सामुदायिक वनको योजनाले नमुना क्षेत्र बन्दैछ हात्तीदह सिमसार क्षेत्र- भारतबाट पनि आउँछन् पर्यटक, आयआर्जन बढाउन वनस्टे सञ्चालन

काठमाडौं । तपाइँले ʻवनस्टे ʼ सुन्नु र देख्नु भएको छ ?  छैन भने अब होमस्टे जस्तै समुदायले सामुदायिक वन क्षेत्रमा चलाएको बस्ने खाने थलो वनस्टेको अनुभव पनि तपाइँले सहजै पाउनु हुनेछ । मधेश प्रदेशको सिराहा जिल्लाको लाहान नगरपालिका वडा नम्वर १५ शोभापुरमा अब घुमफिरसँगै पर्यटकीय आनन्द लिन वन स्टे पनि सुरु हुँदैछ ।

कोइरालो खोला सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा हात्ती दह सिमसार तथा पर्यापर्यटन क्षेत्र बनाएर आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने काम भैरहेको छ । तिनै पर्यटकलाई सहज र उत्कृष्ठ सेवा दिनेगरी वनस्टे सञ्चालनको काम अघि बढाइएको हो ।

५७ दशमलव १९ हेक्टरमा फैलिएको कोइरालो खोला सामुदायिक वन उपभोक्ता समूहले लाहान चोकदेखि करिव ८ किलोमिटर उत्तर चुरेसँगै जोडिएको क्षेत्रमा जलाधार क्षेत्र संरक्षणसँगै आयआर्जन र पर्यापर्यटन विकास मार्फत आम्दानीको श्रोत बढाउने र स्थानीय विपन्न उपभोक्तालाई प्राथमिकता दिएर आर्थिक सम्वृद्दिको योजना कार्यान्वयनमा ल्याएको  उपभोक्ता समूहका अध्यक्ष रुद्रनारायण चौधरीले जानकारी दिनुभयो ।

२०५७ सालमा हस्तान्तरण भएको यो सामुदायिक वनमा ११९ घरधुरी उपभोक्ता छन् । तिनै उपभोक्तालाई रोजगारी दिने र विपन्न उपभोक्ताको आयआर्जन बढाउने उद्देश्यले समूहले माछापालनदेखि बेमौसमी तरकारी खेती तथा ससाना उद्यमका कामहरु पनि अघि बढाएको छ ।

पर्यापर्टन विकासका लागि पार्क बनाएर ३ हेक्टर जति वन क्षेत्र अतिक्रमणबाट पनि जोगाइएको छ । पार्कमा घुमफिर र वनभोजका लागि अलगअलग स्थलहरु बनाएर पर्यटक आकर्षित गर्ने र आम्दानी लिने काम भैरहेको छ । वन्यजन्तु उद्दार केन्द्रदेखि बाल उद्यान र तालमा बोटिङको समेत व्यवस्था गरिएको छ । अध्यक्ष चौधरीका अनुसार यहाँ भारतबाट समेत पर्यटकहरु घुम्न आउने गरेका छन् भने पर्यापर्यटन विकासका काम अघि बढेपछि ८ जनाले पूर्णकालीन तथा ६ जनाले पार्टटाइम रोजगारी पनि पाएका छन् ।

वन संरक्षण र व्यवस्थापनका लागि २ जना कर्मचारीको व्यवस्था गरिएको छ । झाडी सफाइ, कटनीछटनी, आगलागी नियन्त्रणका लागि अग्निरेखा निर्माण जस्ता काम वर्षेनी गरिन्छ । सात लाख खर्च गरेर बनाइएको संरक्षण पोखरीमा माछा पालनसमेत गरिएको छ । यो सबै काम आयआर्जन बढाउने र वनको दिगो व्यवस्थापनका लागि हो । संरक्षण तथा व्यवस्थापन उपभोक्ताको जिम्मामा आएपछि यहाँको बन हराभरा हुँदै गएको छ । सालहरु हुर्केर लोभलाग्दा हुँदै गएका छन् । उपभोक्ताले बन क्षेत्रबाट प्रत्यक्ष लाभ अहिलेसम्म नपाए पनि व्यवस्थापनमा भने दिनरात खटिँदै आएका छन् ।

कोइरालोखोला सामुदायिक वनले गरेको सबैभन्दा लोभलाग्दो र प्रसंशनीय अर्को काम भनेको जलाधार संरक्षण र ताल निर्माण हो । यहाँको पानीको मुल संरक्षण तथा चुरेसँग जोडिएकोले ताल निर्माण गरेर पानी भण्डारन गर्दा वन्यजन्तुका लागि पानी खान र जैविक विविधता संरक्षणमा निकै ठूलो योगदान पुगेको छ । यस्तै पानीको श्रोत बढेर तल्लो क्षेत्रमा पानी सुक्न नदिन समुदायले निकै महत्वपूर्ण काम गरेको छ । स्थानीय उपभोक्ता तथा समूहका कार्यसमिति सदस्य मुंगालाल चौधरीले पानीको श्रोत संरक्षणले चुरे क्षेत्रमा निकै ठूलो सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो- सामुदायिक वनले पानीको श्रोत संरक्षण गरेर चुरे क्षेत्रमा बस्नेहरुले दक्षिण मधेशलाई पानीको श्रोत बढाउन सहयोग गरेको पुष्टि भएको छ । पहिले ट्युवलेमा पानी आउँथेन अहिले सजिलै आउन थालेको छ । यसले खेतीबाली र बेमौसमी तरकारीमा पनि सहयोग पुगेको छ ।

पानीका श्रोत संरक्षण र वन व्यवस्थापनमार्फत सम्वृद्धिका लागि सामुदायिक वनहरूले तराई मधेशमा जलाधार क्षेत्र तथा जैविक विवधता संरक्षणलाई अभियानकै रुपमा अघि बढाएका छन् । सिरहाका एक सय १४ मध्ये चुरेमा जोडिएका ९ वटा सामुदायिक वनमा समुदायसँग सहकार्य र दातृ निकायसँगको सहयोगमा जलाधार व्यवस्थापन, वृक्षरोपण तथा जैविक विविधता संरक्षण परियोजना अघि बढाइएको हो ।

स्थानीय समूह र उपभोक्तालाई वन व्यवस्थापन तथा पानीको श्रोत संरक्षणमा सहयोग गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले जलाधार तथा जैविक विविधता संरक्षण गरी पानीको श्रोत बढाउँदै स्थानीय उपभोक्तालाई कृषि उत्पादनमा सघाउने उद्देश्यले महासंघले काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो- समुदायको सक्रियतामा जे काम भैरहेको छ यसले चुरे क्षेत्र जोगाउन समुदाय नै चाहिन्छ र वन हराभरा भएमात्रै पानीका श्रोत बढ्छन् भन्ने पुष्टि गरेको छ । त्यसैले सामुदायिक वन उपभोक्ता महासंघले चुरेलाई समुदायकै जिम्मा दिन र उपभोक्ताको आयआर्जन बढाउँदै वनको दिगो व्यवस्थापन गर्न सरकारसँग सहकार्य र साझेदारी गर्न चाहन्छ ।

सामुदायिक वन उपभोक्ता महासंघले अभियान अघि बढाएको फेकोफनका सचिवालय सदस्य विष्णुलाल साहले चुरे क्षेत्रमा वनलाई हराभरा बनाउने र पानीका श्रोत वृद्धि गरी उपभोक्ताको आयआर्जनमा सहयोग पुर्याँउँदै मधेश प्रदेशको दक्षिणी भूभागमा जलसतह सुक्न नदिन सामुदायिक वनहरुले अग्रसरता देखाउँदा चुरे जोगिने र मधेश मरुभूमिकरण हुनबाट बच्ने बताउनुभयो ।

फेकोफनको संरक्षण परियोजना संयोजक टेकेन्द्र शाहले सिराहाका एक सय १४ मध्ये चुरेमा जोडिएका ९ वटा सामुदायिक वनमा समुदायसँग सहकार्य र दातृ निकायसँगको सहयोगमा जलाधार व्यवस्थापन, वृक्षरोपण तथा जैविक विविधता संरक्षण परियोजना अघि बढाइएको जानकारी दिनुभयो ।

इन्जिनियर नविनकुमार ठाकुरका अनुसार जलाधार संरक्षणको यो अभियान समग्र तराइ मधेशकै लागि सिकाइ हुने देखिएको छ। तराइ मधेशमा पानीका श्रोत सुक्दै गएको बेला सामुदायिक वन उपभोक्ता महासंघको सक्रियतामा चुरेका जलाधार क्षेत्र संरक्षण र वन व्यवस्थापनले मधेशको दक्षिण भेगलाई पनि सिँचाइ र खानेपानीमा सहयोग पुग्नसक्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : 21 मार्च 2026, शनिवार
प्रतिक्रिया दिनुहोस