वनमाथि लगाइएकाे तेहरो कर फिर्ता गर्न बुटवलमा प्रदर्शन

रूपन्देही – सामुदायिक वनमाथि सरकारले तेहरो कर लगाएको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघले सोमबार बुटवलमा प्रदर्शन गरेको छ ।

तेहरो कर तुरुन्त फिर्ता गर्न माग गर्दै ५ नं. प्रदेशका सबै जिल्लाका सामुदायिक वनका उपभोक्ताले विरोध प्रदर्शन र सभाका गरेका हुन् । विरोध सभालाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ संघीय अध्यक्ष भारती पाठकले सामुदायिक वनको अधिकार कटौती गर्न राज्य लागेको आरोप लगाइन् ।

वनको क्षेत्रमा उपभोक्ताको अधिकार कटौती हुने गरी नियम कानून बनिरहेको उनले बताएकी थिइन् । यस्तै, वन महासंघका उपाध्यक्ष भीमप्रकाश खड्काले आफ्नो अधिकार रक्षाका लागि सामुदायिक वन फेरि एक पटक आन्दोलनमा जानुपर्ने स्थिति आएको बताए ।

कार्यक्रममा वन महासंघका महासचिव बिर्खबहादुर शाहीले सामुदायिक वन समूहलाई तीनै तहका सरकारले छुट्टाछुट्टै गरी ९० प्रतिशत कर लिनु अवैज्ञानिक भएको भन्दै देशब्यापी आन्दोलनमा उत्रिनुपरेको बताए ।

वन र वातावरण संरक्षणमा सामुदायिक वन समूहले गरेको योगदानका कारण नेपाल विश्वसामु सामुदायिक वनको देशका रूपमा परिचित हुन सफल भएको भन्दै उनले वन महासंघले एकद्वार प्रणालीबाट कर लिन सरकारसँग माग गरे ।

विराेध सभामा ५ नं. प्रदेशका सबै जिल्लाका सामुदायिक वनका उपभोक्ताको सहभागिता रहेको थियो । सरकारले लगाएकाे तेहेराे कर खारेजीकाे माग गर्दै सामुदायिक वन उपभाेक्ता महासंघले देशव्यापी विराेधका कार्यक्रम गरिरहेकाे छ ।

प्रकाशित मिति : 31 डिसेम्बर 2019, मङ्गलवार
प्रतिक्रिया दिनुहोस