काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा गुल्मीको तम्घासमा प्राकृतिक श्रोतमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी अन्तर्कृया आयोजना गरिएको छ ।
गुल्मी जिल्लाका सबै पालिका उपप्रमुखहरु, गैरसरकारी संस्थाका प्रतिनिधि, नेपाल प्रहरी, पत्रकार महासंघ लगायतको सहभागितामा आयोजना अन्तर्कृया गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले लैंङ्गिक हिंसा अन्त्यको अभियानमा एकजुट भएर लाग्नुपर्ने र सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
लैङ्गिक समावेशीताका हिसावले सामुदायिक वन क्षेत्र नेपालमै अग्रणी रहेको बताउँदै उहाँले महासंघमा नेतृत्वसहित महिला सभागितालाई ५० प्रतिशत सुनिश्चित गरिएको उपभोक्ता समूहमा पनि महिला प्रतिनिधित्व समावेशी रहेको जानकारी दिनुभयो ।
महिलालाई अघि बढाउन उनीहरुको आर्थिक संलग्नता र सम्वृद्दि आवश्यक भएको बताउँदै अध्यक्ष भण्डारीले उपभोक्ता समूहको कार्ययोजना सामुदायिक वनको नीतिगत व्यवस्थामा महिलाको आयआर्जनलाई प्राथमिकतामा राखिएको बताउनुभयो । महिला र विपन्नको आयआर्जन बढाउन महासंघले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यपत्र प्रस्तुत गर्दै फेकोफनकी कार्यकारी निर्देशक डा सिता अर्यालले लैंङ्गिक हिंसा अन्त्यको अभियानमा एकजुट भएर लाग्नुपर्ने बताउँदै हिंसाका कारण समाजमा देखिने असन्तुलन रोकथामका लागि स्थानीय समुदायको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।
सामुदायिक वनको कार्ययोजना बनाउँदा र नविकरण गर्दा स्थानीय सरकारले सघाएको अवस्थामा नीति र बजेट कार्यान्वयन मार्फत समुदायका कुरा सुनिने र त्यसले हिंसा कम गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
त्यस अवसरमा छत्रकोट गाउँपालिकाकी उपप्रमुख सावित्रा ज्ञवालीले महिलामाथि हुने सबैखाले हिंसा अन्त्य हुनुपर्नेमा जोडदिनुभयो । साइवर अपराधका घटना बढ्न थालेको उहाँको भनाइ छ । उहाँले आफ्नो पालिकाले महिलालाई उद्यम र रोजगारीमा जोड्ने अभियान चलाएको र फलफूल खेती तथा दुनाटपरी तालिमले महिलालाई आम्दानीमा सघाएको पनि बताउनुभयो ।
यस्तै धुर्कोट गाउँपालिकाकी उपाध्यक्ष सिता गिरीले महिला शसक्तिकरणमा सबै मिलेर काम गर्न सके हिंसा अन्त्यमा सहयोग पुग्ने बताउनुभयो ।
पालिकाका उपप्रमुखहरुले वनमा हुने आगलागी कम गर्न र वन्यजन्तुको आक्रमणबाट स्थानीयलाई जोगाउन मिलेर काम गर्नुपर्ने बताउनुभएको थियो । जिल्ला वन कार्यालयको समन्वय पर्याप्त नभएको तथा वन श्रोत कुहिएर खेर जाने तर प्रयोग गर्न नपाइने अवस्था अन्त्य हुनुपर्ने पनि उहाँहरुको भनाइ थियो ।
नेपाल प्रहरीकी प्रतिनिधि बविता थापाले जिल्लामा जवरजस्ती करणीका घटना बढि देखिएको बताउँदै समुदायमा पनि सचेतना बढाउनुपर्नेमा जोडदिनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ गुल्मीका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा फेडवास, नेपाल पत्रकार महासंघ लगायत संघसस्थाका प्रतिनिधिहरुले पनि महिला सशक्तिकरण र समावेशीकरणमा सामुदायिक वनले खेलेको भूमिका अतुलनीय भएको बताउँदै आफूहरुले पनि संस्थागत रुपमा समन्वय गरेर काम गरिरहेको बताउनुभएको थियो ।






