छिट्टै वन ऐन बनाउने स्थानीय तहको प्रतिवद्धता

पोखरा । कास्कीको पोखरा महानगरपालिकाले समुदायको हित र वनको विकास हुनेगरि छिट्टै वन ऐन बनाउने प्रतिवद्धता जनाएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय अध्यक्षसहितको टोलीसँग  विहिबार पोखरामा भएको छलफलमा महानगरपालिकाका प्रतिनिधिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
छलफलमा पोखरा महानगरका तर्फबाट रामचन्द्र पौडेलले महानगरपालिकाले गरेका गतिविधि र वन तथा समुदायको हितका लागि अघि बढाइएका योजनाहरुबारे जानकारी गराउनुभएको थियो । वन ऐन र सामुदायिक वनबारे पनि महासंघले उपभोक्ताहरुसँग सहकार्य गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।
यसैगरि महानगरका ४ वटा वडाका प्रतिनिधिहरुले वडामा सामुदायिक वन र महानगरबीच सहकार्य भैरहेको बताउँदै छिट्टै वन ऐन निर्माण गरिने र त्यसमा समुदायसँग परामर्श गरेर अघि बढ्ने बताउनुभयो ।
फेकोफनकी राष्ट्रिय अध्यक्ष भारती पाठकले समुदायको हितका लागि  सामुदायिक वन अघि बढेको बताउँदै स्थानीय तहले वन संरक्षण र सामुदायिक वनको विकासमा सकारात्मक निति बनाएर कार्यान्वयन गर्नुपर्ने खाँचो औल्याउनुभयो । त्यसका लागि सहकार्य गर्न महासंघ तयार रहेको पनि उहाँले जानकारी दिनुभयो ।
छलफलमा महासंघको टिम र महानगरका प्रतिनिधिहरु तथा सामुदायिक वन उपभोक्ता समुहका स्थानीय प्रतिनिधिहरुसमेत सहभागी थिए ।

प्रकाशित मिति : 8 जनवरी 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस