काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघले गर्मी मौसमको शुरुआत तथा हावाहुरीका कारण आगलागीको समय सुरु हुन गएको भन्दे वन डढेलो नियन्त्रण सम्बन्धी सामुदायिक तथा सरकारी योजनाहरूको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायहरु बीच समन्वयको खाँचो औल्याएको छ ।
फेकोफनका तर्फबाट अध्यक्ष ठाकुर भण्डारीले विज्ञप्ति जारी गर्दै डढेलो नियन्त्रण अभियान सन्चालन गरी जैविकविविधता जोगाउने साथै जनधनको क्षति हुनसक्नेप्रति सामुदायिक वन उपभोक्ता महासंघ नेपालको गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाइएको छ ।
विगतका वर्षहरुमा डोल्पा, कालिकोट, भोजपुर, धनकुटा, ललितपुर, रामेछाप, गुल्मी लगायतका जिल्लाहरुमा वन डढेलो निभाउने क्रममा सामुदायिक वनका उपभोक्ताहरु तथा सुरक्षाकर्मीहरुको मृत्यु भएका घटना स्मरण गर्दे महासंघले डढेलो रोकथाममा सामुदायिक वन उपभोक्ता समूहले गर्दै आएको अथक प्रयासप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
वन डढेलो नियन्त्रण गर्ने जस्तो जोखिमपूर्ण र पुनित कार्यमा वन उपभोक्ता समूहले गरेको योगदानको कुनै न कुनै रुपमा उच्च मूल्याकन हुने कुराप्रति हामी विश्वास दिलाउन चाहन्छौ भन्दै विज्ञप्तिमा औषत तापक्रम निरन्तर बढ्दै गएका कारण वन डढेलोको प्रकोपमा थप वृद्धि हुन सक्ने कुरा सहजै अनुमान गर्न सकिने भएकोले वन डढेलो नियन्त्रणका लागि निम्न विषयहरुमा ध्यान केन्द्रित गर्नका लागि हार्दिक आव्हान गरिएको छ ।
जसअनुसार दैनिक रुपमा वनमा जाने गोठाला, घाँस दाउरा गर्न जाने कृषक समूह तथा जडीबुटी र काठ दाउरा संकलन गर्न जाने व्यक्तिहरुलाई वनमा डढेलो लाग्न नदिनका लागि वन क्षेत्रमा नै गई नियमित रुपमा सचेतना अभिवृद्धि गरी निरोधात्मक उपायहरु अवलम्बन गर्नुपर्छ भनिएको छ ।
यसैगरी वन क्षेत्रमा जांदा आगलागी गराउन सक्ने वस्तु नलैजान सचेत गराउने र वनमा आगलागी गराएमा कडा कानूनी कारवाही हुने भनी सचेत गराई निषेधात्मक उपायहरु अवलम्बन गर्ने र सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूहले आ-आफ्नो वन व्यवस्थापन योजनामा गरिएको व्यवस्था अनुसार अविलम्ब अग्नी रेखा निर्माण तथा पुनः निर्माण गर्ने, वन र बस्ती बीचमा भएका पत्कर तथा झाडी हटाउने जस्ता कार्य गरी वनमा प्राकृतिक रुपमा आगलागी भइहालेमा थप फैलन नदिने जस्ता नियन्त्रणात्मक कार्यहरु गर्न सुझाव दिइएको छ ।
कुनै कारणले वनमा आगलागी भएको देखिएमा नियन्त्रणका लागि तत्काल सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय र अन्य सहयोगी सरोकारवाला निकायहरुलाई खबर गरी सहयोग र सहकार्यका लागि आग्रह गरी समुदाय परिचालन गर्दै समुदायस्तरमा प्राप्त स्रोत साधनको उपयोग गरी वन डढेलो थप फैलन नदिई नियन्त्रण गर्न पनि महासंघले आग्रह गरेको छ ।
वन डढेलो नियन्त्रण गर्दा सामुहिक प्रयास जारी राखी सकेसम्म मानवीय क्षति हुनबाट बच्ने उपाय अवलम्बन गर्ने र कुनै व्याक्ति वन डढेलोको चपेटामा पर्न गएमा तत्काल उपचारमा प्राथमिकता दिनुपर्नेमा महासंघको जोड छ ।
देशभरका सामुदायिक वन उपभोक्ता समूहले माथि उल्लेखित प्रयासहरु जारी राखेको र यसका बावजुद खासगरी प्राकृतिक कारण वा मानवीय त्रुटीका कारण वन डढेलो अझैपनि समुदायको नियन्त्रण बाहिर रहन सक्ने भएकोले सम्बन्धित निकाय र सरोकारवालाहरुको ध्यानाकर्षण पनि महासंघले गरेको छ ।
महासंघले वन डढेलो नियन्त्रणका लागि वन उपभोक्ता समूहले मागेको सहयोग समयमा नै उपलब्ध गराउने र वन डढेलो नियन्त्रणका लागि वन उपभोक्ता समूहलाई औजार, प्राविधिक सहयोग र अन्य आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोडदिएको छ ।
वन डढेलो नियन्त्रणका क्रममा वन उपभोक्ता समूहका सदस्यहरु तथा अन्य सरोकारवालाहरु घाइते हुन सक्ने भएकोले तत्काल निःशुल्क उपचारका लागि सम्बन्धित स्थानीय तह, प्रदेश सरकार, नेपाल सरकारका सम्बन्धित निकायले सहयोग पुर्याउनुपर्ने माग फेकोफनको छ ।
यसैगरी वन डढेलो नियन्त्रणका क्रममा घाइते भएका व्याक्तिका परिवारलाई अविलम्ब राहत उपलब्ध गराउने, वन डढेलो प्रभावित समुदाय, वन कार्यालय तथा सुरक्षा निकायका बीच निरन्तर सहकार्य गर्ने वातावरण सृजना गर्ने, वन डढेलोका कारण हुन जाने कार्बन उत्सर्जनले विश्वव्यापी तापक्रम समेत बढन जाने र वायु प्रदूषण समेत वृद्धि भई गम्भीर स्वास्थ्य समस्या सृजना हुने भएकोले वन डढेलोलाई सबैको साझा चुनौतीको रुपमा लिई समुदाय, सरकार र सरोकारवालाहरुका बीचमा गहन सहकार्य हुनुपर्नेमा महासंघको जोड छ ।
फेकोफनले उठाएका विषयमा सरकारी निकाय र सरोकारवालाहरुले समयमा नै ध्यान दिएमा वन डढेलो नियन्त्रणका लागि समुदायले गर्दै आएका प्रयासहरूले सफलता प्राप्त गर्ने भएकोले यसका लागि समुदाय, सरकार र सरोकारवालहरुका बीचमा सहयोग समन्वय र सहकार्यका लागि हार्दिक आव्हानसमेत अध्यक्ष ठाकुर भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।



