अस्ट्रेलियाको न्यु साउथ वेल्समा एक साता लामो संकटकाल घोषणा गरिएको छ । डढेलोको खतरा बढेपछि न्यु साउथ वेल्समा संकटकाल घोषणा गरिएको बीबीसीले उल्लेख गरेकाे छ।
पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता तापक्रम बढ्ने र तेज हावा चल्ने पूर्वानुमान गरिएपछि डढेलोको खतरा अझै बढाउने बताइएको छ।
सेप्टेम्बरदेखि डढेलोले अस्ट्रेलियामा १८ जनाको मृत्यु भइसकेको छ भने भिक्टोरिया र न्यू साउथ वेल्समा १ हजार २ सय घर डढेलोमा परेर नष्ट भएका छन् । यो सातामात्रै अस्ट्रेलियामा १७ जना हराएका छन् ।
हजारौं मानिस न्यू साउथ वेल्सका खतरा मानिएका सहरबाट अन्यत्र निस्किएका छन् । ती क्षेत्रमा अत्यावश्यक सामग्रीहरुको समेत अभाव हुन थालेको छ ।
संकटकाल शुक्रबार बिहान स्थानीय समय अनुसार ८ बजेदेखि सुरु हुने र सात दिन रहने बताइएको छ।
यसअघि अधिकारीहरूले न्यू साउथ वेल्सको २६० किलोमिटर लामो तटीय क्षेत्र शनिबार अगावै खाली गर्न निर्देशन दिएका थिए । सिड्नी र राजधानी क्यानबेरा जाने सडकहरू जाम भएका छन् भने पेट्रोल पम्पहरूमा लामो लाइन लागेको छ।