
काठमाण्डाै – अंग्रेजी नयाँ वर्ष १ जनवरी २०२० अर्थात् आगामी बुधबार देशमा मौसमले त्यति धेरै साथ नदिने संकेत पाइएको छ । यसको अघिल्लो दिन भोलि मंगलबारदेखि नै मौसममा गडबड आउने संकेत मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
महाशाखाका अनुसार भोलि मंगलबार दिउँसो र राति देशैभरी मौसम बदली रहनेछ ।
महाशाखाले बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी र पूर्वी पहाडी भूभागमा हल्का बर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।
उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुने सम्भावना औंल्याइएको छ ।
बुधबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुने जनाइएको छ ।
महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली भने विकसित भएको छैन ।