आयआर्जनको सारथी

सल्यानको चन्द्रपाला सामुदायिक वन, उपभोक्ताले संरक्षण गरेर बहुउपयोग गर्दै आएको जिल्लाको एक उत्कृष्ठ सामुदायिक वन हो । जिल्ला सदरमुकामसँग जोडिएकोले संरक्षणसँगै यो वनभित्र पर्यापर्यटनको सम्भावना बढ्दो छ । त्यसैले प्रदेश सरकारले समेत पर्यटन विकासमा सामुदायिक वनलाई सघाएको छ । समुहले चन्द्रपाला मिलन पिकनिक पार्क निर्माण गरेको छ । पार्कभित्र सभाहल, गोलघर, बगैचा र मनोरञ्जनका लागि अन्य विभिन्न पूर्वाधारसहितका संरचनाहरु बनाइएका छन् ।

चन्द्रपाला वन क्षेत्रबाट सिस्ने हिमाल, खामीलेक, खैराबाङ, शारदा नदीको मनोरमस्थल लगायतका रमणीय क्षेत्रहरु हेर्न सकिने भएकोले पनि पर्यटन ज्ञघछ विकासको सम्भावना धेरै रहेको छ । पानीको पहुँच भएको र बिजुली पनि लैजाने काम भैरहेकोले यहाँ दैनिक हजारौं आन्तरिक पर्यटक पुग्ने, वनभोजका लागि व्यवस्थित र सुविधा सम्पन्न स्थलहरु निर्माण गरी आयआर्जन बढाएर समुहले विकास निर्माण र उपभोक्ताको हितमा काम गर्ने लक्ष्य राखेको छ ।

शारदा नगरपालिका वडा नम्वर २ र ३ मा रहेको चन्द्रपाला सामुदायिक वनका ४ सय ५० घरधुरीको हित र उनीहरुको आवश्यकता पुरा गर्न समुहले निरन्तर काम गर्दै आएको छ । गरिबी निवारणका लागि काम गर्दै आएको समुहले गरेको सम्पन्नता स्तरीकरण गरेको छ । समुहले घाँस दाउरा र काठपात उपलव्ध गराउँदा पनि सम्पन्नता स्तरीकरणकै आधारमा गरिब तथा विपन्नलाई प्राथमिकता दिने गरेको समुहकी अध्यक्ष सरिता हमालले जानकारी दिनुभयो ।

यसैगरी कुनै स्वास्थ्य समस्या आउँदा होस् वा शिक्षामा विपन्नताका आधारमा समुहले सहयोग समेत गर्दै आएको छ । उपभोक्ताको आयआर्जनमा सघाउँदै ३५ घरभन्दा बढीलाई बाख्रापालनमा अनुदान दिएको छ । सामुदायिक वन उपभोक्ता समुहले पाँच हजार रुपैंयाका दरले अनुदान दिएपछि स्थानीयले आफूले केही रकम थपेर बाख्रा पालेर आम्दानी बढाएका छन् । एउटाबाट शुरु गरेर अहिले ९–१० वटासम्म खसी पालेका छन् । इन्द्रकली बोहोरा त्यसको एक उदाहरण हुनुहुन्छ ।

उहाँ जस्ता अरु उपभोक्ता पनि छन्, जसले समुहको सानो सहयोगलाई सदुपयोग गर्दै आफ्नो आर्थिक अवस्था नै सुर्धान सफल भएका छन् । यस्तै बंगुरपालनबाट पनि विपन्न उपभोक्ताहरुको जिविकोपार्जनमा उल्लेख्य सुधार देखिन थालेको छ । समुदायको हित र वनको हरियालीलाई केन्द्रविन्दु मानेर काम गरिरहेको समुहले दलित तथा अति विपन्न विद्यार्थीलाई अध्ययनका लागि आर्थिक सहयोग गर्छ ।

यसैगरी गरिबीको रेखामुनी रहेका एकल महिलाहरुका सन्तानलाई विद्यालय र उच्चशिक्षा हासिल गर्न सामुदायिक वनका तर्फबाट आर्थिक अनुदान दिने गरिएको छ । ज्ञघट यस्तै उपचार खर्च नहुनेहरुलाई स्वास्थ्य उपचारमा समुहले सहयोग गर्दै आएको छ । वनमा दाउरा लिन जाँदा रुखबाट लडेर गम्भीर घाईते भएकी एकजना विपन्न उपभोक्तालाई २५ हजार रुपैंयाभन्दा धेरै खर्च सामुदायिक वनले नै व्यहोरेर उपचार गरेको अध्यक्ष हमालले जानकारी दिनुभयो ।

वन संरक्षणमा सक्रिय उपभोक्ता समुहले विपन्न र गरिबको आयआर्जनमा र उनीको स्वास्थ्य उपचारमा समेत सघाउँदा स्थानीयले सामुदायिक वन केवल घाँस दाउराका लागि मात्रै नभएर गरिबी न्यूनीकरणको साधन पनि बन्दोरहेछ भन्ने महसुस गरेका छन् । २२९.४० हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा साल र सल्ला प्रजातिका रुखहरुको बाहुल्यता छ । कुनैबेला सल्लाको खोटो संकलनमा प्रसिद्ध यो वनलाई पाँचवटा व्लक बनाएर संरक्षणको काम गरिएको छ ।

जसले गर्दा पहिलाको तुलनामा वनको हैसियतमा निकै सुधार आएको छ । खासगरी सालको संरक्षणमा समुहले विशेष जोडदिएको को समुहकी अध्यक्ष हमालले जानकारी दिनुभयो । वनको दिगो विकासका लागि बहुप्रजाति उत्पादन गर्ने र त्यसलाई जोगाउन अलग्गै व्लक समेत बनाइएको छ ।

प्रकाशित मिति : 29 अक्टोबर 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस