बुधबार बिहान काठमाण्डौको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन

काठमाण्डौ – बुधबार बिहान काठमाण्डौको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि गएको सोमबार ३ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको तापक्रम आज वर्षकै कम मापन गरिएको हो । यस्तै बुधबार बिहान जुम्लाको तापक्रम माइनस ६ दशमलव ५ डिग्री सेल्सियसमा मापन गरिएको छ । यसअघि गएको १ गते जुम्लाको तापक्रम यो वर्षकै कम माइनस ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बुधबार बिहान महाशाखाले उल्लेख गरेको विवरण अनुसार अनुसार, जुम्ला र काठमाण्डौ पछि दाङमा चिसो छ । त्यहाँको न्यूनतम तापक्रम ३ दशमलव ५ डीग्री सेल्सियस मापन भएको छ । त्यसैगरी, ओखलढुंगामा ४, सिमरामा ६ खशमलव ५ तथा धनकुटा र डडेल्धुराको समान ६ दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।

जाडो र शीतलहरको समयमा चिसोको कारण ज्यानै जानसक्ने भएकाले समयमै न्यानो कपडाको जोहो गर्न, शीतलहरको समयमा खुला समयमा धेरै नबस्न, घरबाहिर निस्कनै परे वा धेरै समय बस्नु परे न्यानो कपडा लगाउन, राति सिरक, कम्बल ओढ्न र सुत्दा छाती र टाउको अनिवार्य छोप्न पनि विज्ञहरुले सुझाव दिएका छन् ।

मौसमविद्का अनुसार सामान्यतया २४ घण्टासम्म बाक्लो हुस्सु कुहिरो लागे शीतलहर चलेको मानिन्छ । जाडो मौसममा तराईमा शीतलहर र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातले जनजीवन प्रभावित बन्ने गरेको छ ।

प्रकाशित मिति : 25 डिसेम्बर 2019, बुधवार
प्रतिक्रिया दिनुहोस