संरक्षण, उद्यम र पर्यटन

साविकको नवलपरासी जिल्ला हाल गण्डकी प्रदेश अन्तर्गतको नवलपुर (नवलपरासी पूर्व) स्थित हुप्सेकोट गाउँपालिका वडा नम्वर ४ को झ्यालबासमा पर्छ मुसेडाँडा सामुदायिक वन । यो पनि एउटा नमुना सामुदायिक वन हो । ७६.८१ हेक्टर क्षेत्रफलमा फैलिएको यो वनमा ५०२ घरधुरी आवद्ध छन् । जिल्ला वन कार्यालयले २०५२ सालमा यो उपभोक्ता समुहलाई हस्तान्तरण गरेको थियो । संरक्षण–पूर्वपश्चिम राजमार्ग अन्तर्गत डण्डाबाट करिब ८ किलोमिटर उत्तरमा पर्ने मुसेडाँडा सामुदायिक वन चुरेको काखमा पर्छ ।

त्यसैले पनि यहाँ उपभोक्ताहरुले संरक्षणलाई मुख्य प्राथमिकतामा राखेका छन् । सालको प्राकृतिक वन २०५० सालसम्म भने संरक्षण हुन नसक्दा विनास भैरहेको थियो । उपभोक्ताले जिम्मा लिएपछि हराभरा भएको छ । वृक्षरोपण गर्ने, समयमै गोडमेल गर्ने, अग्निरेखा बनाएर आगलागी नियन्त्रण गर्ने जस्ता कदमले वनको राम्रो संरक्षण भएको छ । संरक्षण ज्ञद्धण् त्यसबाहेक वन हेरालु राखिएको छ भने उपभोक्ता र समुहले पनि हेरचाह र अनुगमन गर्ने भएकोले यहाँ चोरी तस्करी हुन पाएको छैन् ।

हरेक सदस्यहरुलाई वन हाम्रो हो, हामीले जोगाउनुपर्छ भन्ने भावना भएकोले पनि यहाँको संरक्षणको काम धेरै राम्रो छ । उपभोक्ता समुहका अध्यक्ष देवेन्द्रबहादुर मल्ल भन्नुहुन्छ– ‘हामीले वन संरक्षण गरेका छौं भनेर देखाउनभन्दा पनि अब्बल काम गरेरै उदाहरण बन्न चाहन्छौ ।’ आयआर्जनमा घुम्तीकोष– उपभोक्ताको आम्दानी बढाउँदै उनीहरुको जीवनस्तर उकास्न पनि समुहले सघाउँदै आएको छ । त्यसका लागि घुम्तीकोष मार्फत बाख्रा र बंगुरपालन तथा तरकारी खेतीमा लगानी गरिएको छ । ३–४ वटा घुम्तीकोष छन् ।

त्यसको मुख्य उद्धेश्य नै विपन्न तथा गरिब उपभोक्तालाई गरिबीको रेखाबाट माथि उठाउनु हो । त्यसैले बिनाव्याज एकजनाले १५ देखि २० हजार पाएका छन् । त्यो कम्तिमा एक बर्षसम्म चलाउन पाउने गरि दिइएको समुहका कार्यालय सचिव भविलाल अस्लामी मगरले जानकारी दिनुभयो । यसरी गरिएको लगानीबाट उपभोक्ताले शुरुमा एउटा पशुचौपाया किनेर पछि ८–९ वटासम्म पाल्ने गरेका छन् । त्यसले घर चलाउने धेरै सजिलो भएको उपभोक्ताहरुको भनाई छ ।

नेतृत्व विकास– उपभोक्ताहरुको नेतृत्व विकास र उनीहरुको चेतना अभिवृद्धि तथा गाउँठाउँमा हुने कुरीति र गलत परम्परा अन्त्यका लागि सामुदायिक वन उपभोक्ता समुहले नेतृत्व विकास तथा लैङ्गिक हिंसा न्यूनीकरणसम्वनधी तालिम सञ्चालन गरेको छ । त्यसले कसरी नेतृत्व लिने, आफ्ना कुरा कसरी राख्ने, उपभोक्ता समुहमा कसरी काम गर्ने, संस्था सञ्चालनदेखि लेखा कसरी राख्ने त्यो सिकाइन्छ । यसैगरी घरमा महिला तथा पुरुषबीच भेदभाव भए त्यसलाई हटाउन श्रीमान र श्रीमतिलाई सँगै राखेर जोडी तालिम आयोजना गरिएका छन् ।

खानेपानी र मुहान संरक्षण– सामुदायिक वनभित्र पानीका तीनवटा मुहान छन् । तिनको संरक्षण गर्दै समुहले गाउँको खानेपानीका लागि धारा समेत निर्माण गरेको छ । आटेखोल्सीको पानीको मुहान संरक्षणमा समुहले विशेष ध्यान दिएको छ । यस्तै वनक्षेत्रमा रहेको पोखरीलाई व्यवस्थित ज्ञद्धज्ञ गरेर खेतीपाती र खासगरि धानको व्याड राख्ने बेला पानीको जोहो गर्न समुहले धेरै काम गरेको छ । पर्यापर्यटन– पर्यटन विकासबाट आम्दानी बढाउने र उपभोक्तालाई रोजगारी दिने योजना समुहको छ ।

त्यसैले सिमसार क्षेत्रको पोखरीलाई विस्तार गरि पर्खाल लगाउने काम भएको छ । त्यसमा उपभोक्ताहरुले श्रमदान समेत गरेका छन् । २ सय ७ मिटरको पोखरीमा माछा पालन गरिएको छ । त्यसबाट समुहलाई अहिलेसम्म बार्षिक ३५ हजार आम्दानी समेत हुन्छ । अब ठेक्का बापतको शुल्कलाई बढाएर ४० हजार बनाउने सहमति भएको उपभोक्ता समुहका अध्यक्ष मल्लले जानकारी दिनुभयो । पोखरी, माछापालन र संरक्षणले आन्तरिक पर्यटनलाई टेवा पुग्ने अपेक्षा समुहको छ । त्यसबाहेक वनमा मनकामना मन्दिर पनि छ ।

मन्दिर संरक्षण गर्ने, पिकनिक स्थल बनाउन फेकोफन र वडाले सघाएका छन् । मनकामना मन्दिर हुँदै अकलादेवी मन्दिर पुग्ने पदमार्ग निर्माण गरिएको छ । थप कामका लागि स्थानीय तहसँग सहकार्य गरेर योजना अघि बढाउने तयारी समुहको छ । उद्यम– वनभित्रको क्षेत्रबाट संरक्षणसँगै अधिकतम लाभ लिने उद्धेश्यले बेतबाँस लगाइएको छ । त्यसबाट गाउँमै फर्निचर उद्योग चलाउने योजनासहित प्रशोधन घर पनि निर्माण भैसकेको छ । उद्योग शुरु भएपछि स्वरोजगारीका अवसरहरु सृजना हुनेछन् ।

त्यसैले उपभोक्ताहरुलाई निजी जमिनमा पनि बेतबाँस लगाउने प्रोत्साहित गर्ने र आयआर्जन बढाउने बाटो देखाउने लक्ष्य छ । सामाजिक विकासका काममा समुहले कल्र्भट निर्माण, सरसफाई अभियान, बाटो मर्मत जस्ता काम गर्दै आएको छ । उपभोक्तालाई वन श्रोतका रुपमा घाँस दाउरा उपलब्ध गराउने काम पनि भैरहेको छ । यसले गर्दा मुसेडाँडा सामुदायिक उपभोक्ताका लागि दरिलो सहयोगीका रुपमा छ । सामुदायिक वनले संरक्षणसँगै गरिबी न्यूनीकरण र आयआर्जनमा गरेको योगदान महत्वपूर्ण छ ।

प्रकाशित मिति : 29 अक्टोबर 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस