
विराटनगर। कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले वनको अवस्था सुधारका लागि समुदायकै अग्रसरता महत्वपूर्ण हुने बताउँदै वनलाई उद्यमशील बनाउनुपर्नेमा जोडदिनुभयो ।वन श्रोतको उपयोगबाट समुदायलाई उद्यमी बनाउन प्रदेश सरकारले पनि पहल गर्ने उहाँको भनाइ छ ।
सामुदायिक वनलाई सवल र सक्षम बनाउन सरकार तयार रहेको बताउँदै उहाँले कानुनमा थप सुधार गर्नुपर्ने भए छलफल गर्न सकिने जानकारी पनि दिनुभयो । पर्यटन क्षेत्रको विकासले समुदायको रोजगारी सिर्जनामा सघाउने विश्वास व्यक्त गर्दै मन्त्री मण्डलले युवालाई उद्यमी र रोजगारी दिन वनलाई पर्यटनसँग जोडेर लैजानुपर्नेमा समेत जोडदिनुभयो ।
वनको विकास र समुदायको हितका लागि अहिले देखिएका कमीकमजोरी सच्याउन सरकारले सामुदायिक वन उपभोक्ता महासंघसँग मिलेर काम गर्ने प्रतिवद्दता मन्त्री मण्डलले व्यक्त गर्नुभएको छ ।
प्रदेश वन सचिव विशाल घिमिरेले वनलाई सम्वृद्दिसँग जोडेर लैजानुपर्ने बताउँदै स्थानीय समुदायसँग सहकार्य गरेर अघि बढ्न मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले कृषि र वनलाई सँगसँगै अघि बढाउँदा समुदाय र उपभोक्ताको जिविकोपार्जनमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले तीनै तहका सरकारले सामुदायिक वन र उपभोक्ताहरुलाई सेवा दिन र सशक्त बनाउन काम गर्नुपर्ने बताउनुभयो । संविधानले नै समाजवाद उन्मुख अर्थतन्त्र भनेको स्मरण गराउँदै अध्यक्ष भण्डारीले समुदायलाई बलियो नबनाएसम्म सम्वृद्दिको सपना पुरा हुन नसक्ने प्रष्ट पार्नुभयो ।
समुदायले वनको चौकिदारी गरेर हराभरा र लाभमुलक बनाउने अनि सरकारले श्रोत साधनको लाभ लिने हो भन्ने धङधङीबाट बाहिर निस्कनुपर्ने बताउँदै अध्यक्ष भण्डारीले सामुदायिक वनबाट कर उठाएर सरकार चलाउने हो भन्ने सोच नराख्न पनि आग्रह गर्नुभयो ।
सामुदायिक वनमा पर्यापर्यटनको प्रसस्त सम्भावना भएको र उद्यम विकास कैयौं योजना अघि बढाउन उपभोक्ताहरु तयार रहेको बताउँदै अध्यक्ष भण्डारी सरकारी कानुन र नियमले उद्यम गर्न पनि सहज नभएको उल्लेख गर्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले स्वागतसहित विषयवस्तुमाथि प्रकाश पार्दै देशभरका सामुदायिक वनमा पर्यापर्यटनको सहज वातावरण बनाउन सके मुलुककै आर्थिक सम्वृद्दिमा टेवा पुग्ने बताउनुभयो ।
उद्यम विकास र पर्यटनबाटै मुलुकको अर्थतन्त्र बलियो हुने भएकोले सामुदायिक वनमा उद्योग सञ्चालन र पर्यटकीय गतिविधिसहित पर्यटक आकर्षित गर्ने वातावरण सरकारले मिलाउनुपर्नेमा उहाँले जोडदिनुभयो ।
फेकोफन कोशी प्रदेशका अध्यक्ष तुलसी संग्रौलाले सामुदायिक वनलाई अझ सबल र सफल बनाउन सरकारको सहयोग चाहिने बताउँदै पर्यापर्टन र उद्यम विकासका योजनालाई सघाउन आग्रह गर्नुभयो ।
अन्तर्कृया कार्यक्रममा मोरङको लेटाङ र पथरी शनिश्चरे नगरपालिकाका प्रमुख तथा इटहरीका उपप्रमुख सहित कानेपोखरी गाउँपालिकाका उपाध्यक्षले सरकारले कानुन बनाउँदा सामुदायिक वनलाई कमजोर बनाउने विषय नराख्न आग्रह गर्नुभयो ।
समुदायलाई बलियो नबनाएसम्म वन संरक्षण र दिगो व्यवस्थापन हुन नसक्ने कुरा सरकारले बुझ्नुपर्ने भन्दै उहाँहरुले सामुदायिक वनले स्थानीय तहको विकासमा योगदान पुर्याएकोमा प्रशंसा समेत गर्नुभएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघका महासचिव पार्वता गौतम, उपमहासचिव सिता श्रेष्ठ , सचिव डिल्ली गिरीसहित केन्द्रीय पदाधिकारी तथा आदिवासी जनजाती महासंघका प्रतिनिधि, वन डिभिजन कार्यालयका डीएफओहरुसहित फेकोफन कोशी प्रदेश र जिल्ला तथा स्थानीय महासंघका पदाधिकारी एवं उपभोक्ता समूहहरु सहभागी कार्यक्रममा फेकोफनबाट डाक्टर अर्जुन चापागाइँले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।