मुहानको संरक्षण, समुदायको उत्साह

नेपालमा अहिले पनि २५ प्रतिशतभन्दा धेरै जनतलाई खानेपानीको पहुँच छैन् । कैयौं गाउँहरु यस्ता छन जहाँ खानेपानीको चर्को अभाव सामना गरेपछि बस्ती नै सर्नुपरेको छ । एकगाग्री पानीकै लागि मध्यरातमा उठेर घण्टौं हिड्नुपर्ने बाध्यता पनि हटेको छैन् । यस्तो समस्या नआओस् र भविश्यमा पानीको अभाव खेप्नु नपरोस् भनेर ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको सल्लेरी हाङ्गुडे सालघारी सामुदायिक वनले खानेपानीको मुहान संरक्षण गरेर नमुना काम गरेको छ । मिक्वाखोला वडा नम्वर २ मा पर्ने सामुदायिक वन उपभोक्ता समुहले चाक्सीभोटेमा रहेको ठूलोधारा खानेपानीको मुहान संरक्षणका लागि सामान्य अवस्थमा नभत्किने गरि गारो उठाएर ट्यांकी बनाएको छ ।

यसले ज्ञठज्ञ गाउँका करिब ३० घरधुरीलाई सहज खानेपानी सेवा उपलब्ध भएको छ भने सगरमाथा आधारभूत विद्यालय, गाउँपालिकाको वडा कार्यालय र महिला विकास कार्यालयले पनि त्यही पानी खान पाएका छन् । मुहान संरक्षण नहुँदा पहिला गाउँमा समस्या थियो । कुवा जस्तै खाल्डो बनाएर त्यही पाइप राखेर पानी लैजाँदा दिनदिनैजसो मुहानमा जानुपर्ने, फोहर पानी आउने, बर्खामा सबै बगाइदिने जस्ता समस्या थिए । तर उपभोक्ताले खानेपानीकै लागि समस्या भोग्नुपरेपछि सामुदायिक वनले मुहान संरक्षणको काम गरेको हो ।

त्यसका लागि समुहलाई वन उपभोक्ता महासंघले पनि सकारात्मक पहलकदमी गरिदियो । मुहान जोगाउँदा हुने फाइदा र त्यसका लागि प्रोत्साहन गरेपछि अहिले खानेपानीको समस्याबाट गाउँलेलाई हाइसन्चो भएको छ । सल्लेरी हाङ्गुडे सालघारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष देवकुमार बस्नेतले भन्नुभयो– ‘पहिला त धेरै समस्या थियो । पानीको मुहान संरक्षण गरेपछि उपभोक्ता, स्कूल र वडा कार्यालयलाई समेत खानेपानीका लागि धेरै सजिलो भएको छ ।’ भविश्यमा पानीको अभाव हुनसक्ने र त्यसले विवाद समेत निम्तिन सक्ने भएकोले समुहले खानेपानी मुहान संरक्षणलाई पहिलो प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

ट्यांकी बनाएपछि आवश्यक पर्दा गाउँपालिकाको वडा नम्वर २ को आधा जनसंख्या अर्थात करिब पाँच सय जनसंख्यालाई त्यही पानीले पुग्ने अनुमान छ । खानेपानीको मुहान संरक्षणले गाउँमा सफा पानीको सहज पहुँच पुगेको छ । सरकारले गर्न नसकेको काम सामुदायिक वनले गरेको भन्दै उपभोक्ता पनि खुसी छन् । ‘सरकारले वा गाउँपालिकाले मात्रै विकास निर्माण गर्छन् भन्ने लाग्थ्यो पहिला, तर सामुदायिक वनले पनि उपभोक्तालाई खानेपानीको सुविधा दिनेगरि विकासको काम गर्दा हामी धेरै खुसी छौं । सफा पानी पिउन पाइएको छ’– खोक्लिङका स्थानीय उपभोक्ता ऐश्वर्यराज थापाले भन्नुभयो । मुहान संरक्षणको सबैले तारिफ गरेकोमा उपभोक्ता समुह पनि दंग छ ।

त्यसैले गाउँका अरु चार–पाँचवटा मुहान संरक्षण गरेर सबैलाई ज्ञठद्द खानेपानीको सहज सुविधा दिने लक्ष्य समुहको छ । तर आर्थिक अवस्था कमजोर हुँदा काम अघि बढाउन कठिनाई भएको कोषाध्यक्ष जमुना थापाले बताउनुभयो । ‘अरु यस्ता चार पाँचवटा मुहान छन् । सहयोग पाएमा ति पनि संरक्षण गर्ने योजना छ । हामी सबै गाँउलेलाई पानी खुवाउन चाहन्छौं । वन संरक्षणले पानीको श्रोत बढाउँछ भन्ने देखाउन पनि मुहान संरक्षण आवश्यक छ । तर बजेट नहुँदा काम गर्न पाइएको छैन् ।’ त्यसो त यसअघि यो सामुदायिक वनले तमोर नदीमा झोलुङे पुल हाल्न पनि सघाएको थियो । गाउँमा आउजाउँ गर्न समस्या भएपछि पुल बनाउन सामुदायिक वनले ४३ हजार लगानी गरेको थियो ।

वन संरक्षणमा पनि समुहले उत्तिकै चासो दिने गरेको छ । पहिला पातलो र चोरी तस्करी हुने गरेको वन समुहले जिम्मा पाएपछि बाक्लो भएको छ । वनमा मृग, घोरल जस्ता जंगली जनावर बढेका उपाध्यक्ष महेन्द्र कटुवालले जानकारी दिनुभयो । सल्लेरी हाङ्गुडे सालघारी सामदायिक वन हालका ु े मिक्वाखोला गाउँपालिका, २ तथा साविकखोक्लिङ गाविसको ५,६,७,८ र ९ वडामा पर्छ । पूर्वमा पाथीभरा देवीको मन्दिर, ‘शीरमा बाघथला’ अनि ‘तीरमा खुर्पादिन बेसी’ ले चिनिने वनमा हाल मिक्वाखोला गा.पा वडा नं २ मा अवस्थित छ । २०५२ सालमा समुह दर्ता गरि संरक्षण थालेपछि २०६३ सालमा बल्ल समुहलाइ हस्तान्तरण गरिएको थियो । १३० हेक्टरमा फैलिएको वन क्षेत्रभित्र घरधुरी संख्या २७० रहेको छ ।

सामुदायिक वनको क्षेत्रभित्र सानिमा मध्यतमोर हाइड्रोपावर निर्माण भैरहेको छ । यो योजनाबाट समेत उपभोक्ताहरुलाइ प्रत्यक्ष लाभ पुग्नेछ । वन श्रोतबाट स्थानीय उपभोक्ताहरुको आवश्यता पुरा गर्न सामुदायिक वन उपभोक्ता समुहले काम गर्दै आएको छ । पर्यटकीय गतिविधि बढाउने, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण र अवलोकन मार्फत आयआर्जन बढाउने अभियानमा पनि समुहले काम गर्दै आएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : 22 नोभेम्बर 2021, सोमवार
प्रतिक्रिया दिनुहोस