सामुदायिक वनमाथि सरकारले लगाएकाे तेहेरो कर फिर्ता गर्न माग

कास्की – सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनमाथि सरकारले लगाएकाे तेहेरो कर फिर्ता गर्न माग गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक वन समूहलाई तीनै तहका सरकारले छुट्टाछुट्टै गरी ९० प्रतिशत कर लिनु अवैज्ञानिक भएको बताइन् ।

कानूनी अवरोधका कारण उपभोक्ताले संरक्षण गरेको वनबाट पानी, दाउरा, जडीबुटी, काठ जस्ता वनपैदावार निकासीमा अप्ठेरोपरेको कारण उपयोग गर्न नपाएका कारण नष्ट भएर खेर जाने गरेको उनको भनाइ थियाे ।

उपभोक्ताले संरक्षण गरेको वनमा वैज्ञानिक वन व्यवस्थापन नीति लागू गरेर जथाभावी फडानी गरेको आरोप लगाउँदै उनले याे व्यवस्था खारेज गरी दिगो वन व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

विरोधसभामा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष भीमप्रकाश खड्काले हरियाली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको सामुदायिक वनको हकअधिकार सुनिश्चित गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : 29 डिसेम्बर 2019, आइतवार
प्रतिक्रिया दिनुहोस