
काठमाडौं। जैविक विविधता संरक्षणमा सामुदायिक वनले गरेको योगदान अतुलनीय रहेको सरोकारवालाहरुले बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा युएनडीपीले आयोजना गरेको जैविक विविधता रणनीतिबारेको छलफलमा समुदाय, वन र प्राकृतिक श्रोतका क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले सामुदायिक वन र उपभोक्ताहरुले गरेको योगदानको उच्च मुल्यांकन गरेका हुन् ।
जैविक विविधताबारेक अव बन्ने रणनीतिमा सामुदायिक वनले गरेको योगदानलाई अवधारणाकै रुपमा अघि बढाउन मान्यता दिनुपर्ने र त्यसका लागि चाहिने लागत जुटाउन सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालाइ आव्हान गर्नुपर्ने वक्ताहरुको भनाइ छ ।
छलफल कार्यक्रममा वन क्षेत्रको संरक्षणसँगै सरसफाइदेखि आगलागी नियन्त्रण र पोखरी निर्माण जस्ता कामले जैविक विविधता संरक्षणमा निकै ठूलो सहयोग पुगेको बताउँदै सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले नेपालका सामुदायिक वनको भूमिका अतुलनीय भएको बताउनुभयो ।
देशभरका करिव २४ हजार सामुदायिक वनहरु जैविक विविधता संरक्षणका केन्द्र भएको बताउँदै अध्यक्ष भण्डारीले उपभोक्ताहरुले निशुल्क रुपमा गरेको योगदानको हिसावकिताब हुनुपर्नेमा पनि जोडदिनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले जैविक विविधता संरक्षणमा राज्य गम्भीर भएर लाग्नुपर्ने भन्दै सामुदायिक वन र उपभोक्ता समूहहरुले पुर्याएको सहयोगको मुल्यांकन गर्न ढिला गर्न नहुने बताउनुभयो । सामुदायिक वनहरु प्रकृति, संस्कृति, परम्परा र सहअस्तित्वका केन्द्र भएको उहाँको भनाइ छ ।
त्यस अवसरमा फेकोफन सुदूरपश्चिम प्रदेश अध्यक्ष झुमा चौधरी र प्रदेशका जिल्ला अध्यक्षहरु तथा अन्य संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरुले पनि बोल्नुभएको थियो । यसैगरी युएनडीपी अन्तर्गतको वायोफिन कार्यक्रमले गरेको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।