वन एक योगदान अनेक

समुदायले संरक्षण गर्दै सदुपयोग गरेको वनले उपभोक्ताहरुमा कसरी आमुल परिवर्तन ल्याउन सक्छ भन्ने एउटा उदाहरण हो, अछामको तिमल्सैना सामुदायिक वन । गरीब विपन्नलाई केन्द्रमा राखेर आयआर्जन र सिपमुलक तालिमका विभिन्न अभियान चलाएको यो वनले महिलाहरुलाई आत्मनिर्भर मात्रै बनाएको छैन्, उनीहरुबाटै सिंगो गाउँ र सामुदायिक वनलाई चिनाएको छ । सामुदायिक वन उपभोक्ता समुहले महिलाहरुलाई सिलाईकटाई तालिम दिएर उनीहरुलाई स्वरोजगार र व्यवसायी बनाएको छ ।

त्यो पनि दुई –चार वा दश–बीस जनलाई हैन, अहिलेसम्म करिब ६० जना महिलालाई सिलाई कटाईको तालिम दिईएको उपभोक्ता समुहका अध्यक्ष तिलकबहादुर खत्रीले जानकारी दिनुभयो । समुहले तालिमसँगै अति विपन्न महिलाहरुलाई त निशुल्क सिलाई मेसिन नै दिएको छ । २०६७ सालबाट शुरु भएको ३ महिने तालिम बर्षमा २ पटक हुन्छ । तालिम ज्ञटट पाएपछि महिलाहरु आत्मनिर्भर भएका छन् । गाउँबाट बिहेवारी भएर अन्यत्र गएका चेलीहरुले आफ्नो पेशा नै बनाएर गाउँ र सामुदायिक वनकै नाम राखेको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘ यहाँ सिलाई कटाईको तालिम लिएका महिलाहरुले टिकापुर, नेपालगञ्ज लगायत अछाम सदरमुकाम सहित विभिन्न गाउँ शहरमा समेत आफ्नै व्यवसाय गरेर राम्रो पैसा कमाएका छन् भने सुखले जीवन बिताइरहेका छन् ।

यो देख्दा हामीलाई पनि आनन्द लाग्छ ।’ २०४९ सालमा हस्तान्तरण भएको सामुदायिक वन उपभोक्ता समुहले गरेको यो त एउटा पाटो मात्रै हो । यसबाहेक विपन्न समुदायलाई आयआर्जनमा सघाउने र गरिबी न्यूनीकरण गर्ने उद्धेश्यले घुम्तीकोष मार्फत सघाउँदै आएको छ । त्यसमा अदुवा, हलेदो जस्ता नगदेवाली लगाउन उपभोक्तालाई प्रोत्साहन गर्ने र बीउ सहयोग गर्ने काम समुहले गर्छ । उत्पादन भएपछि मात्रै बीउ वापतको अर्का उपभोक्तालाई हस्तान्तरण गर्दै लगिन्छ ।

यसैगरी विपन्नताको आधारमा दश हजार रुपैंयासम्म सहयोग गरेर महिलाहरुलाई बाख्रापालन मार्फत आम्दानी बढाउन प्रोत्साहित गरिँदै आएको छ । त्यस्तो सहयोग ७ जना महिलाहरुले पाएका छन् । यस्तै श्रीमान गुमाएका महिलाहरुका सन्तानहरुलाई पठनपाठनमा सघाउँदै छात्रवृत्ति दिएको छ । समुहका १२ जना महिलाहरुका बालबच्चालाई यस्तो सहयोग गरिएको छ । त्यसबाहेक १२ देखि १७ बर्ष उमेरका विद्यालय नगएका किशोरीका लागि किशोरी शिक्षा अभियान नै चलाएको छ ।

उनीहरुलाई ३ बर्षसम्म अनौपचारिक शिक्षा दिने व्यवस्था उपभोक्ता समुहले मिलाएको छ । त्यसैले यो कार्यक्रमको नाम नै किशोरी शिक्षा अभियान राखिएको छ । बाल्यकालमा विद्यालय जान नपाएका तर उमेर बढेपछि सानो कक्षामा पढ्न स्कूल जान लजाउने प्रवृति रोक्न किशोरी शिक्षा अभियान चलाईएको अध्यक्ष खत्रीले बताउनुभयो । २६७ घरधुरी उपभोक्ता आवद्ध रहेको सामुदायिक वन उपभोक्ता समुहले वन संरक्षणमा पनि उत्तिकै ध्यान दिएको छ ।

कार्ययोजना अनुसार ज्ञटठ वनका पाँच वटा व्लकमा गाईवस्तुको प्रवेशमा पुरै रोक लगाइएको छ भने वनपैदावार निकासीमा पनि स्वीकृति बेगर प्रतिवन्ध लगाइएको छ । संरक्षणमा ध्यान नदिए उपयोगमा पनि कठिनाई हुन्छ भन्ने मान्यता आम उपभोक्ताहरुमा रहेको छ । ३६१.१८ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनले वनका विभिन्न प्रजातिका वन पैदावार र जडिवुटीको महत्व दर्शाउँदै अरुलाई पनि संरक्षणको चेतना जगाउनका लागि जडिवुटी प्रदर्शनी स्थल नै बनाएको छ ।

त्यहाँ आपँ, अम्वा, जामुन, लगायत विभिन्न ९० भन्दाबढी प्रजातिका बोटविरुवाहरु छन् । त्यसको अवलोकन र अध्ययनका लागि वन र जडिवुटीमा सरोकार राख्नेहरु तिमल्सैना सामुदायिक वनमा पुग्छन् । अध्यक्ष क्षेत्रीले भन्नुभयो–‘वन श्रोत र जडिवुटीको महत्व जगाउँदै सामुदायिक वनले गरेका कामबारे जानकारी दिन हामीले जडिवुटी प्रदर्शनी स्थल नै बनाएका छौं । यहाँ बर्षेनी कैयौं अवलोकनकर्ताहरु आएर जानकारी लिने गर्छन् । यो धेरैका लागि लाभदायक बनेको छ । सबैले प्रशंसा पनि गर्छन् ।

राम्रो काम गरेको भन्दै जिल्ला वनबाट पुरस्कृत पनि भएका छौ । त्यसैले हामीले पनि केही राम्रो गरेका रहेछौं भन्ने लाग्छ ।’ सामुदायिक वनमा आवद्ध उपभोक्ताहरुको योगदानको कदर गर्दै समुहले वृद्धहरुलाई बर्षेनी सम्मान गर्छ । यस्तै गाउँमा राम्रो पढ्ने र उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरुलाई प्रोत्साहन र पुरस्कृत गर्दै छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ । यी सबै काममा समुहले गर्ने लगानीको आम्दानी भनेको पहिला खोटो संकलन थियो । अहिले त्यो रोकिएपछि आम्दानी पनि कम भएको छ ।

तर समुहकै हितका लागि उपभोक्ताको पक्षमा काम गर्न ढलापढा वन पैदावार बिक्रीबाट भएको आम्दानीलाई परिचालन गरिएको समुहले जनाएको छ ।

प्रकाशित मिति : 21 नोभेम्बर 2021, आइतवार
प्रतिक्रिया दिनुहोस