काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीको प्रमुख आतिथ्यतामा ३ दिने एघारौँ नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा पुस ४ गते शुक्रबारदेखि सुरु भएको छ ।
प्रदर्शनीको प्रमुख अतिथि महासंघका अध्यक्ष ठाकुर भण्डारी तथा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष दिनेशराज रेग्मी, नेपाल प्लाईउड उत्पादक संघका होमप्रसाद घिमिरे र इन्टेरियर डिजाईनर एस्सोसिएशन नेपालका अध्यक्ष श्याम श्रेष्ठले संयुक्तरुपमा रिबन काटेर उद्घाटन गरिएको थियो ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालि संयुक्त रुपमा आयोजना गर्दै आइरहेको इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीको यो एघारौँ संस्करण हो।
कार्यक्रममा सामुदायिक वन उपभोगता महासंघका अध्यक्ष ठाकुर भण्डारीले नेपालको वन सम्वृद्दिको आधार भएको बताउँदै सामुदायिक वनका उपभोक्ताले उद्यम विकासमार्फत आयआर्जनका कैयौं काम गरिरहेको बताउनुभयो ।
प्रदर्शनीमा सामुदायिक वन उपभोक्ता महासंघको पनि स्टल राखिएको महासंघका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले जानकारी दिनुभयो ।
महासंघकी महासचिव पार्वता गौतमले प्रदर्शनीले महासंघ र उपभोक्ताका उत्पादनलाई पनि अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन सहयोग पुग्ने बताउनुभयो ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त ब्राण्डहरुका १०० भन्दा बढी स्टल रहेका छन् । उद्घाटनपछि अध्यक्ष भण्डारी लगायतका अतिथीले प्रदर्शनीमा राखिएका काष्ठ सामाग्री, ईन्टेरियर–एक्स्टेरियर डिजाइन तथा मेशिनरी व्यवसायको माग र आपूर्तिबारेका स्टलहरु अवलोकन पनि गर्नुभएको थियो ।
फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनीहरु, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रका नयाँ प्रविधिको जानकारी गराउनको लागि यो प्रदर्शनी विगत ११ वर्षदेखि कोसेढुंगा सावित हुँदै आएको आयोजकले बताएका छन् ।





