पहिलो जलवायु दिवसमा नेपाल भ्रमण वर्ष २०२०को प्रचार

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको गुफाडाँडामा पहिलो पटक जलवायु दिवस मनाइएको छ । गएको वर्षको पुसमा प्रथम राष्ट्रिय जलवायु सम्मेलन गरिएको स्थलमा औपचारिक कार्यक्रम गरेर जलवायु दिवस मनाइएको हो । दिवसको अवसरमा भ्रमण वर्ष २०२० को पनि प्रचार गरिएको थियो ।

भ्रमण वर्षको स्वागत गर्न ७७ वटै जिल्ला समन्वय समितिका प्रतिनिधि गुफाडाँडामा भेला भएका थिए । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु दिवसको अवसरमा साढे दुई हजार मिटरको उचाइमा आयोजना गरेको भ्रमण वर्ष स्वागत कार्यक्रमको संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नेपाललगायत तेस्रो मुलुक जलवायु परिवर्तनको मारमा परिरहेको बताएका छन् । उनले भने, ‘हरित ग्यास उत्सर्जनमा नेपाल संलग्न छैन तर सबैभन्दा ठूलो मार खेपिरहेको छ ।’ उनले जलवायु परिवर्तनका कारण दक्षिण एसियाली क्षेत्रमा हिमताल विस्फोट हुने र अधिक हिउँ पग्लने सम्भावना रहेको पनि बताए ।

जलवायु परिवर्तन न्यूनीकरण गर्न समग्र जलवायु कोषको ८० प्रतिशत रकम स्थानीय तहमा जाने व्यवस्था सरकारले गरेको कार्यक्रममा उनले जानकारी दिए । जलवायु न्यूनीकरणका लागि स्थानीय तहले उक्त रकम खर्च गर्न सक्ने पनि उनले जानकारी दिए ।

कार्यक्रममा जलवायु परिवर्तन, यसले निम्त्याएका असर तथा भ्रमण वर्षलाई सफल बनाउनेबारे छलफल चलाइएको थियो । साथै कार्यक्रममा जलवायु परिवर्तन र यसका असरबारे वादविवाद प्रतियोगितासमेत गरिएको थियो ।

प्रकाशित मिति : 5 जनवरी 2020, आइतवार
प्रतिक्रिया दिनुहोस