बुद्ध दर्शन जोगाउने वन

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ३ मा पर्छ राजापानी सामुदायिक वन । २०५८ सालमा हस्तान्तरण भएको यो वन राजमार्गबाट दक्षिणमा पर्छ । ४५२.९४ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन सालको प्राकृतिक वन हो ।

त्यसबाहेक कुसुम, असना, जामुन पनि प्रसस्तै पाईन्छ । यो वनमा १६ वटा मौजाका २३७५ घरधुरीका १३ हजार ३०४ जनसंख्या आवद्ध छन् । राजापानी सामुदायिक वन २०३० सालसम्म अत्यन्तै राम्रो जंगल थियो । राजमार्गदेखि दक्षिणको एकमात्र घनघोर जंगलको रुपमा चिनिएको थियो । तर २०३६ सालपछि जंगल व्यापकरुपमा फडानी भएको कुरा यहाँका बुढापाकाहरु बताउँछन् । २०४६ सालदेखि २०४८ सालसम्म फेरि व्यापक रुपले फडानी भई वनको हैसियत नराम्रो हुन पुग्यो ।

त्यसपछि यहाँका वासिन्दाहरुमा जनचेतना बढेपछि साविक गजेहडा गाविसका भक्तौलिया, धनकौली, बभनी र गंगौलिया गाउँको पहलमा २०५४ सालदेखि संरक्षण गर्न थालियो । छघ २०५८ सालमा सामुदायिक वनको रुपमा हस्तान्तरण भएपछि यो वनमा उपभोक्ताहरुको अपनत्व बढ्र्यो र वनमा सुधार हुन थाल्यो । राजापानी सामुदायिक वनमा पानीका प्रशस्त मुहान छन् जसको संरक्षण गर्न पहल भैरहेको छ । सबैभन्दा बढी पानी बग्ने राजापानी मूल हो । यसैको नामबाट सामुदायिक वनको नाम राखिएको हो ।

वनको संरक्षण तथा संवद्र्धनमा जोडदिएको उपभोक्ता समुहले वन क्षेत्रको सुरक्षाको लागि ४ जना कर्मचारी परिचालन गरेको छ । चोरी तथा तस्करी नियन्त्रणको लागि रात्री गस्ती गरिएको छ । आगलागी नियन्त्रणको लागि फाल्गुनदेखि असारसम्म ५ महिना थप ४ जना कर्मचारी राख्ने गरिएको अध्यक्ष ढाकाराम अधिकारीले जानकारी दिनुभयो ।

राजापानी सामुदायिक वन उपभोक्ता समुहले परापुर्वकालदेखि निरन्तर रुपमा पानी बगिरहने राजापानी मुल संरक्षणसँगै यसबाट पर्यटन प्रवद्र्धनको योजना कार्यान्वयनमा ल्याएको छ । किनभने यो मुल बुद्धसँग समेत सम्बन्धित छ । गौतमबुद्धका बुवा राजा शुद्धोधन तिलौराकोट दरवारदेखि ससराली द ु ेवदह जाने क्रममा यही वनको बाटो भएर जाने गरेको र त्यसक्रममा राजापानी मुलको पानी पिउने र यहाँ रहेको चौरमा विश्राम गर्ने गरेको किंवदन्ती छ ।

राजा शुद्धोधनले पानी पिउने र विश्राम गर्ने गन्तव्य वनाए पश्चात यो मुलको नाम राजापानी रहेको मान्यता छ । त्यही मान्यता स्थापित गर्दै ऐतिहासिक महत्वलाई समेत उजागर गर्ने अभिप्रायले पर्यापर्यटनको शुरुवात गरिएको हो । विगतमा मुल साँघुरो रहेकोले फराकिलो बनाउने र पानीको निकासलाई व्यवस्थापन गर्ने काम भएको छ ।

मुलबाट निस्केको पानी संचितको लागि पोखरी निर्माण भएका छन् । तारवार र पर्खाल निर्माण गरिएको छ । वनभोजस्थलको रुपमा परिचित यो क्षेत्रमा ५ वटा ठूलासहित अन्य ससाना स्टल समेत निर्माण गरिएको छ । बालउद्यान निर्माण गरी आकर्षक वनाईदै छ । फुलको बगैचा निर्माण गरि विभिन्न प्रजातिका फूलहरु रोप्ने कामलाई निरन्तरता दिईएको छ ।

गेट निर्माण तथा पर्यटकका लागि विश्राम स्थल निर्माण गरिएको छ । बुद्धको विशाल मुर्ति, बौद्ध गुम्बा, वन्यजन्तु उद्धार केन्द्रको स्थापना र संरक्षण, लोपन्मुख गिद्धको संरक्षण र वासस्थानका गतिविधि सहित छद्ध गुरुयोजना निर्माणको कार्य यहाँका अन्य आकर्षण हुन् । सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरी पर्यापर्यटन क्षेत्रमा ९ वटा सिसी क्यामेरा, २ सोलार लाईट र २ हेलोजिन लाईट जडान गरिएको छ ।

सामुदायिक वनका गतिविधि र कृयाकलापलाई जनस्तर तथा पर्यटकसम्म पु¥याएर प्रचारप्रसार गर्न वनको आफ्नै वेभसाइट धधध।चबवबउबलष्आगन।अयm तथा सामाजिक सञ्जाल फेसबुक समेत सञ्चालन गरिएको छ । राजमार्गबाट नजिक र उत्कृष्ठ पूर्वाधार तथा राम्रो व्यवस्थापन भएकोले राजापानी क्षेत्र हाल आन्तरिक तथा बाहय पर्यटकको गन्तब्य बनेको छ ।

यहाँ वनभोज तथा घुमफिरका लागि कपिलवस्तु, रुपन्देही, नवलपरासी, पाल्पा, अर्घाखाँची तथा दाङ्गबाट आन्तरिक पर्यटक आउने गरेका छन् । यस्तै भारतसँग सिधा सम्पर्कमा रहेको सडक यही वनसँग जोडिएकोले भारतको सोहरतगढ, वर्डपुर नौगढबाट समेत पर्यटक आउने गरेका छन् ।

प्रचार प्रसार तथा लुम्विनी गुरुयोजनासँंग जोड्न सकेको खण्डमा यहाँ हजारौ पर्यटक भित्रिने सम्भावना छ । त्यसैले मुल संरक्षणसँगै जलाशय, पोखरी, पौडी, डुंगा शयर र माछापालन तथा कृषि प्रयोजनमा सिंचाईको व्यवस्थापनलाई समुहले प्राथमिकतामा राखेको छ ।

धार्मिक र पर्यटकीय महत्व राख्ने मन्दिरहरु निर्माण गर्ने, आगन्तुक पर्यटकको लागि बिभिन्न स्थानमा थप विश्रामस्थलहरु निर्माण गर्ने, खानेपानी, शौचालयको उचित व्यवस्थापन गर्ने, विभिन्न जातजाति र भेषभुषाको संरक्षणको साथै थारु संग्राहलय निर्माण गर्ने, विस्तृत गुरुयोजना निर्माण र त्यसै अनुसारको कामलाई अघि बढाउने योजना समुहले बनाएको छ ।

सामुदायिक वनको नजिकमा रहेका ५ मौजाका उपभोक्ताहरुलाई आयआर्जनका लागि लगानी गरी गरिबी न्यूनीकरणका काम थालनी गरिएको छ । १५ देखि २० जना सम्मिलित विभिन्न उपसमुहहरु निर्माण गरी पशुचौपाया पालन, घाँस खेती, तरकारी खेती लगायत आयआर्जनका गतिविधि सञ्चालन भएका छन् ।

पर्यटनका लागि समुहले स्थानीय तहदेखि, लुम्विनी विकास कोष, सरकार र वनसँग सम्बन्धित सबै निकायसँग समन्वय गर्दै आएको छ ।

प्रकाशित मिति : 13 सेप्टेम्बर 2021, सोमवार
प्रतिक्रिया दिनुहोस