वन र कृषिलाई जोडेर उद्यम र उत्पादनमा संगसँगै लैजानुपर्छ- अध्यक्ष ठाकुर भण्डारी

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले वन र कृषिलाई जोडेर उद्यम र उत्पादनमा संगसँगै लैजानुपर्ने बताउनुभएको छ ।

सामुदायिक वनका मुद्दा तथा सवालका विषयमा पाल्पाको रामपुरमा सम्पन्न छलफलमा प्रमुख अतिथिका रुपमा बोल्दै अध्यक्ष भण्डारीले वन सम्वृद्दि र जीविकोपार्जनको आधार भएको बताउनुभयो । उहाँले वनसँग सम्वन्धित खेती गर्न समुदायले पनि अग्रसरता लिनुपर्नेमा जोडदिनुभयो ।

अध्यक्ष भण्डारीले सरकारले सामुदायिक वनमाथि करको भार थोपरेर उपभोक्तालाई मारमा पारेको बताउँदै प्रदेश सरकार चलाउन वनबाटै कर असुल्न खोजिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा फेकोफन लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले स्थानीय सरकार र सामुदायिक वन मिलेर विकास र सम्वृद्दिमा काम गर्नुपर्ने बताउनुभयो ।

पाल्पाको निस्दी गाउँपालिका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले सामुदायिक वनका मुद्दा र सवाल तथा समस्या समाधानका लागि स्थानीय सरकारले सक्दो पहल गर्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका सामुदायिक वन उपभोक्ता महासंघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले सरकारहरुले जथाभावी थोपरेको करविरुद्द महासंघले निरन्तर संघर्ष गर्नुपर्नेमा जोडदिनुभयो ।

रामपुर वन सब डिभिजन कार्यालयका प्रमुख मेघनाथ काफ्लेले सामुदायिक वनलाई नाफामुखी संस्थाको जस्तो कर तिराउनु राम्रो नभएको बताउदै कार्ययोजना बनाउन साना वनहरुमा नितिगत समस्या रहेको बताउनुभयो ।

रामापुर नगरपालिका वडा न ३ का अध्यक्ष दामोदर पाठकले नगरपालिकाले वन ऎन जारी गरेको बताउँदै उपभोक्ता र सरकारबिच हुने नीतिगत अस्पष्टतालाई चिर्दै जानुपर्ने बताउनु भयो ।

कार्यक्रममा रैनादेवी छहरा वन महासंघका अध्यक्ष कृष्ण आत्रेय, महासंघ पूर्वखोलाका अध्यक्ष सम्झना न्यौपाने लगायतले सामुदायिक वन उपभोक्ताले भोग्नुपरेका समस्या लगायतमा आआफ्ना भनाइ राख्नु भएको थियो ।

सामुदायिक वन महासंघ पाल्पाका उपाध्यक्ष हरि पराजुलीको स्वागतबाट सुरु भएको कार्यक्रमको छलफलमा विभिन्न सामुदायिक वनका अध्यक्षहरुले कार्ययोजना, नापी नक्सा, आफ्नै वन भए पनि काठ ल्याउन र घर बनाउन समेत नपाएको लगाएका समस्या राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन फेकोफन रामपुरका अध्यक्ष बिन्दु श्रेष्ठले  गर्नु भएको थियो ।

प्रकाशित मिति : 9 डिसेम्बर 2025, मङ्गलवार
प्रतिक्रिया दिनुहोस