फेकोफनले दियो बाढीपीडितलाई सघाउन राहत कोषमा नगद पाँच लाख , देशभरका उपभोक्ताले पनि गच्छे अनुसार सघाउँदै

काठमाडौं ।  सामुदायिक वन उपभोक्ता महासंघले रसुवाको भोटेकोशीमा भदौं १० गते आएको बाढीपीडितका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । भोटेकोशीले दिएको कहालीलाग्दो पीडामा स्थानीय समुदायलाई सहयोग पुगोस् भनेर महासंघले राहत कोषमा पाँच लाख नगद जम्मा गरेको फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिनुभयो ।

महासंघले भोटेकोशी हुँदै त्रिशूली नदीले विनास गरेका बस्तीहरुमा पुगेर स्थानीय अवस्था अवलोकन गर्ने र पीडितहरुको पीडामा मल्हम लगाउन सक्दो प्रयास गर्ने काम पनि गरेको छ । फेकोफनका संघीय अध्यक्ष ठाकुर भण्डारी, वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाही लगायतका पदाधिकारीहरुले नुवाकोटका प्रभावित क्षेत्रको स्थलगत अवलोकन पनि गर्नुभएको हो ।

हामीले बेत्रावती, त्रिशूली लगायतका क्षेत्रमा पुगेर त्यहाँको अवस्था हेर्यौ, बाढीबाट विस्थापितहरु बसेका अस्थायी शिविरमा पनि गएर उहाँहरुसँग अहिलेको अवस्था र समस्याबारे कुराकानी गरेका छौं अध्यक्ष भण्डारीले भन्नुभयो ।

वातावरण संरक्षणका लागि अतुलनीय योगदान गरेका सामुदायिक वन र उपभोक्ताहरुसहित स्थानीय समुदायले जलवायु परिवर्तनको असरबाट सर्वस्व गुमाउनु परेको निकै पीडादायी अवस्थामा सक्दो सहयोग गर्न पनि महासंघले सबैलाई आग्रह गरेको छ। राहत, पुनस्र्थापना र पुनर्निमाणमा स्थानीय समुदायलाई कुनै कमी नहुने गरी कदम चाल्नुपर्ने महासंघका अध्यक्ष भण्डारीले बताउनुभयो ।

फेकोफनका प्रदेश तथा जिल्ला र पालिका महासंघहरु तथा सामुदायिक वन उपभोक्ता समूहहरुले पनि राहत कोषमा नगद सहयोग गरिरहेका छन् । नगद सहयोग रकमसँगै अन्य राहतका सामग्रीहरु पनि उपभोक्ता समूहहरुले बाढीप्रभावित क्षेत्रमा पुर्याउने क्रम चलिरहेको बताउँदै वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले आगामी दिनमा पनि प्रभावित स्थानीय समुदाय र उपभोक्ताहरुको हितमा महासंघले काम गर्दै जाने बताउनुभयो । बाढीबाट सामुदायिक वनका उपभोक्ताहरुमा पुगेको क्षतिबारे तथ्यांक संकलन सुरु भएको पनि महासंघले जनाएको छ ।

११ दिनसम्म पनि जिवितै उद्दार

भोटेकोशी बाढीले बगाएको ११ दिनसम्म पनि जिवितै उद्दार हुने क्रम चलिरहेकाे छ । पछिल्लो २४ घण्टामा मात्रै ४ जनालाई जीवितै उद्धार गर्न सफलता मिलेको छ । जसमा माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङबाट २ नेपाली, माथिल्लो त्रिशूली १ बाट १ चिनियाँ नागरिक र बेत्रावतीस्थित एक घरबाट १ नेपाली नागरिक रहेका छन् ।

बाढीपछिकाे ११ दिनमा शनिबार बेत्रावतीको घरभित्र ६४ वर्षीया चण्डिका श्रेष्ठ सकुशल भेटिनुभएकाे छ ।  उहाँलाई उपचारका लागि काठमाडौं पुर्याइएकाे हाे । चण्डिकाका छोराहरूले कुशको शव बनाएर दाहसंस्कार गरेपछि काजकिरियामा बसेका बेला आमा भेटिएपछि पुरोहितले विधि पुर्‍याएर फुकुवा गराएका छन्।

 

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा खोज तथा उद्धार कार्य  ११ औं दिन पनि तीव्र रूपमा जारी छ ।  परराष्ट्र मन्त्रालयले शनिबार दिउँसो २ बजेसम्मको अवस्थाबारे जारी गरेको विवरण अनुसार बाढीका कारण हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ भने करिब ५ हजार नागरिक अझै बेपत्ता छन् । बेपत्ता हुनेमा ३५ देशका करिब ६ सय विदेशी नागरिकसमेत छन् ।  कुल १३ हजार ९८ जनाको जीवितै उद्धार गरिएको छ ।

यस्तै, त्रिशूली ३ ‘ए’ को सुरुङबाट शुक्रबार थप एक जनाको शव निकालिएको छ । अन्तर्राष्ट्रिय उद्धार टोली र प्राविधिक परिचालन माथिल्लो त्रिशूली १, माथिल्लो त्रिशूली ३ ‘ए’, ३ ‘बी’, यु २१६ हाकु, चिलिमे तथा लाङटाङ लगायतका क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा नेपाली सेनाको समन्वयमा भारत, चीन र दक्षिण कोरियाका विशेष सुरुङ उद्धार टोलीहरू परिचालित छन् ।

प्रकाशित मिति : 5 सेप्टेम्बर 2026, शनिबार
प्रतिक्रिया दिनुहोस