संरक्षणमा मन, प्यारो वन

पर्वत सदरमुकाम कुस्माबाट ९ किलोमिटर टाढा, गाडीमा करिब एक घण्टामा पुगिन्छ दुर्लुङ्ग । हाल कुस्मा नगरपालिका वडा नम्वर ३ मा रहेको यही गाउँमा छ भुजेलथान करङ्गे महिला सामुदायिक वन । बस्तीको माझमा र बाटोमाथि रहेको जम्मा २.६५ हेक्टर यो वन गाउँले उपभोक्ताहरुले संरक्षण गरेर अहिलेको अवस्थामा आएको हो । २०५२ सालमा समुदायलाई हस्तान्तरण भएको यो वन अहिले नमुना बनेको छ ।

तर यहाँसम्म ल्याउन गरिएका दुखका भारी कति छन्, कति । पद्मकुमारी गुरुङ, ७० बर्ष हुनुभयो । उहाँ अहिले भुजेलथान सामुदायिक वन उपभोक्ता समुहको जेष्ठ सदस्य पनि हुनुहुन्छ । वनको शुरुको अवस्थाबारे उहाँले यसरी सुनाउनुभयो– ‘बिहे गरेर म यहाँ आउँदा अहिले वन भएको ठाँउ खाली पाखो थियो, गाईवस्तु चराउने रित्तो चौर । अर्कोतिर गाउँको नजिक वन नहुँदा हामीलाई घाँसदाउरा गर्न सारै दुख थियो । त्यसपछि गाउँलेहरुले खालीपाखोमा वन बनाउने कुरा भयो । ज्ञठद्ध अनि घरका लोग्नेमान्छेहरु बिरुवा लिन नागी, लुम्ले, काँडेसम्म पुगे ।

एकदिनभर हिडेर साँझ उतै बास बसेर भोलीपल्ट डोकोमा बिरुवा बोकेर ल्याएको हो । दुईदिन लगाएर गाउँलेहरुले ल्याएका बिरुवा रोपियो । त्यसपछि केही बेर्ना मरे, अरु हुर्काउँदै फेरि थप्दै गरियो । वनको सुरक्षाका लागि पर्खाल लगाउने काम गर्दा हामी महिलाहरु कोखमा बच्चा बोकेर ढुंगा ओर्सान जान्थ्यौं, लोग्नेमान्छेले गारो लगाउँथे । कैयौंदिनसम्म त्यसरी नै काम गरियो । खाईनखाई सारै दुःख गरेर रोपेको र जोगाएको वन हो यो ।

आफ्ना सन्तान हुर्काए झै माया गरेर बनाएको हो हामीले वन । त्यो बेला वन नहुँदा कम्ता गाह्रो थियो र हामीलाई ? त्यसैले घाँसदाउरा चाहिन्छ, काठपात पनि नभै हुन्न् भनेर बनाएको हो नि । हरियो वन भया भन े े भविश्यमा छोराछोरीलाई सजिलो होला कि भनेर हामीले दुःख गरेका हौं । अहिले यस्तो हराभरा, रुखहरु पनि हुर्केर दार हुने भैसके । यस्तो बाक्लो वन देख्दा आफैलाई खुसी लाग्छ ।’ पदमकुमारीले आफैंले भोगको कुरा हो । यसरी हुर्काएको वनमा सल्ला, चिलाउने, उत्तिस, खन्यू लगायतका विभिन्न प्रजातिका रुखहरु हुर्केका छन् । उपभोक्ताका लागि घाँसदाउराका लागि पहिला जस्तो दुःख पनि छैन् । संरक्षणसँगै अब बिस्तारै सदुपयोग गर्न पाउने दिन आएका छन् ।

त्यसबाहेक उपभोक्ता समुहले यहाँ पर्यटन विकासका कामहरु पनि अघि बढाएर आयआर्जन गर्न थालेको छ । पहिला पुरुष र महिलाको कार्यसमिति थियो । पछि यसलाई महिला समुहमा रुपान्तरण गरेर संरक्षणको काम गरिँदै आएको छ । शुरुमा ३३ घरधुरी उपभोक्ता थिए । अहिले घटेर २३ मा झरेका छन् । भुजेलथान करङ्गे सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष हिरादेवी मगरका अनुसार गाउँबाट मानिसहरु बसाई सरेर जान थालेपछि घरधुर संख्या घटेको हो । उपभोक्ता समुहले यो वनलाई संरक्षणसँगै पर्यटकीय स्थल बनाउन थालेको छ । त्यसका लागि पिकनिक स्थल बनाईएको छ ।

कुस्माबाट नजिकै पर्ने र पानी तथा दाउरासमेत व्यवस्था भएकोले पनि वनभोजका लागि ज्ञठछ आउनेहरुको संख्या बढ्दो छ । बिजुलीको पनि व्यवस्था मिलाइएको छ । त्यति मात्रै हैन, आवश्यकता अनुसार म्युजिक सिष्टम, बाजागाजाका लागि साधनहरु र आमा समुह मार्फत भाडाकुँडा समेत उपभोक्ता समुहले नै जुटाइदिन्छ । पुरै व्यवस्था गरिदिए बापत २५ सय रुपैंया समुहले लिन्छ । यो उनीहरुको आम्दानी हो । यहाँ बनाइएका पूर्वाधार र जुटाइएका सामानहरु समुहको नेतृत्व महिलाहरुले लिएपछि कै हुन् । अध्यक्ष मगरले भन्नुभयो– सबै कुरा हामीहरु समुहमा आएपछि बनाएका हौं । वनभोजमा आउनेहरुलाई चाहिने पूर्वाधार जम्मै हामीले जुटाईदिन्छौं । तर धेरै मानिसहरु पिकनिकमा आउन् भनेर धेरै पैसा लिने गरेका छैनौं ।’ समुहले पिकनिक स्थलमा बनाएको भवन कटेज शैलीको हो । सामुदायिक वनमा देवीको मन्दिर पनि छ ।

त्यहाँ समेत धार्मिक पर्यटनको सम्भावना समुहले देखेको छ । त्यसका लागि मन्दिरसम्म पुग्ने राम्रो बाटो बिस्तारको योजना छ । यस्तै भ्यू टावर राख्ने लक्ष्य महिलाहरुले राखेका छन् । तर यी सबै कामका लागि आर्थिक अभाव भएकाले सोचेजस्तो हुन सकेको छैन् । संरक्षणमा कतिधेरै लगाव छ भने, अहिले पनि जथाभावी कोही वनमा पस्न पाउँदैन् । हेरालु राखिएको छ । त्यसका लागि घरधुरीले बर्षेनी तीन सय रुपैंया उठाउँछन् । आयआर्जनका लागि अम्रिसो लगाइएको छ ।

अदुवा लगाएको राम्ररी नसप्रिएपछि अन्य विकल्प महिलाहरुले खोज्दैछन् । सानो समुह, महिलाको अग्रसरता र इमानले भुजेलथान सामुदायिक वन संरक्षणमा नमुनाका रुपमा विकास भएको छ ।

प्रकाशित मिति : 22 नोभेम्बर 2021, सोमवार
प्रतिक्रिया दिनुहोस