नेपाल भ्रमण वर्ष २०२० को सुभारम्भ : ‘प्रकृति बिगार्ने होइन सिँगार्ने हो’

काठमाण्डौ – काठमाण्डौको दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष–२०२० को भव्य उद्घाटन भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले स्वागत गरेपछि राष्ट्रपतिलाई भ्रमण वर्षको लाइट हस्तान्तरण गरिएको थियो ।

काठमाण्डौ उपत्यका वरपरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूले विशेष झाँकीको प्रदर्शन गरी कार्यक्रमस्थल प्रवेश गरेपछि उद्घाटन शत्र सुरु भएको थियो ।

उद्घाटन समारोहमा नेपालमा विशिष्ट पदाधिकारीहरूसँगै नेपालस्थित विदेशी राजदूत र दुतावासका अधिकारीहरू लगायत विदेशी पाहुनाको पनि उपस्थिति रहेको थियो ।

भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङलगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

पर्यटनमन्त्री भट्टराईको निम्तो

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणमा आउन पर्यटकहरुलाई अपील गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै भट्टराईले विश्वभरका पर्यटकहरुलाई नेपाल भ्रमणमा आउन आग्रह गरेका हुन् । पर्यटनमन्त्री भट्टराईले भने, ‘नेपालको अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस् । जिन्दगीभरका लागि मिठो अनुभव लिएर जानुहोस् ।’

उनले अघि भने, ‘नेपाल यो धर्तीकै मौलिक संस्कृतिको केन्द्र हो, विविधतापूर्ण संस्कृतिमा रमाएर जिन्दगीभरका लागि अद्भुत अनुभुति सँगालेर जानुहोस् ।’

प्रकृति बिगारेर होइन सिँगारेर पर्यटक आकर्षित गर्न सकिन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति बिगारेरभन्दा सिँगारेर पर्यटक आकर्षित गर्न सकिने बताएकी छन् ।

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्दै भण्डारीले विश्व शान्ति र भातृत्वको सम्बन्ध विस्तार गर्न पर्यटक उद्योगमार्फत मुलुकको समृद्धि चाहने सरकारको उद्धेश्य पूरा हुने विश्वास व्यक्त गरिन् ।

उनले भनिन् ‘पाथीभरा, हलेसी, खप्तड जस्ता धार्मिक स्थलहरु र १४ वटा अग्ला हिमशृङ्खला, काठमाण्डौ, लुम्बिनी, चितवन विश्वसम्पदा सूचीमा परेका स्थलहरुले विश्वका पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’

उनले समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको उद्धेश्यलाई पूरा गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक स्थललाई पर्यटकीय स्थलको रुपमा विकास गर्नु पर्ने बताइन् ।

सरकारले सन् २०२० नेपाल भ्रमण वर्षको रुपमा मनाएर यो वर्षमा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

प्रकाशित मिति : 1 जनवरी 2020, बुधवार
प्रतिक्रिया दिनुहोस