सुदूरपश्चिमका वन उपभोक्ताको गुनासो- ३० प्रतिशत रोजेको काठ आपूर्ति समितिले लाने, कर पनि पहिल्यै तिर्नुपर्ने ?

धनगढी । सुदूरपश्चिम प्रदेश अन्तर्गतका सामुदायिक वनका उपभोक्ताहरुले सरकारको नीति वनको दिगो व्यवस्थापनका लागि समस्या बन्दै गएको गुनासो गरेका छन् ।

प्रदेश राजधानी धनगढीमा फेकोफनको केन्द्रीय नेतृत्वसँग भएको छलफलमा प्रदेश तथा जिल्ला महासंघका पदाधिकारीहरु र सामुदायिक वन उपभोक्ता समूहका अगुवा तथा उपभोक्ताहरुले वन व्यवस्थापनमा भोग्नुपरेका समस्या र सरकारी नीति तथा डिभिजन वन कार्यालयहरुको काम कारवाहीमा आफूहरुले खोजेको समन्वयबारे जानकारी गराएका थिए ।

काठ निकाल्दा ३० प्रतिशत रोजेर आपूर्ति समितिलाई  दिनुपर्ने अनि आन्तरिक खपतमा पनि १३ सयभन्दा कम रकममा प्रतिक्यूफिट उपभोक्तालाई दिन नपाइने व्यवस्था अव्यवहारिक र उपभोक्ताको हित विपरित भएको उनीहरुको भनाइ छ ।

छलफलमा उनीहरुले भने-आन्तरिक खपतको शुल्क सरकारले तोके बमोजिक गर्ने हो भने बाहिरबाट पनि किन्न सकिन्छ अनि बाहिरको मुल्य बराबर नै तिर्ने हो भने किन उपभोक्ताले दिनरात लगाएर वन व्यवस्थापनमा खटिने भन्ने अवस्था आएको छ  ।

उनीहरुले आन्तरिक खपतको लागि काठ उपयोग गर्दा त्यसको मुल्य निर्धारण समूहहरुलाई नै गर्न दिनुपर्ने माग पनि गरेका छन् ।

सामुदायिक वन सुदूरपश्चिमका अगुवाहरुको असन्तुष्टि छ- छुट पुर्जी लिँदा वा कटान आदेश लिँदा कर तिर्न भनिएकोले काटेपछि काठ विक्रि नभए त्यसको क्षतिपूर्ति कसरी गर्ने र टाँचा लगाएको रुखबाट नापे जति काठ नआएमा त्यसको कर निर्धारण कसरी पहिल्यै गर्ने भन्ने विषय पनि अव्यवहारिक र उपभोक्तामैत्री छैन ।

उपभोक्ता समूहहरुले अनुगमनमा नाममा सरकारी प्रतिनिधिहरु आउँदा सुशासनको प्रश्न उठ्ने खालका गतिविधिहरु देखिन थालेको पनि गुनासो गरेका थिए ।

त्यस अवसरमा फेकोफनका अध्यक्ष ठाकुरप्रसाद भण्डारीले सामुदायिक वनकै कारण नेपालमा दिगो वन व्यवस्थापन सहज भएको भन्दै उपभोक्ताको हित विपरित सरकारले आफूखुसी गरे मान्य नहुने बताउनुभयो ।

यसैगरी वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले उपभोक्ताहरुको गुनासोको विषयमा महासंघले प्रदेश सरकारसँग छलफल गर्ने र आवश्यक परे दबाबमुलक अभियान नै चलाउने बताउनुभयो ।

महासंघकी प्रदेश अध्यक्ष झुमा चौधरीले सामुदायिक वनहरुको अवस्था र उपभोक्ता समूहरुले भोग्नुपरेका अन्य थप समस्याहरुबारे पनि जानकारी दिनुभएको थियो ।

जिल्ला महासंघ, कञ्चनपुरका अध्यक्ष शिवदत्त पन्तको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय महासंघ एवम् सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरुको विशेष उपस्थिति थियो । कृष्ण सामुदायिक वन उपभोक्ता समूहको कार्यालय शुक्लाफाटा नगरपालिका वडा नं.११, कलुवापुरमा भएको छलफलमा सामुदायिक वनका समसामयिक समस्या, चुनौती, मुद्दा र सवालका बारेमा छलफल भएको राजुराम भूलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 2 अगस्ट 2025, शनिवार
प्रतिक्रिया दिनुहोस