
काठमाडौं। सरकारले खेतबारी बाँझो राखे कारवाही गर्ने भनेको सुनिन्छ । त्यो कारवाही मान्छेलाई गर्ने हो कि वन्यजन्तुलाई गर्ने होला ? – बाँदर र बँदेल तथा दुम्सीले गरिखानै नदिएपछि खेतबारी बाँझै छाडेका अर्घाखाँचीका किसान रामहरि खनालले सरकारलाई गरेको प्रश्न हो यो ।
अहिले धमाधम केन्द्रदेखि प्रदेश सरकारले खेतबारी बाँझो नराख्ने र खाली राखे कारवाहीसम्मको नीति अघि सारिरहँदा पहाडी क्षेत्रका गाउँबस्ती भने झन् झन् खाली हुँदै छन् र खेतबारी बाँझै हुन थालेका छन् । कतिसम्म भने चौबिसै घण्टा पानी लाग्ने, घरबस्ती नजिकैका, खेत र बारी हिजोआज बुट्यानले ढाकेको देखिन्छ ।
गरिखाने कृषिभूमि बाँझै हुनुको कारण सोध्यो भने अधिकांशबाट आउने जवाफ हुन्छ- वन्यजन्तुले गरिखानै दिएन । बाँदर र बँदेल तथा दुम्सीले बसिखानै दिएन् । वन्यजन्तुले बालीनाली गरिखान नदिने समस्याले बढी पीडित भने धेरैजसो सामुदायिक वनका उपभोक्ता हुन्छन् । आफूले हुर्काएको वन हर्लक्क हुँदा खुसी उनीहरुलाई वन बढ्दै जाँदा वन्यजन्तुले दिने दुखले सताउने गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाही भन्नुहुन्छ- वन क्षेत्र नजिक बस्ने समुदाय र उपभोक्ताहरु बढी समस्यामा छन् । उहाँले किसानको बालीनाली नष्ट गर्ने वन्यजन्तु कि सरकारले जिम्मा लिनुपर्ने कि त किसानले मार्न पाउनुपर्ने बताउनुभयो ।
बालीनाली वन्यजन्तुले नष्ट गर्दा उचित राहत र क्षतिपूर्ति नपाउँदा पनि किसानले खेती गर्न छाड्दै गएका हुन् । त्यसको असर समग्र अर्थतन्त्र र उत्पादन प्रणालीमै पर्न थालेको छ। राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठ भन्नुहुन्छ- वन्यजन्तुले सबै खेती सखाप पार्दा किसानको बिचल्ली नै भएकोले कि किसान भोकै मर्नुपर्यो । कि त खेती मास्ने वन्यजन्तु मार्न पाउनुपर्यो ।
हुन त सरकारले खेत बारीमा आउने जङ्गली रातो बाँदर र बँदेल तथा दुम्सीलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेर धपाउन, लखेट्न र पक्रन पाउने कानुनी व्यवस्था गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को अनुसूची संशोधन गर्दै बालीनाली खाने रातो बाँदर र बँदेललाई मार्न पाउने व्यवस्था त गरिएको छ । तर पक्रिएका बँदेल, बाँदरलाई सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा त्यस्ता कार्यालयको मातहतको नजिकको कार्यालयमा बुझाउनु पर्ने र त्यसको सूचना सम्बन्धित वडा कार्यालयमा दिनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ।
पक्रने क्रममा मरेको अवस्थामा स्थानीय तहका एकजना जनप्रतिनिधिसहित अरु पाँच जनाको रोहबरमा मुचुल्का तयारी गरी गैर व्यवसायिक रुपमा खपत गर्न पाइनेछ। खपत गर्दा तौलका आधारमा राजश्वसमेत बुझाउनु पर्ने संशोधित नियमावलीमा व्यवस्था गरिएको छ।
यो व्यवस्थाले बालीनाली क्षति गरेर बँदेल वा बाँदर मार्दा किसानले झन् धेरै सास्ती र खर्च गर्नुपर्ने अवस्था छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवमा नरेश सुवेदी भने बाँदर र बँदेल खेतबारीमा आएर बालीनाली नष्ट गरे ठाउँका ठाउँ मार्न सुझाव दिनुहुन्छ । वन्यजन्तुले खेतीबाली नष्ट गर्दा सास्ती भोग्नुपरेको किसानको गुनासोबारे उहाँ भन्नुहुन्छ- खेतबारीमा बाँदर र बँदेल जस्ता वन्यजन्तुले बाली नष्ट गरेर दुख दिए भने ठाउँको ठाउँ मार्नुस् ।
पछिल्लो एक दशकमा वन्यजन्तु आक्रमणबाट झण्डै ३ सय जनाको ज्यान गएको छ । एक हजारभन्दा बढी घाइते भएका छन् । वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार हात्ती, बाघ, गैंडा, चितुवा, भालु र जंगली कुकुर लगायत वन्यजन्तुको आक्रमणबाट बढी मानवीय क्षति हुने गरेको देखिन्छ ।
वन्यजन्तुको आक्रमणबाट मान्छेको मृत्यु, अङ्गभङ्ग र बालीनालीमा क्षतिजस्ता घटना सामान्य हुन थालेका छन्। वन्यजन्तुको बढ्दो चहलपहलले पूर्वपश्चिम राजमार्गको यात्रा पनि जोखिमपूर्ण बनेको छ।
सर्वसाधारण जीविकोपार्जनको उपाय खोज्दै नजिकैको वनमा घाँस काट्न, दाउरा खोज्न गएको बेलामा वन्यजन्तुको आक्रमण बढी हुने गरेको देखिन्छ । उनीहरु हात्ती, बाघ, चितुवा, गैंडा र जंगली बँदेलको आक्रमणमा पर्ने गरेका छन् । धेरैजसो निकुञ्ज वा संरक्षित क्षेत्र आसपासका जनता वन्यजन्तुको आक्रमणमा पर्ने गरेको तथ्यांकले देखाउँछ । गत वर्षमात्रै चितवन राष्ट्रिय निकुञ्ज आसपासमा एक दर्जनभन्दा धेरै मानिसको मृत्यु वन्यजन्तुको आक्रमणबाट भएको छ ।
हालै नुवाकोटमा बाँदरको आक्रमणबाट समेत एक जनाले ज्यान गुमाएको खवर सार्वजनिक भएको थियो ।
सरकारको नीति भने वन्यजन्तु जोगाउने तर मान्छे लखेट्ने खालको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बाघ बढी भए भने पनि त्यसको व्यवस्थापन गर्न र बाघको संख्या घटाउन तर्फ कुनै पहल हुन सकेको छैन् । बरु मानिसहरुले बस्ती छाडेर हिडिरहेका छन् ।
हिमवन्तीकी शारदा प्रसाई भन्नुहुन्छ- सरकारको नीति हेर्दा वन्यजन्तु जोगाउने तर मान्छे लखेट्ने खालको छ ।