
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल फेकोफन संघीय कार्यसमितिले जेन जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबाट भएको क्षतिको पुनर्निर्माण गर्दा स्वदेशी काठ प्रयोग गर्न सरकारलाई आग्रह गरेको छ ।
जेन जी आन्दोलनको मर्म र भावना स्वदेशी उत्पादन प्राथमिकता भएको र आयात निरुत्साहन भएकोले विदेशबाट आल्मुनियम र फलाम ल्याएर भवन बनाउनुभन्दा स्वदेशी काठ प्रयोग गर्नु देशका लागि हितकर हुने फेकोफनको ठहर छ ।
महासंघको सातौं बैठकका निर्णय सार्वजनिक गर्न सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुर भण्डारीले नेपालमै लाखौं क्यूफिट काठ उपयोग गर्न मिल्ने अवस्थामा रहेकोले विदेशबाट आल्मुनियम र फलाम ल्याएर अरबौं रुपैँया बाहिर नपठाउन सरकारलाई आग्रह गर्नुभयो ।
नेपालका सामुदायिक वनबाट मात्रै प्रयोग योग्य काठ निकाल्न सकिने भएकोले त्यसको वैज्ञानिक अध्ययन गरेर स्वदेशी काठबाटै पुनर्निर्माण गर्नुपर्छ- अध्यक्ष भण्डारीले भन्नुभयो ।
उहाँले जेनजी पुस्ताको आन्दोलनको भावना र मर्म पनि स्वदेशी उत्पादन प्रयोग र विदेशको परनिर्भरता अन्त्य भएको बताउँदै जलवायु परिवर्तनको असर रोक्न तथा पर्यावरणमैत्री भवन निर्माण गर्न पनि झ्याल ढोकामा नेपाली काठकै उपयोग गर्नुपर्नेमा जोडदिनुभयो ।
विदेशबाट हुने आयात रोक्नुपर्नेमा कडा आवाज उठाउँदै महासंघले जेन–जी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनरनिर्माणका लागि आवश्यक पर्ने गुणस्तरीय काठ सामुदायिक वनका माध्यमबाट उत्पादन र आपूर्ति गर्नका लागि विद्यमान कानूनी झमेला हटाउन माग पनि गरेको छ । त्यसका लागि महासंघसँग समेत परामर्श गरी तत्काल वन नियमावली २०७९ संशोधन गर्न नेपाल सरकार समक्ष अपिल गरिएको छ ।
अहिलेको वन नियमावली समयसापेक्ष संशोधन गर्दै सामुदायिक वनबाट काठ निकाल्न सहज कानुनी व्यवस्था गर्नुपर्नेमा अध्यक्ष भण्डारीले जोडदिनुभयो । उहाँले सामुदायिक वन उपभोक्ता महासंघले युवा र नयाँ पुस्तालाई अघि बढाउन यसअघि नै नीतिगत र व्यवहारिक व्यवस्था समेत गरेको जानकारी दिनुभयो ।
महासचिव पार्वता गौतमले फेकोफनले विधानमै युवा सहभागितालाई सुनिश्चित गरेको बताउँदै आगामी दिनमा थप काम गर्ने उल्लेख गर्नुभयो ।
गत भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै महासंघले मृतकका शोकाकूल परिवारजनहरुमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
उक्त आन्दोलनका क्रममा घाईतेहरुको स्वास्थ्यलाभको कामना गर्दै महासंघले जेन–जी आन्दोलनका क्रममा मृत्य भएका व्यक्तिका परिवारलाई न्यायोचित् राहत प्रदान गर्न र घाईतेहरुलाई निःशुल्क रुपमा उपचारको व्यवस्था मिलाउन नेपाल सरकार र सरोकारवालाहरु समक्ष अपिल गरेको छ ।
महासंघले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा देशको संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत लगायतका सरकारी संरचना, सांस्कृति सम्पदा, राजनीतिक दलका कार्यालयहरु, औद्योगिक तथा व्यवसायिक भवन एवं निजी भवन र भवनमा रहेका सम्पत्तिहरुमा व्यापक क्षति पुगी नागरिक सेवाहरु समेत अवरुद्ध हुन पुगेकोमा चिन्ता समेत जनाएको छ ।
तत्कालिन आवश्यकता अनुसार गठन भएको नयाँ अन्तरिम सरकारलाई निर्धारित समयमा निश्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न, जेन–जी आन्दोलन र समग्र नेपाली जनताको भावना अनुसार भ्रष्टाचारको अन्त्य गरी संविधानको रक्षा र सुशासन स्थापना गर्दै युवा वर्गको चाहना अनुसार राज्य सञ्चालन गर्ने अवस्था सृजना गर्नमा सफलता प्राप्त होस् भन्ने शुभकामनासमेत महासंघले व्यक्त गरेको छ।