विनयी त्रिवेणी सामुदायिक वनको जैविक मल उद्योगलाई प्रशोधन प्रविधि हस्तान्तरण

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ र संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ)द्वारा नवलपुरको विनयी त्रिवेणी सामुदायिक वनले सञ्चालन गरेको जैविक मल उद्योगका लागि प्रविधि हस्तान्तरण गरिएको छ । माटोको उत्पादकत्व बढाउँदै रासायनिक मलमाथिको परनिर्भरता कम गर्न जैविक मल उत्पादन गरेको विनयी जैविक मल उद्योगलाई एक समारोहका बीच प्रविधि हस्तान्तरण गरिएको हो ।

जैविक मल उत्पादक उद्यमको मुल्यअभिवृद्दिका लागि प्रविधिको हस्तान्तरण कार्यक्रमको एक समारोहका बीच फेकोफनका संघीय अध्यक्ष ठाकुर भण्डारी र एफएओ नेपाल-बंगलादेशका प्रतिनिधि केन शिमिजूले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

त्यस अवसरमा उद्योगलाई जैविक मल प्रशोधन गर्ने प्रविधि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा एफएओका नेपाल प्रतिनिधि केन शिमिजूले फेकोफनले सामुदायिक वन उद्यमलाई देशभर प्रोत्साहन गरिरहेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघको कामको प्रसंशा गर्नुभयो ।

उहाँले सामुदायिक वनहरुले उद्यमशीलता र माटोको बचाउका लागि जैविक मल उत्पादनलाई उद्योगकै रुपमा अघि बढाएकोमा खुसी समेत व्यक्त गर्नुभयो ।

फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनका उपभोक्तालाई आर्थिक रुपमा सबल बनाउँदै मुलुकको आर्थिक सम्वृद्दिमा सहयोग पुर्याउने  लक्ष्यसहित वन श्रोतमा आधारित उद्यमलाई प्राथमिकतामा राखिएको बताउनुभयो । देशभरका सामुदायिक वनलाई उद्यममा जोड्ने पहल भैरहेको भन्दै अध्यक्ष भण्डारीले कानुनी सहजताका लागि सरकारसँग समन्वय भैरहेको पनि जानकारी दिनुभयो ।

उपभोक्ताको उद्यमशीलतामा सहयोग गरेकोमा अध्यक्ष भण्डारीले एफएओलाई पनि धन्यवाद दिँदै जैविक मलले माटोको उभर्राशक्ति बढाउन र जैविक खेती प्रणालीलाई प्राथमिकतामा राख्न सघाउने पनि बनाउनुभयो । अध्यक्ष भण्डारीले देशभित्रै जैविक मल उत्पादन बढाउँदै जाने हो भने रासायनिक मल किन्न अरबौं रकम विदेशिनबाट जोगिने पनि बताउनुभयो।

नवलपुरस्थित विनयी त्रिवेणी सामुदायिक वनले वन क्षेत्रमा खेर जाने घाँस, पातपतिङ्गर र झाडीलाई सङ्कलन गरेर महिला समूहकै सक्रियतामा जैविक मल कारखाना सञ्चालन गरिरहेको हो ।

मल उद्यमले महिलाहरूलाई रोजगारीमा पनि सघाएको छ । समूहले २ रूपैयाँ किलोमा हरियो झारपात किनेर त्यसको प्रशोधन गरी ९० दिनमा मल उत्पादन गर्दै आएको छ ।

वन पैदावार सङ्कलनमा जिल्लाका अरू वनबाट समेत झारपात संकलन गर्दा ८० जना महिलाहरूले रोजगारी पाएका छन । उत्पादित मल पालिकाभित्र प्रतिकिलो २० देखि २५ किलो रट्पैठयाँमा बिक्री गरिएको विनयी जैविक मल उद्योगकी व्यवस्थापक मिना पौडेलले बताउनुभयो ।

झाडी सफाइदेखि मल बनाउने र बजार व्यवस्थापनसम्मका काममा महिलाहरूकै सक्रियता छ । अध्यक्ष बालु पुरीका अनुसार महिलाहरूले सिजनमा ४ घण्टा काम गर्दा १२ देखि १५ सय दैनिक कमाउने गरेका छन् ।

रासायनिक मल प्रयोग छाड्न सुरूमा प्रतिकठ्ठा १० किलोबाट सुरू गर्न सकिने र पछि प्रतिकठ्ठा २ किलोले पुग्ने प्राविधिकहरु बताउँछन । महिला सक्रियतामा जैविक मल उत्पादन उद्योग नै सञ्चालन सुरू भएपछि विनयी त्रिवेणी गाउँपालिकाले रासायनिक मल मुक्त पालिका बनाउने योजना समेत ल्याएको छ ।

९ वटा सामुदायिक वनलाई उद्योगमा जोड्ने र लगानी बढाउने तयारी उद्योगले गरेको छ ।  १८४ हेक्टरमा फैलिएको विनयी त्रिवेणी सामुदायिक वनमा दुई सयभन्दा धेरै घरधुरीका उपभोक्ता आवद्ध छन । उत्पादनको आफ्नै ब्राण्ड बनाउने  र व्यवसायिक रुपमै मल उद्योग विस्तार गर्ने योजना विनयी त्रिवेणी सामुदायिक वनको छ ।

 

प्रकाशित मिति : 15 मे 2026, शुक्रवार
प्रतिक्रिया दिनुहोस