खेती गर्न बिरुवा दिएर सहयोग गरिएको छ ।

यस्तै ५ विघा क्षेत्रफलमा तेलका लागि जडीबुटीयुक्त घाँस रोपिएको छ । यसले आम्दानी दिन थालेपछि समुहलाई पनि मनग्ये फाइदा हुने अ‍ेपक्षा छ । तालिम– समुहले उपभोक्तालाई आयआर्जनमा सघाउन सिपमुलक तालिमहरु चलाउने र उद्यमका लागि प्रेरित गर्ने गरेको छ ।

वनमा प्रयाप्त बाँस भएकोले बाँसका सामाग्री बनाउने तालिम, घरेलु कार्यालयसँग समवन्य गरेर जुत्ताचप्पल बनाउने तालिम र झोला बुन्ने तालिम सञ्चालन गरेको छ । यस्तै सचेतना, नेतृत्व विकास र महिला अधिकार सम्वन्धी तालिम तथा गोष्ठीहरु गरिएका छन् ।

वन संरक्षण– वन संरक्षणमा समुहले विषेश ध्यान दिएको छ । वृक्षरोपण, अग्निरेखा निर्माण, गस्ती जस्ता काम हुँदै आएका छन् । वन हेर्नकै लागि ३ जना हेरालु राखिएको छ । कार्यालयमा ३ जनासहित ६ जनालाई उपभोक्ता समुहले रोजगारी समेत दिएको छ । पोखरी सुधारको काम समेत गरिएको छ ।

सामाजिक काम– थाङखोला सामुदायिक वनले सामाजिक काममा पनि लगानी गरेको छ । विद्यालयलाई सहयोग, बाटोघाटो निर्माण, युवा तथा खेलकुद विकासमा र रक्तदान लगायतका सामाजिक काममा आर्थिक अनुदान दिने कार्य गर्दै आएको छ । यसरी यो सामुदायिक वन अरुका लागि समेत उदाहरणीय बनेको छ ।

प्रकाशित मिति : 10 सेप्टेम्बर 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस