सामुदायिक वनको पहिलो पानी प्रशोधन केन्द्र : जहाँ उपभोक्ताले पाएका छन् रोजगारी

पोखरा, पुस ९ । कास्कीको हेम्जामा रहेको फुर्केटारी एक्युफेयर नेपालकै पहिलो सामुदायिक वनद्धारा सञ्चालित पानी प्रशोधन कम्पनी बन्न पुगेको छ ।

बैशाखबाट सञ्चालनमा आएको सो पानी प्रशोधन केन्द्रको प्रतिघण्टा तीनहजार लिटर पानी प्रशोधन गर्ने क्षमता रहेको छ भने दैनिक तीसहजार लिटर पानी उत्पादन गर्दै आएको छ । फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालनमा ल्याएको सो प्रशोधन केन्द्र रु दुई करोड लगानीमा सञ्चालनमा आएको हो । सो कम्पनीका लागि आवश्यक पानी समेत सो सामुदायिक वनबाटै ल्याइएको हो ।


पानी प्रशोधन केन्द्र सञ्चालनका लागि सामुदायिक वनले रु १० लाख लगानी गरेको हो भने बाँकी रकम त्यहाँका उपभोक्ताबाट संकलन गरिएको हो । त्यहाँ उत्पादित पानी हाल पोखरा बजारमा मात्र खपत हुँदै आएको छ । कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तर समेत पाइसकेको छ । पानीलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने योजना समेत रहेको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) स्थानिय महासंघ पोखरा महानगरका अध्यक्ष कमलमणी त्रिपाठीले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारमा विक्री गर्न विभिन्न सरकारी निकायमा समन्वय गरिरहेका छौँ ।”

हाल सो पानी प्रशोधन केन्द्रमा चार जना महिला र छ जना पुरुष गरी जम्मा दश जना कार्यरत छन् । पानी प्रशोधन केन्द्र सञ्चालनमा आएपछि त्यहाँका धेरै उपभोक्ताहरुको रोजगारीका लागि आकर्षण रहेका कारण थोरै मात्र पारिश्रमिक निर्धारण गरिएको प्रशोधन केन्द्रका बजार व्यवस्थापक मुक्तिराम त्रिपाठीले बताउनुभयो ।

त्यहाँको सामुदायिक वनको पानीको मुहान उत्तरतर्फ बगेकाले उत्पादित पानी निकै स्वच्छ रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादित पानी हप्तामा तीन जार त्यहाँका उपभोक्तालाई समेत निःशुल्क वितरण गर्ने गरिएको छ ।

उत्पादित पानीलाई विशेषगरी पोखराका सरकारी कार्यालयमा वितरण गर्ने गरिएको उहाँले बताउनुभयो । प्रशोधन केन्द्रले दैनिक पाँचसय वटा जार वितरण गर्ने गरेको उहाँले प्रष्ट पार्नुभयो । सो प्रशोधन केन्द्रमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले समेत सहयोग रहेको छ ।

प्रकाशित मिति : 24 डिसेम्बर 2020, बिहिवार
प्रतिक्रिया दिनुहोस