
काठमाण्डौ – काठमाण्डौ उपत्यकाको बिहीबारको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस मापन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार बिहान पौने ९ बजे काठमाण्डौ उपत्यकाको तापक्रम ० दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको हो ।
न्यूनतम तापक्रम शून्यमा झरे पनि दिउँसोको समयमा भने तापक्रम बढ्ने मौसमविद्को पूर्वानुमान छ । मौसमविद्का अनुसार, बिहीबार काठमाण्डौको अधिकतम तापक्रम १६ दशमलव ७ डिग्री सेल्सियससम्म उक्लन सक्छ ।
यसअघि पुस ८ गते काठमाण्डौको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो । पुस ९ गते बुधबार काठमाण्डौको न्यूनतम तापक्रम २.९ मापन भएको थियो ।
महाशाखाको बिहीबार बिहानको मौसम मापन विवरण अनुसार, जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको छ । महाशाखाका अनुसार, डडेल्धुरामा १ दशमलव ७, वीरेन्द्रनगरमा २, दीपायलमा ३ दशमलव ५, ओखलढुंगामा ३ दशमलव ५ र ताप्लेजुङमा ४ दशमलव ४ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको छ ।
गएको २४ घण्टामा जोमसोमको तापक्रम माइनस ३ दशमलव ५ र जिरीको माइनस ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।