
काठमाण्डौ – सामुदायिक वन उपभोक्ता महासंघ नेपालले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएको छ । मंगलबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग भएको छलफलमा संघले भ्रमण वर्ष सफल पार्न संस्थागत प्रतिबद्धता जनाएको हो ।
भ्रमण वर्षलाई सफल बनाउन आवश्यक सहयोग गर्न मन्त्री भट्टराईले विभिन्न संघ संस्थासँग आग्रह गरेको थिए ।
छलफलमा सामुदायिक वन उपभोक्ता महासंघले आफ्ना सरोकार र समस्यासमेत मन्त्री भट्टराई समक्ष पेश गरेको छ । यसका साथै भ्रमण वर्षमा सहयोग र सहभागिताको प्रतिबद्धता पनि महासंघले गरेको छ ।
भ्रमण वर्ष सफल बनाउने प्रतिबद्धता जनाउँदै महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक वनको प्रचारका लागि पनि भ्रमण वर्ष फलदायी रहने प्रतिक्रिया जनाउनुुभयो । उहाँले भन्नुभयो ‘भ्रमण वर्षमा सामुदायिक वनको उत्पादन तथा सामुदायिक वनले पुर्याएको सहयोगको बारेमा भ्रमणमा आउने पर्यटकलाई जानकारी गराउन सके हाम्रा उत्पादन तथा हाम्रा सामुदायिक वनको प्रचार हुन सक्छ ।’
छलफल कार्यक्रममा अध्यक्ष पाठकले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भमा हुने कार्यक्रममा वनका उत्पादनलाई समेत ठाउँ दिनका लागि आग्रह गरेकी थिइन् ।
छलफल कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ, गैर सरकारी संस्था महासंघ र सामूदायिक वन उपभोक्ता महासंघका प्रतिनिधि सहभागी रहेका थिए ।
कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले पर्यटन वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गराउन पनि संगठनहरुसँगको छलफल महत्वपूर्ण हुने उनले बताए । मंगलबारसम्म ६० वटा विभिन्न राष्ट्रिय संगठनहरुसँग छलफल भएको र बुधबार पनि गरी करिब ८० वटा संगठनहरुसँग पर्यटन वर्षका विषयमा छलफल गर्ने योजना रहेको उनले जानकारी दिए ।
जनवरी १ बाट नेपालले भ्रमण वर्ष २०२० मनाउँदै छ । दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।